पोर्चुगलका नेपालीहरुले लिजवनस्थित भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गर्ने

बिएल

लिपुलेक,कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएन) पोर्चुगल लगायतका साथै विभिन्न संघसस्थाले विरोध प्रदर्शन गर्ने भएका छन्।

पोर्चुगलको लिजवनस्थित भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गर्न लागिएको हो ।

आउँदो ३ डिसेम्बर मंगलवारको दिन १४ः३० देखि १५ः३० सम्म धर्ना र विरोध कार्यक्रम राखेको एनआरएन पोर्चुगलका अध्यक्ष तिलक गैरेद्वारा हस्ताक्षरीत विज्ञप्तीमा जनाइएको छ।

साथै सोहि दिन पोर्चुगलमा रहने सम्पूर्ण देश प्रेमीहरुलाई उक्त कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको छ।

 भारतले झण्डै ३ सय ७२ वर्ग किलोमिटरभन्दा धेरै नेपाली भूभागलाई आफ्नो भन्दै नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ।

भारतले सार्वजनिक गरेको नक्साअनुसार कालापानी क्षेत्रको मात्रै ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ। यस्तै लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झण्डै ३१० वर्ग किलोमिटर क्षेत्र नक्साभित्र समेटेको छ।

जम्मू–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भारतको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको छ।

प्रकाशित मिति: : 2019-12-01 22:57:39

प्रतिकृया दिनुहोस्