हातकि मेहदी तेरी होली मेराइ रगतकि

हातकि मेहदी तेरी होली मेराइ रगतकि

शृंखला-३

ए दाइ 
क्या होला भाइ
पैसा छन्ज्या हर्क बहादुर 
बिन पैसाको हर्के 

अन्तराम विष्टको घोप्टे जुँगा पछाडि श्रोताले निकै मन पराएको गीतका पंक्ति हुन् यी। तर यो गीत हरबखत सुन्न पाउँदैनन् श्रोताहरु। सांगीतिक कार्यक्रममा बोलाएको ठाउँमा गाउछन् उनी। धेरै वर्ष भैसक्यो म्युजिक ट्याक बनेको। पछिल्लो समय त्यही ट्र्याक बोकेर पुग्छन् बोलाएको ठाउँमा। गीत रेकर्ड गर्न पाएका छैनन् उनले। उक्त गीतभित्र नजानिदो पाराले उनको आफ्नै जिन्दगीका केही पलहरु पनि समावेश भएका छन्। यो कुरा उनी स्वीकार्छन् या स्वीकार्दैनन् सोध्न बाकी नै छ। जे होस् मान्छेको सेन्टिमेन्ट बुझेर समयसापेक्ष यथार्थपरक गीत सिर्जना गर्ने गायक हुन विष्ट। जो जिन्दगीको मैदानमा लड्दै हिँड्दै गरिरहे। 

घरमा अंशबन्डा हुँदा के कति भाग पर्‍यो उनले मतलब नै गरेनन्। पहाडको जमिन खासै उब्जनी हुने खालको थिएन। दाइसँग ५३ हजार रुपैयाँ मागेछन्। दाइले पनि किन के को लागि भन्ने कुनै प्रश्न नै नगरी ऋण लिएर उनलाई दिएछन्। २०५१ सालमा त्यही रकमले बजारमा हरिना चडी नामक एल्बम ल्याउन सफल भए उनी। दोस्रो एल्बम बर्‍यात ल्याए बजारमा। जुन एल्बम औधी चल्यो। तीन महिनामै ३० हजार बिक्रि भएछ।

डुब्लिकेट क्यासेट बिक्रि गर्थे रे ब्यपारीहरु। त्यस्तो किन गर्नु भो भन्दा सजिलै जवाफ दिन्थे रे – के गरौं त माग बढ्यो तमी पुर्‍याउन सक्दैनौं। बि एस्सी दोश्रो वर्षको परीक्षा दिएर बैतडी  पुगेका उनी विजयपुर मा.बि.मा पढाउन थालेछन्। बि एस्सी दोश्रो वर्षको परीक्षाको नतिजा निस्कियो। राम्रै अङ्क ल्याएर उत्तीर्ण पनि भए तर स्वर परीक्षा दिन ड्रप गरेको प्रथम वर्षको एउटा पेपर बाकी नै रह्यो। दोश्रो वर्षमा छदा नि उनले त्यो पेपर छोडेछन्। बल्ल तेश्रो वर्ष दिएछन् परीक्षा र कटाएछन् बि एस्सी। त्यहाँसम्म बनिरहेकै थिए विज्ञान शिक्षक। विज्ञान भत्ता लगाएर मासिक ३३ सय तलब थियो। जहाँ उनलाई हेडमास्टर बन्नका लागि प्रस्ताव समेत आएरहेको थियो। तर महेन्द्रनगर आएको बेला उनले फोनबाटै भनिदिएछन् म आउन सक्दैन अर्को शिक्षक खोज्नु होला भनेर।

