हाफपेन्टमै हिप्पीसँगै गोवा पुगेका नेपालीको कथा (भिडियोसहित)

शान्त, र आधुनिकताले नछोएको हिमाली देश नेपाल पुग्दा उनीहरू स्वर्ग पुगेजस्तो अनुभूति गर्थे। स्वर्णिम हिप्पी युगमा उनीहरूका लागि नेपाल उपयुक्त स्थल थियो। तिनीहरूको मुख्य बासस्थान थियो काठमाडौंको झोँछे। खल्तीमा एक पैसा नभए पनि हिप्पी पर्यटक महिनौं दिन वेपर्वाह आनन्दसँग नेपालमा बसेर घुम्थे। 

विश्व प्रसिद्ध टाइम म्यागजिनले सन् १९६७, जुलाई ७ को अंकमा ‘हिप्पी फिलोसोफि अफ सवकल्चर’ शीर्षकको कभर स्टोरी छाप्यो। लेखमा उल्लेख गरेअनुसार अमेरीकाको प्रमुख शहर सानफ्रान्सिस्कोबाट सुरु भएको सवकल्चर आन्दोलनमा वोस्टनदेखि सियाटल, डेट्रोईटदेखि न्यूओर्लिनसम्म ३ लाख जति युवा आन्दोलनमा जोडिए। उक्त अंकमा ६ पेज रंगीन तस्बिर सहितको कभरेज थियो।

के हो हिप्पी मुभमेन्ट?

हिप्पी आन्दोलनमा अधिकांश १७ वर्षदेखि २५ उमेरका युवा थिए। केही ५० वर्षका पनि थिए। मध्यमवर्गिय प्रायः श्वेत वर्णका शिक्षित युवा जमातको विद्रोह थियो त्यो। उनीहरू युद्वमा होइन, प्रेममा विश्वास गर्थे। सन् १९६० को काउन्टरकल्चरले अमेरीकाभर शान्ति, ड्रग्स र स्वतन्त्र प्रेम फैलायो। हिप्पी मुभमेन्टले अमेरीकी इतिहास नै परिवर्तन गरेको केही विद्वानहरुले उल्लेख गरेका छन्।

सन् १९६० तिर भियतनाम युद्वको मौन विरोधका रूपमा पनि यस आन्दोलनलाई लिइन्छ। ब्रिटानिका एन्साईक्लोपेडियाका अनुसार हिप्पी मुभमेन्ट अमेरिकाको भियतनाम युद्व (१९५५–१९६५) संलग्नतालाई लिएको सांकेतिक विरोधसँग जोडिएको छ। यद्यपी हिप्पीहरू प्रत्यक्ष रूपमा राजनीतिमा आवद्ध थिएनन्। पुरूषहरू लामा लामा कपाल र दाह्रीजुँघा पाल्थे। महिला–पुरूष दुवै चप्पलमा हिँड्थे। माला भिर्थे र रंगिबिरंगी पोशाक लगाउँथे। उनीहरू सामुहिक रूपमा हिँडडुल गर्थे। बस्थे र शाहाकारी भोजन खान्थे। आफूलाई फूलका सन्तान (फ्लावर चिल्ड्रेन) ठान्ने उनीहरू लडाइँ होइन, प्रेम गर भन्ने सन्देश दिन चाहन्थे। उनीहरू पूर्वीय दर्शन (हिन्दू र वौद्ध धर्म) तिर आकर्षित थिए। ज्योतिषशास्त्रमा विश्वाश राख्ने उनीहरू नशामा डुब्ने, लोक र रक संगीतमा झुम्न मन पराउँथे। प्रेम र यौनमा उद्दार देखिन्थे।

सार्वजनिक रूपमा भेला भएर गीत संगीतको पर्वमा रमाइलो गर्थे। कहिलेकाहिँ लडाइँको विरोध गर्ने हिप्पी आन्दोलनका प्रमुख गतिविधि हुन्थे। सन् १९७० को मध्यतिर विस्तारै हिप्पी युग मत्थर हुँदै गयो। र १९८० तिर नयाँ पुस्ताको आगमन (युप्पी युग) सुरू भयो। जुन पुस्ता रोजगार र व्यापार व्यवसायतिर उन्मुख हुँदै गयो। 

