‘खम्पा विद्रोह’ मा लिपुलेक नजिक लडाईं लडेका एक प्रहरीको संस्मरण (भिडियो)

हाल निकै विवादमा आएको नेपालको विकट पश्चिमी जिल्ला दार्चुलाको लिपुलेकस्थित तिंकर भन्ने गाउँमा २०३१ सालमा एउटा ठूलो काण्ड भएको थियो ।

जसलाई अहिले पनि ‘खाम्पा विद्रोह’ को रूपमा धेरैले परिभाषित गर्ने गर्छन्। चीनको स्वशाषित राज्य तिब्बतबाट भागेर आएका तिब्बतीहरूले सुरु गरेको विद्रोह नै ‘खम्पा विद्रोह’ हो । यसले राजधानी काठमाडौंको शासन व्यवस्था समेत हल्लाएको थियो ।

अमेरिकाको जासुसी संस्था सिआईएले चीनबाट तिब्बतलाई टुक्राउने उद्देश्यका साथ अभियानको सुरुवात गरेको थियो ।

जसमा तिब्बती धर्मगुरू दलाई लामाका अनुयायीलाई अमेरिकामा ट्रेनिङ गराएर भारतको सहयोगमा नेपाललाई सेल्टर बनाएर तिब्बतमा छापामार युद्व गर्ने अभियान सुरु भएको थियो।

यसको जानकारी पाएपछि चीन सरकारले नेपालका तत्कालिन राजा महेन्द्रलाई सहयोगको याचना गरेका थिए । राजा महेन्द्रकै आदेशमा तत्कालिन प्रधानमन्त्री कीर्तिनिधि बिष्टले नेपाली सेनालाई ‘खम्पा विद्रोह’ दबाउन तिंकर पठाएका थिए।

यही ठाउँमा नेपाली सेनाले खम्पा काण्डका चर्चित पात्र जर्नेल वाङ्दीलाई मारेका थिए र ‘खम्पा विद्रोह’ दबाएका थिए।

घटना पुरानो भए पनि यो क्षेत्र २०१८ सालदेखि नै विवादमा छ। भारत–चीन युद्वताका राजा महेन्द्रले गस्तीका लागि अस्थायी रूपमा भारतीय सेनालाई बस्न दिएको कालापानी क्षेत्रलाई अहिले भारतले आफ्नो भनेर नक्सामा समेत समावेश गरिसकेको छ ।

वास्तवमा खम्पाहरू तिव्बतबाट भागेर आएको शरणार्थी हुन्, जसलाई दलाई लामाको फौज मानिन्थ्यो । तिव्बतबाट भागेर आएका यीनै शरणार्थीहरू २०२४ सालमा जोमसोममा क्याम्प बनाएर बस्न थाले।

उनीहरूसँग हतियार पनि थियो । परिचय नखुलेका कारण नेपाल सरकारले उनीहरूलाई हतियार बुझाउन ताकेता गरेको थियो। केहीले हतियार बुझाए। केही भने फरार भए। तिनै भागेर गएका खम्पा कर्णाली अञ्चलको उत्तरी चीनसँगको सीमा रहेको स्थान मुचु पुगे।

उनीहरूले हतियारको दममा पहिले नेपाल प्रहरी बसेको पोस्टमा हमला गरे। र, प्रहरी चौकी कब्जा गर्न सफल भए। यसपछि बुद्धको गुम्बा तोडफोड गरे। उनीहरूले सोही स्थानमा रहेकी एक महिलालाई समेत जर्बरजस्ती उठाए। ३५ जना खम्पाको समूह, एक महिला तथा ३७ वटा घोडा र खच्चडमा रहेको हतियारसहित तिंकरतर्फ लाग्दै गर्दा लिपुलेकभन्दा एक सय मिटर वर भिडन्त भएको थियो।

नेपाली सेना र नेपाल प्रहरीको संयुक्त अपरेशनमा सहभागी भएका नेपाल प्रहरीका अवकाश प्राप्त सई खडकबहादुर बिष्ट भर्खरै बिएल नेपाली सेवाको सम्पर्कमा आएका छन् । उनीसँग त्यति बेला भएको घटनाको रोचक जानकारी हामी सम्पूर्ण पाठकमाझ पस्किन गइरहेका छौं ।

उनीसँगको अन्तर्वार्ता दुई भागमा प्रस्तुत गर्दैछौं । यो अन्तर्वार्ताको पहिलो भाग हो । जसमा उनले ‘खम्पा विद्रोह’ को नालिबेली सुनाउँदैछन्।

हेर्नुहोस् भिडियोमा

प्रकाशित मिति: : 2020-05-13 07:14:00

प्रतिकृया दिनुहोस्