उनी ती दिन सम्झिदै भन्छन्,‘भारतको पलियामा सस्तोमा क्यासेट तयार हुन्थ्यो। त्यहाँबाट क्यासेट बनाएर बजारमा आफै वितरण गर्न थालिसकेको थिएँ। यता ३ दिनमा नौ हजार कमाइ भैरहेको थियो। उता महिनामा ३३ सय तलब थियो। क्यासेट निकाल्न १०/१५ दिनलाई आर्थिक सहयोग समेत गरेको थियो विद्यालयले। त्यति सहयोग पाएको स्कुलमा राजिनामा दिन जान समेत सकिनँ। आफ्नै धुनमा व्यस्त रहेँ। एक महिना पछि कन्चनपुर आएको बेला भेटमा प्र.अ.ले राजिनामा माग्न थाल्दा  निकै नै भावुक बनेँ। आँखाभरी आँसु छल्किए। केही बोल्न सकिनँ।’ 

हेडसर भएको हेर्न चाहेका दाइ खिन्न भए भाइले जागिर छोडी गीत गाउन थाल्यो भन्ने सुन्दा। उनका गीत बज्दा दाइले भन्न थाले भाइ भाँड बन्यो भनेर। त्यतिखेर ती दाइ बैतडीमा आफ्नै घरमा होटेल चलाएर बसेका थिए। कसैले अन्तरामको बारेमा सोध्दा भनिदिन्थे रे, ‘उसको बारेमा मलाई नसोध।’ पछि तिनै दाइले टेप किनेछन्, भाइका सबै एल्बम किनेछन् र सुन्न थालेछन्। त्यो खवरले पनि रुवाएछ अन्तरामलाई। हाल सबैको अवस्था राम्रो छ बरु तिनै दाइको अवस्था अरुको भन्दा कमजोर छ। मैले पनि केही गर्न सकेको छैन्। बुवाको अनुहार याद छैन। मलाई यत्तिको बनाउने तिनै दाइ हुन् – गहभरी आँसु टल्काएर सुनाएका हुन् विष्टले। 

हातकि मेहदी तेरी होली मेराइ रगतकि, पराइघर सम्झेइ सुवा हास्ने खेल्ने बखतकि ....यस्तै यस्तै बियोगान्त शब्दहरु समेटिएका थिए बर्‍यात एल्बमभित्र। तर पनि एल्बम सोचेभन्दा बढी चल्यो। श्रोताहरुले निकै नै रुचाइ दिए। ३ लाख रुपैया कमाइ पनि भयो उक्त एल्बमबाट। त्यही एल्बम निकाल्दा नारायण विष्ट र उनीले बरेलीबाट डबिङ मेसिन ल्याएर आफै क्यासेट तयार गर्न थालेका हुन्। ३ रुपैया रोयल्टी चलेको बजारमा उनले घोषण गरे,  '१२ रुपैया रोयल्टी दिने।’

एउटा एल्बमबाट १२ रुपैया रोयल्टी पाउने भएपछि सु.प.का अधिकांश गायक गायिकाहरु मास्टर कपि लगेर उनी कहाँ पुग्न थाले। २०५७ सालमा सेतीमा बस दुर्घटना हुँदा बचेका एक जना लाहुरे भेटिए। भारतबाट हिँड्दादेखिको सबै कथा पाए। रातारात शब्द सिर्जना गर्न सक्ने क्षमता थियो उनीसँग। एकरात जागारम बसेर तयार पारे एल्बमका लागि यथार्थपरक गीतहरु। एल्बम बजारमा ल्याए त्यसबाट पनि राम्रै कमाइ गरेछन्। 

२०५८ मा संकटकाल लागेपछि सल्यानको ६ जना कलाकारको टीम उनकोमा पुगेर लोकदोहरी एल्बम निकाले। त्यतिबेलासम्म अत्तरियामा पनि खुलिसकेको थियो रेकर्डिङ स्टुडियो। प्रशासनले काठमाडौं नगई तपाइकोमा गीत रेकर्ड गराउन किन आए भन्दै निकै दिन केरकार समेत गरेछ। उक्त लोक दोहरी एल्बम बुटवलसम्म बेचे उनले।  