हिप्पी युगका साक्षी

अचेल धादिङको नलाङमा (श्रीबन नेचर क्याम्प) चलाएर बसेका ५८ वर्षे पर्यटनविद् मेघराज नहर्की हिप्पी युगका साक्षी हुन्। उनले १५ वर्षको उमेरदेखि नै काठमाडौंमा हिप्पीसँग संगत गरेका थिए। उनीहरूको सामिप्यमा रहेर पर्यटनमा समर्पित नहर्कीसँग हिप्पीसँगका अनेकन सम्झनाहरू छन्।

मेघराज मामाको अनुभव बाँड्नुअघि फेरि पनि हिप्पीकै कुरा गरौं। सन् १९३९–४५ सम्म दोस्रो विश्व युद्व र १९६० को भियतनाम युद्वले आजित भएका अमेरीकि र पश्चिमेली युवा शान्ति र एकान्त खोज्दै भारतको गोवा हुँदै काठमाडौं आइपुगेका थिए। उनीहरू आध्यात्मिक जीवन मन पराउँथे।

शान्त, र आधुनिकताले नछोएको हिमाली देश नेपाल आइपुग्दा स्वर्गमा टेकेको अनुभूति गर्थे। यी विन्दास हिप्पीको समूह ओभरल्यान्ड यात्रामा महिनौं दिन लगाएर युरोपदेखि मेसिडोनिया, टुर्कि, इरान, अफगानिस्तान, पाकिस्तान , भारतहुँदै नेपाल आउँथे।  

त्यस बेला नेपालमा पनि हिप्पिको स्वर्णिम युग थियो। तिनीहरूको मुख्य बासस्थान र पर्यटक केन्द्र थियो वसन्तपुरको झोँछे। खल्तिमा पैसा नभए पनि महिनौसम्म पर्यटक वेपर्वाह नेपालमा बस्थे, घुम्थे। कतिपय त रातभर मन्दिर र पाटीमा सुत्थे।

झोछें भन्दा पछि ठमेलमा पर्यटकीय गतिवधि सुरु भएको हो। ठमेलमा काठमाडु गेष्ट हाउस, स्टार होटल, टुकुचे पिक गेष्ट हाउस र उत्से रेस्टुरेन्ट खुलेका थिए। त्यतिखेर ठमेल क्षेत्रमै स्याल कराउँथे।

मेघराज मामाका अनुसार तिनताका झोछेंका होटलमा एक रात बसेको १२ रूपैयाँ र पेटभरि मासु भात खाएको ३ रुपैयाँ पर्थ्यो। अहिले सम्झँदा उनलाई कथा जस्तो लाग्छ।

त्यस्तै २०३५ सालतिर मध्य हिप्पी-इरामा किशोरवयमै मामाजी काठमाडौं पसेका थिए। कुइरेको ताल देखेर दंग परे उनी। ‘गितार, बाजा गाजा बजाउने, बोम बोम भोले भन्ने, मस्त गाजा तान्ने, निश्फिक्रि खाली खुट्टा हिँड्ने गर्थे’, मामाजीले विगत सुनाए, ‘उनीहरूको हाउभाउ र जीवनशैली देख्दा सुरूका दिनमा खुब रमाइलो लाग्थ्यो।’

भोकले लखतरान भएका हिप्पी नजिकैका पसलमा एप्पल पाइ खान्थे। नजिकका मन्दिर छेउछाउमा दिनभर घाम ताप्दै, जुम्रा मार्दै दिन बिताउँथे।

झोछेंको एउटा होटलमा सहयोगीका रुपमा केही वर्ष काम गरेपछि नहर्की मामाले आफैं लज र रेष्टुराँ सञ्चालन गरे। एक पटक एउटा हिप्पीले महिनौं दिनसम्म पनि उनको होटलमा बसेर खानपिन गरेको पैसा तिरेनछ। एकदिन मामाजीले उनलाई फकाएर, कोठा छोड्न आग्रह गरे।

