आइतबार, १३ जुलाई २०२५

बेपत्ता हुनेको कथा: हामीलाई घर पुगेपछि मात्र थाहा भयो हराएको कुरा

News Image
• • •

जुम्लाको तिला–९ ढिपुगाउँका १२ जना सम्पर्क बिहिन भएको खबर भुसको आगोसरी फैलियो। वडा अध्यक्ष शेरबहादुर बोहोरा प्रशासन पुगे। खोजबिनका लागि आग्रह गरे। प्रशासन मार्फत कुरो गृह मन्त्रालयसम्म पुग्यो। हेलिकप्टर तयार भयो। सबैको ध्यान खिचियो। तर, हेलिकप्टर उड्नुभन्दा अगाडि उनीहरु सकुशल घर फर्किसकेको खबर आयो। कुरा सकियो।

प्राय हरेक वर्ष एउटा न एउटा ठूलो दुर्घटना व्यहोरिरहेको जुम्ला यो वर्ष अर्को घटनाको सिकार हुने पो हो कि भन्ने त्रास टर्‍यो। खास पाटनमा भएको के हो? केही थाहा हुन सकेन। मंगलबार सम्पर्कबिहिन मध्येका छविलाल बोहोरा जुम्ला बजारमा भेटिए। पाटनमा विताएको समय र थाहै नपाई उनीहरूको विषयमा मच्चिएको सनसनीबारे बोहोरासँग बिएल नेपाली सेवाका लागि महेश नेपालीले गरेको कुराकानीको सम्पादित अंश।

हामी सेतो चीनी (ह्याडया) र पदमचाल प्याकिङ गर्न गएका थियौं पहिला कोरेको जडिबुटी जति सबै पाटनमै छ। त्यसलाई बोरामा प्याक गरेर घरसम्म ल्याउने व्यवस्था मिलाउन गएका हौं। शेरा फुलबारी पाटनमा हाम्रो थुप्रै जडिबुटी छ। हाम्रो टिममा ३ जना साथिहरु थियौं। बाँकी साथिहरु अर्को टिममा थिए।
हामी पाटनतिर लाग्दा आकाश खुला थियो। हिउँ आउला भन्ने सोचेका थिएनौं। तर, हामीले सोचेजस्तो भएन। हिउँ आयो। हिउँ त धेरै आयो। पाटनमा गहिरो ठाउँमा पाँच फिटसम्म हिउँ छ। बाटोमा कम्मरसम्म हिउँ थियो।

हामीलाई पाटनमा त्यस्तो केही समस्या थिएन। हामी बसेको ओडारमा होइन। आँटीमा हो। पानी, दाउरा नजिकै थियो। रासन पहिलेदेखि नै सुरक्षित थियो। अरु केही दिन पनि हामीलाई गाह्रो हुने थिएन।

हामी हराएका छौं, बेपत्ता भयौं भन्ने लाग्दै लागेन। हाम्रा दुई आँटीको दुरी १ किलोमिटर जति मात्र थियो। आपसमा सम्पर्क भइरहेको थियो। तर, बाहिर कसैसँग सम्पर्क हुदैनथ्यो। त्यता मोवाइलको टावर पनि थिएन। घरमा सम्पर्क हुन सकेन।हामी पाटनमा हुँदा हिउँ धेरै परेपछि घर परिवार आत्तिएछन्। उनीहरुले वडा अध्यक्षलाई भनेछन्। सबैले हामीलाई बेपत्ता भए सोचेछन्। जुम्ला बजारमा यो ठूलो चिन्ताको विषय बनेछ। एक हिसाबले देशभरि चिन्ताको विषय बनेछ।

हामी बेपत्ता भयौं भन्ने भए पछि सबै चिन्तित भएछन्। हामीलाई खोज्ने तयारी भएछ। हेलिकप्टरबाट खोज्ने तयारी पुरा भइसकेको रहेछ। हामीलाई केही थाहा भएन। कुनै चिन्ता पनि थिएन। तर, हेलिकप्टर आएको भए पनि हामीलाई खोज्न नसक्ने।हामी आरामले बसेका थियौं। हामीले ठूलो रुखको मुनिपट्टी भएको गोइलोमा आँटी बनाएका थियौं। यस्तो अवस्थामा कसरी खोज्न सक्थ्यो होलारु हेलिकप्टर आए पनि हामीलाई मतलब हुने थिएन।

हामी हिउँ धेरै परिरहेको बेला लेकमा हावाहुरी लागेर हामीलाई गाह्रो भैजान्छ कि भनेर मात्र त्यहाँ बसेका हौं। हिउँ रोकिएपछि आइतबार बिहान हामी हिड्यौं। दिउँसो दुई बजे लेकमा पुग्यौं। त्यहीँबाट घरमा सम्पर्क गर्न खोज्दा फोन लागेन। कैलालीमा रहेको एक जना आर्मीलाई फोन गरेर हालखबर ठिक छ मात्र भनेँ। त्यतिन्जेल पनि हामीलाई केही थाहा थिएन।

बिचमा एक जना मरेको साँचो हो। तर, ती मान्छे हाम्रो टिमका होइनन्। उनी खच्चड गोठाला हुन्। उनी जडिबुटी खच्चडबाट ढुवानी गर्थे। पछि उनका आफन्तसँगै हामी सबै घर झर्‍यौं।बेलुका ६ बजे घर पुग्दा मात्र थाहा पायौं यता हाम्रो लागि के भएको रहेछ भन्ने कुरा। रेडियोले समाचार भनेपछि हामी बेपत्ता भएको खबर फैलिएको रहेछ भन्ने लाग्यो।

कुनै सम्पर्क नभएको अवस्थामा हामीलाई बेपत्ता भए होलान् भनेर घरपरिवारले सोच्नु, वडा अध्यक्षले खोजीको लागि सबैतिर अनुरोध गर्नु अन्यथा भएन। तर, हाम्रो खबरले गाउँको त सातो गएछ हेर्नुस्।घरका जहानले त खानै खाएका रहेनछन्। ठूलो पिर परेको रहेछ। घर आएपछि एक खालको खुसियाली नै भयो। हामीले केही थाहा नपाएका हुनाले चिन्ता थिएन। तर, घरमा त भुँइचालो गएसरी भएछ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?