सुदूरपश्चिममा रेकर्डिङ स्टुडियो संचालन गर्ने पहिलो व्यक्ति हुन विष्ट। झरना रेकर्डिङका रत्न बानियासँग पुरानो मेसिन किनेर २०५५ सालमा अल्का डिजिटल रेकर्डिङ स्टुडियो खोले। रेकर्डिङ स्टुडियो संचालनका दौरानमा काठमाडौंदेखि कृष्णभक्त राई, कुन्दन राई जस्ता दक्ष संगीतकार तथा टेक्निसिएन झिकाएर सुदूरपश्चिमा टेक्निसियन उत्पादन गर्ने काम समेत गरे उनले।

उनी सुनाउछन्, ‘कुन्दन राई धेरै माथिल्लोस्तरको ज्ञान भएका टेक्नेसियन थिए भने कृष्णभक्त राई टेक्नेसियन तथा कर्णप्रिय स्वरका धनी थिए। तिनै कुन्दन राई र कृष्णभक्त राईसँग भुवन प्रकास बडुलाई सिक्न लगाएँ। भुवनका बुवा उस्ताज भएका कारण केही बाजा भुवन पनि बजाउँथे तर कमर्सियल हिसाबले सिकेका थिएनन्।’

५ वर्षसम्म सु.प.मा कतै काम गर्न नपाउने र सिक्ने बेला समेत ३५ सय रुपैया तलब दिने सम्झौता गरेर भुवनलाई राखेँ। तर सिकिसकेपछि भुवन हिँडेछन् नेपालगन्जको स्टुडियोमा काम गर्न। कृष्णभक्तको तलब बढाएर ९ बाट ११ हजार पुर्‍याएपछि उनी एक वर्ष अरु वस्न तयार भएछन्। आफ्नो एउटा एल्बम निकालि दिनु पर्ने मागसहित।

त्यो एक वर्षको दौरानमा कृष्णभक्त राईले तयार पारेछन् कृष्ण पुनलाई। कृष्ण पुनलाई बोलाएकी थिइन राधिका हमालले। कृष्ण पुनले ३ वर्ष काम गरे। त्यही दौरानमा किशोर भण्डारी तयार भैसकेका थिए। तिनै किशोर भण्डारीले २०६१ सम्म काम गरे र पछि स्टुडियो नै आफैले चलाएछन्। 

स्टुडियो संचालनका दौरानमा अविष्मरणीय घटनाहरु घटेछन्। जिन्दगीको सबैभन्दा ठुलो कमाइ त्यही याद, त्यही संयोगलाई ठान्छन् उनी। एकोहोरो माया गर्नेहरु त जिन्दगीमा कति आए उनले गणना नै गरेनन्। बिहे अघि दोहोरो माया बसेछ एउटीसँग। तर उनले बाहिर कहिल्यै व्यक्त गरेनन्। मनमै सजाए प्रेमको मन्दिर। एकोहोरो प्रेमिकाका भावना मात्र सुनिरहे। उनीभित्र सामाजिक मान्यताले गर्दा डर उत्पन्न गरायो। आफूभन्दा उच्च जातकी भनिएकी केटीलाई घरमा भित्र्याउने आँट गर्न सकेनछन्। विष्ट सोझा डराउ र इमान्दार थिए। केटी पक्षबाट आएर स्टुडियो तोडफोड गरिदिए, कुटपिट गरिदिए के गरौंला यस्तै खाले प्रश्नहरुले डेरा जमाउन थाले उनको मस्तिष्कमा। अन्तत्वगत्वा एकदिन भनिदिएछन्, ’हामी असल साथी बन्न सक्छौ त्यो भन्दा बढी सपना नदेख्नु।‘ भोलिपल्टदेखि केटीलाई सम्झाउन कम्ता गाह्रो भएनछ। थुप्रै तनाबहरु समेत झेल्नु परेछ। 

वर्षौपछि एक दिन कुनै संगीतिक कन्सर्ट चलिरहेको मञ्चछेउमा रुखमुनि शितलमा उभिन खोज्दा बच्चा बोकेर आइपुगिछन् उनी। बच्चासँग नमस्कार गर्न भनिछन्। विष्टलाई आँखामा लगाएको कालो चस्मा निकाल्न अनुरोध गरिछन्। उनले एकछिन मजाग पनि गरेछन् मेरा आँखा फुटेका छन् खोल्दैन भनेर।