‘भै’गो पैसा तिर्नु पर्दैन। कोठा चाहिँ छोडिदेउ’, उनले आग्रह गरेछन्। तर, ती गोराले साथमा एउटा कम्बल लान पाए मात्र छोडेर जान्छु भनेछ। मामाजीले कम्बलसहित उनको विदाई गरिदिए। भोलिपल्ट नजिकको मन्दिर छेउमा त्यो सुतिरहेको उनले देखे। यस्ता अनेक सत्य रोचक किस्सा छन्, मेघराज मामासँग।

अनधिकृत रूपमा बसेका हिप्पिहरूलाई देश बाहिर पठाउन प्रहरी प्रशासनलाई पनि हम्मे हम्मे पर्थ्यो। ‘उनीहरू बसन्तपरबाट थानकोट हुँदै सुनौली तीन दिन लगाएर कटाउँथे। तर, ती प्रहरी फर्केर काठमाडौं आउँदा ती हिप्पीहरू झोछें आइपुगिसकेका हुन्थे’, मामाजीले भने।

हिप्पीहरू ‘यो राजाको देश, हामी उहाँलाई मान्छौं, किन हामीलाई दुर्व्यवहार गरेको’ भन्दै उल्टै प्रहरीलाई प्रश्न गर्थे।  

तिनताका अमेरिकी, इटालियन, फ्रान्सेली, जर्मन, वेलायती र स्वीस जस्ता पश्चिमेली मुलुकका हिप्पी प्रसस्तै भेटिन्थे वसन्तपुरममा। यसरी हिप्पी टुरिष्टको क्रिडास्थलै थियो झोँछे।

मेघराज मामासँग हिप्पीसँगका अनगिन्ति सम्झना छन्। तिनलाई संगेल्ने हो भने एउटा किताबै बन्छ। उनीसँग पुराना कुरा सुन्दा रोमाञ्चक अनुभूति हुन्छ।

हिप्पीकै संगतमा उनी हाफ पेन्टको भरमा भारतको गोवा पुगेको कथा कम रोचक छैन। उनी  हिप्पीको लह लहैमा गोवा हानिए। गोवामा त झन झोंछे भन्दा दशौं गुणा अनेक तालका हिप्पी भेट्दा झन अच्चमित बने।

उनले त्यहाँ धेरै खाले हिप्पी भेटे। तीन जना युवा त यस्ता थिए जो खल्तिमा जम्मा ६ रुपियाँ भारतीय नोट बोकेर बेलायत जान तम्सेका थिए। ‘यति पैसाले कसरी पुग्छौ बेलायत’ भनेर मेघराज मामाले सोध्दा तिनले भनेछन्, ‘पोहोर हाम्रा दुई जना साथी जम्मा २ रुपैयाँ लिएर बेलायत हिँडेका थिए। उनीहरू बेलायत पुग्दा १ रुपैयाँ त बाँकी नै थियो।’

तिनका कुरा सुन्दा मेघराज मामा चकित परे।

हिप्पी युग सन् ८० तिर आइपुग्दा विस्तारै हरायो। जे होस त्यसबेला विश्वभर हिप्पी मुभमेन्टले तहल्का पिट्यो। हिप्पी जमानामा काठमान्डुका मन्दिर, सम्पदा, आध्यत्मिक कथा, हिमालको बयान गरेका अनेकन कथा र पुस्तक लेखिए।  नेपालको पर्यटन प्रवर्धन गरेका हिप्पी नेपालका अनौपचारिक पर्यटन सद्भावना दूतै हुन्।

हिप्पी युग नेपालको पर्यटन इतिहासको कोशेढुङ्गा हो। महिना दिनअघि हामीले नलाङको श्रीवन नेचर क्याम्पमा मेघराज मामालाई भेटेर हिप्पी युगका कथा सुन्यौं। त्यही कथाको भिडियो यहाँ प्रस्तुत गरिएको छ।

गुड मर्निङ नलाङ !

गुड मर्निङ नलाङ !

प्रकाशित मिति: : 2020-09-15 14:11:00

प्रतिक्रिया दिनुहोस