डल्फिन क्षेत्रमा दृश्यावलोकन स्तम्भ

तस्बिरः एजेन्सी

कैलालीको टीकापुर नगरपालिकास्थित बैदीमा डल्फिन क्षेत्रमा दृश्यावलोकन स्तम्भ निर्माण गरिने भएको छ। स्तम्भको सुदूरपश्चिम प्रदेशसभा सदस्य डा रणबहादुर रावलले शिलान्यास गरे।

रावलकै पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत १४ लाखको लागतमा स्तम्भ निर्माण गरिन लागेको हो। उनले डल्फिनलाई पर्यटनसँग जोड्नुपर्ने बताए। ‘नदी नाला सफा राखेर डल्फिनको बासस्थानलाई सुरक्षित पार्न स्थानीयको भूमिका महत्वपूर्ण रहन्छ,’ उनले भने।

टीकापुर–७ का वडा सदस्य यामलाल रेग्मीले पछिल्लो समय डल्फिन अवलोकन गर्न आउनेको सङ्ख्या बढ्दै गएको बताए। उनले डल्फिन अवलोकनका लागि स्वदेशी मात्र नभई विदेशी नागरिकसमेत आउन थालेका बताए।

उक्त स्तम्भ निर्माणका लागि स्थानीय टोपबहादुर केसीले निःशुल्क एक कठ्ठा जमीन दिएका छन्। उनकै अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर स्तम्भ निर्माणको काम भइरहेको छ।

स्तम्भ निर्माणको काम आगामी साउन २० गतेसम्ममा सम्पन्न गरिने बताइएको छ । यसै वर्षायाममा उक्त स्तम्भमा चढेर मोहना र पथरैया नदीमा डल्फिन अवलोकन गर्न सकिने छ । रासस

प्रकाशित मिति: : 2019-06-11 19:19:22

प्रतिकृया दिनुहोस्