सोलुखुम्बुमा पनि पाँचपोखरी!

तस्बिरः बिएल

पाँचपोखरी–मेरा पदमार्ग शुभारम्भ

काठमाडौं–पाँचपोखरी भन्नेवित्तिकै जनैपूर्णिमामा मेला लाग्ने सिन्धुपाल्चोकको पाँचपोखरी सम्झन्छन् सबैले। तर, सोलुखुम्बुमा पनि पाँचपोखरी छ। त्यहाँको महाकुलुङ गाउँपालिकामा पर्ने पाँचपोखरीमा नयाँ पदमार्ग एक्सप्लोर गरिएको छ–‘पाँचपोखरी–मेरा ट्रेक’।

महाकुलुङ पर्यटन सूचना केन्द्रले एक्सप्लोर गरेको पदमार्गमा पदयात्रा गर्न १० दिन लाग्छ। काठमाडौंबाट यात्रा गर्नेले १२ दिन छुट्टयाए पुग्ने केन्द्रका अध्यक्ष विक्की कुलुङले बताए।  सरकारले नेपाल भ्रमण वर्ष २०२० का लागि प्रवद्र्धन गर्न छनोट गरेको सय गन्तव्यमा पाँचपोखरी पनि परेको छ। 

बुङ गाउँबाट सुरु हुने पदयात्रा चलेम, हुर्हुरे, पाँचपोखरी, खोलाखर्क, तैमे, छेस्काम, गुदेल, साल्पापोखरी, सिलुछो, साउनेखर्क, गुदेल हुँदै बुङ पुगेर सर्किट बन्छ।

किराती संस्कृति, हिमाली सुन्दरता र जैविक विविधताको त्रिबेणी मानिने नयाँ पदमार्गको बिहीबार काठमाडौंमा शुभारम्भ गरियो। केन्द्रको कार्यक्रममा प्रदेश नं १ का सभासद् उत्तम बस्नेत, पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, टानका केन्द्रीय सदस्य सुक लामा, पर्यटनविद् लक्की कार्की र केन्द्रका संयोजक विक्की कुलुङले पदमार्गको पर्यटकीय नक्शा र पुस्तिका विमोचन गरेका हुन्। विमोचन अघि कार्यक्रममा केन्द्रले बनाएको पदमार्गको वृत्तचित्र देखाइएको थियो।   

कार्यक्रममा शुभारम्भकर्ताहरूले स्थानीय गाउँलेको सक्रियतामा पहिचान गरिएको पदमार्गको प्रचारमा सबैले जोड दिनु पर्ने बताए। प्रदेश सरकारले यसको विकासमा पहल गर्ने सभासद् बस्नेतले प्रतिबद्धता जनाए। 

गाउँलेको सक्रियता देखेर पर्यटन बोर्डका सिइओ जोशी पनि खुशी बने। ‘गाउँले आफैंले पदमार्ग पहिचान गरेर अघि बढ्नु सुखद् खबर हो’, उनले भने, ‘हामी यसको मार्केटिङ गर्नेछौं।’ 

यो पनि हेर्नुहोस्

 

हेर्नुहोस् पदमार्गका केही तस्बिरहरू

प्रकाशित मिति: : 2019-06-20 19:35:03

प्रतिकृया दिनुहोस्