विष्टले कालो चस्मा निकाले पछि राम्ररी हेरिछन् अनुहार।  एकछिन भलासुकाली भएछ। लोकप्रिय गायक बनेकोमा बधाई दिइछन्। दुबैले एकअर्काको हालसमाचार सोधे छन्। अनि सौहाद्रपूर्ण वातावरणमा असल साथीको भूमिकामा छुट्टिएछन्। 

विष्टले घरमा आएर श्रीमतीलाई समेत सुनाएछन् उक्त घटना। विष्टले सुनाइसकेका छन् यसअघिका सबै कथाहरु र त श्रीमती बिमलाले उनका तस्बिर समेत जतनले सजाएर राखेकी छन् एल्बमभित्र। तर ती महिलाले बोकिरहेकि होलिन विगतका पलहरु केवल मस्तिष्कको एल्बमभित्र।

जेहोस उदाहरणीय थियो त्यो प्रेम। दुई जनाको बीचमा प्रेम थियो। कुनै कालखण्डमा उनले व्यक्त गरिन्। तर, विष्टले अव्यक्त नै राखे त्यो भावना। अन्तमा एकअर्काप्रति दुबैको सम्मान बढ्यो। 

एक दिन नारायण विष्टको पसल नजिकै थापाको पसलमा निन्याउरो मुहारमा एउटा केटो देखा परेछ। जसको नाम थियो लोकेश कठायत। उसको साथमा थियो पछ्यौरीले बेरिएको ससानो गुण्टो (पोको)। त्यहाँ बसेका मध्ये एउटाले अन्तरामलाई भनेछन्, ‘सर यसलाई जागिर लगाइ दिनून, धर्म हुन्छ।’

उनले केटालाई भनेछन्,‘यो उमेरमा पढ्न छोडेर किन भागेर आइस हँ।’

‘सर यसको कथा सुनेपछि तपाई रुनु हुने हो’, ती पसलेले भनेछन्।

बाउले दुःख दिएपछि आमा पोइल गएकी रहिछन्। बाउले कान्छी ल्याएछन्। इष्टमित्र कहाँ पढ्नलाई छोडेछन् दुइभाइ छोरालाई। त्यहाँ पनि दुःख पाएपछि डुल्न थालेछ जेठो चाहि। त्यो घटनाले भावुक तुल्यायो विष्टलाई। ‘स्टुडियो पठाइदिनू होला’ भन्दै परेलीका डिलसम्म पुगेका आँसु लुकाएर विष्ट हिँडेछन् त्यहाँबाट।

साँझतिर त्यो केटो स्टुडियोको दैलोमा आइपुगेछ उही अवस्थामा। साँझ खाना खाएर भाडाँकुडा सफा गरी डबिङ मेसिन राखेको कोठामा सुत्न गएको लोकेशलाई बिहान ४ बजे शौचालय जादा देखेछन् विष्टले कक्षा ४ को किताब पढिरहेको। मन भरिएर आएछ। त्यसपछि निद्रा पर्ने कुरै भएन। बालकलाई आफ्नो कोठामा बोलाएर भनेछन् –तिमी पढ्ने हो ? उत्तर आएछ,‘हैन म पढ्दिनँ।’

अघि किताब पढिराथ्यौ त –उनले स्नेहील पाराले सोधेछन्। ‘त्यत्तिकै पढेको हो। म अहिले नोकरी गर्ने हो। धेरै कमाउने हो। भाइलाई पढाउने हो। त्यसपछि बझा∙ गएर पढ्ने हो’, बालकले टाउको निहुराउँदै भावुक मुद्रामा भनेछ।

