सम्झनामा राजा वीरेन्द्र

राजा वीरेन्द्र शाह वंशीय परम्पराको ११ औं राजा थिए। उनी शान्तिप्रेमी र शालिन राजाको रुपमा नेपाली जनतामाझ लोकप्रिय छन्।

सन् १९७५ मा नेपाललाई ‘शान्ति क्षेत्र’ घोषणा गरेका वीरेन्द्रको अभियानमा सयभन्दा बढी राष्ट्रले समर्थन जनाएका थिए। तर, छिमेकी मुलुक भारतले उनको अभियानलाई साथ दिएन। जसका कारण उनको अभियान बिचैमा तुहियो।

भारतको असहयोगपछि नेपाललाई समर्थन दिएको रूस (तत्कालिन सोभियत संघ) ले पनि आफ्नो समर्थन फिर्ता लिएको थियो। त्यतिबेला भारतको परराष्ट्र र डिफेन्स नीति सोभियत संघको हातमा थियो। 

वीरेन्द्रले आफ्नो २६ वर्ष लामो कार्यकालमा छिमेकी राष्ट्र चीन होस् वा भारत दुवै देशको सुरक्षामा तेस्रो मुलुकलाई हस्तक्षेप गर्न दिएनन्।

वीरेन्द्रको जन्म सन् १९४५ डिसेम्बर २९ मा नारायणहिटी राजदरबारमा भएको थियो। २००७ सालको क्रान्ति हुँदा हजुरबुबा श्री ५ त्रिभुवनसँगै भारत भागेर जाने दरबारीया टोलीमा उनी पनि थिए। त्यति बेला वीरेन्द्रको उमेर ५ वर्ष थियो।

उनी स्कुल गएर प्रारम्भिक शिक्षा लिने पहिलो नेपाली राजा हुन्। उनी सन् १९५१ मा दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा भर्ना भएका थिए।

उनी दार्जिलिङमै अध्ययनरत रहँदा हजुरबुवा तथा (तत्कालिन) राजा त्रिभुवनको निधन भयो। उनी १० वर्षको उमेरमा सन् १९५५ मा युवराज घोषित भए।

राजा वीरेन्द्र सन् १९५९ मा उच्च शिक्षाका लागि बेलायतको इटन कलेज भर्ना भएका थिए। इटनबाट स्नातक सकेर १९६४ मा नेपाल फर्किएपछि उनी देश दौडाहामा लागेका थिए।

उनले जापानको टोकियो विश्वविद्यालय र अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट पनि अध्ययन गरेका थिए।

उनको विवाह २७ फेब्रुअरी १९७० मा ऐश्वर्य राणासँग भएको थियो। वीरेन्द्रको विवाहलाई विदेशी मिडियाले विश्वको महंगो विवाह मानेका छन्। यतिबेला ९५ लाख अमेरिकी डलर खर्चेको अनुमान गरिएको छ।

३१ जनवरी १९७२ मा बुवा महेन्द्रको निधन हुनुअघि उनले पाइलट कोर्ष गर्न भ्याएका थिए। राजा महेन्द्रको निधन भएको ३ वर्षपछि उनी ४ फेब्रुअरी १९७५ मा नेपालको राजगद्दीमा विराजमान भए।

उनको राज्याभिषेकमा ६० देशका विशेष पाहुना नेपाल आएका थिए। जसमा बेलायतका राजकुमार चार्लसको पनि उपस्थिति थियो। राज्याभिषेकमा राजा वीरेन्द्रले बालबालिकाका लागि निःशुल्क शिक्षाको घोषणा गरेका थिए।

उनको कार्यकालमा दुई ठूला राजनीतिक घटना भए। सन् १९८० मा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरेका थिए। जसमा पहिलो पल्ट नेपाली जनतालाई बहुदलीय र निर्दलीय व्यवस्थाको छनोट गर्ने मौका दिइएको थियो। जनमत संग्रहमा निर्दलले ५५ र बहुदलले ४५ प्रतिशत मत प्राप्त गरे।

उनकै कार्यकालमा १९९० मा प्रजातन्त्रका लागि पुनः आन्दोलन भएको थियो। वीरेन्द्रले जनताको चाहनालाई स्वीकार गरि ठूलो रक्तपात बिना प्रजातन्त्र घोषणा गरे। यतिबेला पनि भारतले खराब मनसायले नाकाबन्दी लगाएको थियो।

नेपालको राजनीतिक इतिहासमा यो ठूलो घटना थियो। नेपाली शासक र आन्दोलनरत पक्षबीच नेपालकै भूमिमा व्यवस्था परिवर्तनलाई लिएर भएको यो पहिलो सम्झौता पनि हो।

आन्दोलनको बेला वीरेन्द्रलाई लिएर थुप्रै आपत्तिजनक टिप्पणीहरू पनि भएका थिए। तर, प्रजातन्त्र स्थापनापछिको १० वर्षभित्र बरु दलका नेताहरू अलोकप्रिय भए। तर,राजा वीरेन्द्र नेपाली जनतामाझ झन् लोकप्रिय बनेर उभिए।

माओवादीले थालेको जनयुद्वमा ‘होलेरी काण्ड’ भएपछि तत्कालीन राजनीतिक दलले हतियार उठाउन राजासँग स्वीकृति माग गरेका थिए। तर, वीरेन्द्रले आफ्नै देशका जनतालाई मार्न हतियार नदिने भन्दै राजनीतिक पार्टीको सिफारिस अस्वीकार गरेका थिए।

नेपालका राजनीतिक दलले निमार्ण गरेको १९९० को संविधानको कुनै व्यक्तिले अंक्षरस पालन गर्यो भने ती थिए, राजा वीरेन्द्र नै।

दक्षिण एसियाली सहयोग संगठन (सार्क) को योजनाकार पनि राजा वीरेन्द्र मानिन्छन्।

उनको हत्या १ जुन २००१ मा नारायणहिटी दरबारभित्र भएको थियो। ‘दरबार हत्याकाण्ड’ ले विकृत बनेको नेपालको राजनीतिले यसपछि ‘यूटर्न’ लिएको थियो।

नेपालमा २ सय ५० वर्षभन्दा लामो शाह वंशीय परम्परा निर्मूल हुनुमा ‘दरबार हत्याकाण्ड’ प्रमुख कारण मानिन्छ।

‘दरबार हत्याकाण्ड’ राजा वीरेन्द्रकै छोरा युवराज दीपेन्द्रले घटाएको नेपाल सरकारले गठन गरेको जाँचबुँझ आयोगबाट प्रष्ट भइसकेको छ। तर, यो मान्न अझै नेपाली जनता तयार छैनन्।

प्रकाशित मिति: : 2021-06-02 09:20:00

प्रतिकृया दिनुहोस्