‘म पढाइ दिन्छु तिमी र तिम्रो भाइ दुबैलाई पढ्छौं?’, पुन सोधेछन् अन्तरामले।

बल्ल मञ्जुर भएछन् लोकेश। भोलिपल्ट नजिकैको महेन्द्र मा.बि.मा कक्षा ४मा भर्ना गरिदिएछन्। बडैपुरको थापाको घरमा रहेको लोकेशको भाइलाइ पनि लोकेशले भने अनुसार सामान किनेर पठाइ दिएछन्।

३ वर्ष पछि छोरो माग्न आइपुगे छन् लोकेशका बुवा । विष्टले सुरुमै भनिदिएछन् ‘पहिले कान्छो छोरोलाई पढाउनोस् अनि कुरा गरौंला। लोकेशका बुवाले कान्छो छोरालाई होस्टेलमा राखेछन्। दुई वर्षपछि ९ कक्षामा पढ्न थाल्दा कोठा भाडामा लिएर अलग राखिएछ लोकेशलाई। सरसामान सबै लोकेशका बुवाले लोकेशलाई नै पठाइदिनु पर्ने, साँझ बिहान हेरचाह विष्टले गर्नु पर्ने मौखिक सम्झौता गरिएछ। विष्टले यसो गराउनुको कारण थियो बाबु छोराको सम्बन्धमा सुधार आओस भन्ने। किनकि लोकेशले कैयौंपल्ट विष्टलाई अनुरोध गरेका थिए मेरो थर विष्ट लेखाइदिनोस् भनेर। लोकेशले एसएलसी पास गरे। १२ कक्षा पास गरे। भक्तपुरबाट उनको १२ कक्षाको सर्टिफिकेट निकालेको दिन खुब रोएछन् अन्तराम। त्यो आँसु हर्षको थियो। प्रेमको थियो। विगत सम्झिदाको थियो। 

पछिल्लो समयमा बुवा बितेपछि घरको सम्पूर्ण जिम्मेवारी निभाएछन् लोकेशले। कान्छी आमा पट्टिका तीन जना भाइ बैनी र आफ्नो भाइ सबैको अभिभावक बनेछन्। भाइ र कान्छी आमा पट्टिकी बहिनीलाई इन्जिनियर बनाएछन्। हाल भारतको बैङ्गलोरमा घर छ। सेकुरिटि ग्रुप र कल सेन्टर चलायर बसेका छन्। कमाइ राम्रो छ। विष्टलाई फोन गरिरहन्छन्। भाइलाई (बिष्टको छोरालाई ) लगेर पढाउछु भनेर निकै अनुरोध गरेछन् उनले तर मानेनछन् विष्टले। ३ वर्ष अघि उपचारका क्रममा लोकेशले पैसा पठाउन खोज्दा अन्तरामले नमाने पछि भान्जाको खातामा उपचार खर्च भनेर २५ हजार भारु पठाएर पुनः भावुक बनाएको कुरा सुनाएका थिए उनले। 

२०५७ सालमा एक दिन एकाएक उनका ठुल्दाइ टुपलुक्क देखा परेछन् महेन्द्रनगरस्थित उनको कोठामा र भनेछन् – मेरो एउटा काम बाकी रह्यो। या त बिहे गर हैन भने मेरा हातैनो पानी हाल।’ हातैनो पानी हाल्नु भनेको सम्बन्ध कट गर्नु भन्ने बुझिन्छ। बुवा बितेपछिका अभिभावक, आडभरोशा जे भने नि तिनै दाइ थिए। कसरी सक्थे र उनी दाईसँगको सम्बन्ध बिच्छेद गर्न। तेरो बिहे त मैले गरिदिए भाइ बहिनीको कसरी गर्दो रैछस् – गाउँको मुखियाले भनेका थिए रे दाइको बिहेमा ऋण दिदा। त्यही शब्द खट्किन्थ्यो दाइको मनमा। दाइले केटीको श्यामश्वेत तस्विर देखाएपछि एउटा मात्रै प्रश्न गरेछन् उनले – यो केटीको कपाल छ कि छैन ? छ भन्ने उत्तर पाएपछि मञ्जुर भएछन् बिहे गर्न। दाइको भावनाको कदर गरेरै बिहे गरेका हुन् विष्टले।

त्यो समयमा भित्रबाट बिहे गर्ने मनै रहेनछ उनको। महेन्द्रनगरमा सानो घडेरीसम्म जोडेपछि बिहेको बारेमा सोच्नु पर्ला भन्ने सपना बोकेका थिए अन्तरामले। दाइलाई डर थियो यसले कतै भाइबुहारीलाई छोडि पो दिन्छ कि भन्ने। उनी भन्छन् – ’भगवान्ले यस्ती श्रीमती जुराएका रहेछन् र त प्रेम विबाह हुन सकेन। यति बुझ्ने हिम्मत र साथ दिने मन पाएरै बचेको हुँ। म यो अवस्थामा पुग्दा पनि डिप्रेसनमा जान नदिनुमा उनैको हात छ।‘

नेपालमा गीती क्यासेटमा हस्ताक्षर गर्ने सुरुवात पनि आफैबाट भएको कुरा सुनाउछन् उनी। चन्द्रसिंह साउँदले गाइजात्रा एल्बम निकाल्दा काठमाडौबाट पनि जान्छ मार्केटिङ मलाई दिदा तपाई हस्ताक्षर गरेर दिनोस् है भनेछन् विष्टले। कभरमा हस्ताक्षर गराए अनुसार रोयल्टी दिने कुरा भएछ। जसलाई पछि सबैले अनुसरण गरेछन्। 

डिस्ट्रिब्युटर बन्ने सोचले उनी पुगेछन् काठमाडौं। बैंक खाता र बजारमा रहेको सबै रकमलाई जोड्दा त्यतिबेला उनी तीस पैतीस लाखका मालिक भैसकेका थिए। द्वन्द्वको समय बजारमा क्यासेट पठाउदा निकै नै समस्या झेल्नु पर्‍यो। केही डिलरहरु काठमाडौं आए। तर म हैन भन्न थाले। फोनमा कुरा गरेको हिसाबले पत्ता लगाउन गाह्रो भयो। चार वर्ष संगीत सिक्नु शिवाय कुनै उपलब्धी हुन सकेन काठमाडौमा। कमायको जति बजारमा डुबिसकेको थियो। बजार हेर्दा लगानी फर्किने सम्भावना थिएन। फेरि रेकर्डिङ स्टुडियो चलाउने हिसाबले कम्प्युटर र रेकर्डिङ मेसिन बोकेर उनी फर्के पुनः सुदूरपश्चिम जुन सामग्रीले विगतको सम्झना मात्र दिलाउछन्।

पोखराको सन्देश क्यासेट सेन्टरका मालिकले उनलाई जानकारी गराइसकेका थिए अबको ६ महिना पछाडि मेमोरीले बजार खान्छ। क्यासेटको काम छैन भनेर। त्यसपछि सकेनन् उनले रेकर्डिङ स्टुडियो चलाउने शाहस बटुल्न। बिर्तामोडदेखि महाकाली सम्म १८ लाख डुब्यो। अरु कहाँ कति डुब्यो पछिल्ला दिनमा हिसाब गर्नै छोडि दिएछन्। 

कुनै बेला उपहारमा समेत प्लेन टिकट पाउँथे उनी। प्लेनकै यात्रा बढी हुन्थ्यो कमाएको ३५ लाख रुपैया गुमाई नक्सालस्थित कृषिबिकास बैकको खाता बन्द गरी रु १८ सय बुझेर सुदूरपश्चिम फर्किदाको त्यो पल सम्झिदा अझै आँखा रसाउँछन उनका र भन्छन् –‘घरबाट सियोसम्म पनि नल्याएर आएको हुँ। आफैले कमाएँ आफैले गुमाएँ। गलत काम गरेर गुमाएको हैन। नसिवमा रहेनछ भन्नु पर्‍यो। ’ उनलाई सबैभन्दा बढी दुःख त्यही दिन सम्झिदा लाग्छ जुन दिन कोठाका सम्पूर्ण सामान सेकेन्डहेन्ड पसलमा बेच्नु पर्‍यो। अनि श्रीमती विमलाले आफ्ना सबै गहना बेच्नु पर्‍यो। धित मर्ने गरी रोएछन् उनी त्यो दिन तर देखाएनछन् श्रीमतीलाई पनि आँसु। 

पेटमा  ७ महिनाको बच्चा बोकेकी श्रीमती र नावालक छोरोलाई लिएर पुगे छन् उनी अत्तरिया। आमाले भन्थिन रे – जागिर खाया भए बढुवा हुन्थ्यो। खरिदार भया भए लगै आजसम्म सुब्बा भैझान्थ्यो।‘  काठमाडौंबाट रित्तो हात फर्किदा निकै नै चिन्तित थिए ससुराली पक्ष पनि। गायक लोकराज पन्तले कोठाको बन्दोबस्त गरिदिसकेका थिए। अत्तरियामा एउटा बोर्डिङमा शिक्षण गर्न सुरु गरे। त्यहाँ पुगेको २ महिना पछि छोरो जन्मियो। जन्मेको २ महिना पछि नै बच्चालाई मेनेन्जाइटिस भएर अस्पतालमा भर्ना गर्नु पर्‍यो। बच्चा बाँच्ने सम्भावना नदेखेर उनको अहेब साथीले बढी खर्च हुन नदिन अन्यत्र रिफर नगरी दुई दिन धनगढीकै अस्पतालमा राखेछन्। अन्तमा विष्टले भारततिर उपचार गर्न लैजाने सोच बनाएर बच्चा मागेछन्।

अस्पतालले डिस्चार्ज गर्दागर्दै बच्चाले संसार त्यागेछ। त्यसपछि लामो समयसम्म गायनन् उनले गीत। टाढिए संगीत क्षेत्रबाट। बोलाएको ठाउँमा कतै गएनन् उनी। धेरैले उनलाई धोकेबाज, घमन्डी आदि के के भनेछन्। तर छोएन उनलाई कसैको कुनै भनाइले। अब चाडै नै एकातिर गीत रेकर्डि∙ गर्ने सोचमा छन् उनी अर्कोतिर विगतमा गर्नु परेको संघर्षको कथालाई पाठक सामु ल्याउने तयारीमा समेत जुटेका छन्। शुभकामना लोकप्रिय गायक अन्तराम विष्टलाई।

भाग एक

बाको लासमाथि खेलेको त्यो पल

— हेमन्त विवश
जिन्दगीको आधा बाटो कटिसक्यो। उनीभित्र जम्मा भएका सोचाइका पलहरू भने हुन सकेका छैनन् आधी। दिमागमा सलबलाउन छोडेनन् कल्पनाका रेशाहरुले । मौनतामा बसेर कुनै न कुनै पलमा प्रायजसो सोचिरहन्छन्– कस्तो थियो होला बाको अनुहार। भक्कानो उठ्छ उनको मनमा अझै पनि आमाले सुनाएको त्यो कथा सम्झिदा। पुरा पढ्नुहोस्.............

भाग दुई 

भात खाने बेलाको त्यो झगडा

— हेमन्त विवश

एकपल्ट रातभर नाटक देखाएर भतिजीको बिहेमा घर फर्किदा भोकको महत्व बुझेका हुन् उनले। ९ घन्टाको बाटोमा एकातिर अघिल्लो रातको अनिदो अर्कोतिर बाटोमा खानेकुरा पाएनछन्। बाटोमा एकदुई ठाउँमा भरिया भेटिए पैसा दिदा मानेनन्। साहुको पसलको सामान हो दिन मिल्दैन भनिदिए। एउटा घर देखिएछ आशै आशले त्यहाँ पुगेछन् ती मान्छेले बोल्नै चाहेनछन्।  पुरा पढ्नुहोस्.............

प्रकाशित मिति: Jan 02, 2020 20:20:40

प्रतिक्रिया दिनुहोस

सबै