साग अन्तर्गत बक्सिङमा स्वर्ण विजेता सम्मानित

नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा स्वर्णपदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरिएको  छ ।

युके बस्दै आएका पूर्व बक्सिङ खेलाडी कुश बस्नेतको सहयोगमा स्वर्ण विजेता ३ खेलाडीलाई सम्मान गरिएको हो । नेपाल बक्सिङ संघको सहयोगमा कार्यक्रमको संयोजन वरिष्ठ बक्सिङ प्रशिक्षक ओमकुमार मास्केले गरेका थिए । बस्नेतले मास्के मार्फत नै पुरस्कार रकम पाठाएका हुन्।

सागको बक्सिङ २ पुरुष र १ महिला खेलाडीले नेपाललाई स्वर्ण दिलाएका थिए । पुरुष ६० केजीमा सनिल शाही र ६४ केजीमा भुपेन्द्र थापाले स्वर्ण जितेका थिए । महिला ५४ केजीमा मिनु गुरुङले स्वर्ण जितेकी थिइन् । खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरियो । सोही अवसरमा बक्सिङका रजत र कांस्य विजेतालाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपका सदस्य एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुन केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले खेलाडीलाई पुरस्कृत गरे ।

सो अवसरमा सदस्य–सचिव सिलवालले पुरस्कार राशीलाई सानो÷ठूलो भनेर तुलना गुर्न भन्दा पनि खेलाडीलाई सम्झनु मुख्य कुरा भएको धारणा व्यक्त गरे ।

‘पुरस्कार राशी सानो होस् वा ठूलो । त्यसको मतलब हुन्न । विदेशमा बसेर पनि आफ्नो लगाव भएको खेलका पदक खेलाडीलाई बस्नेतजी (कुश) ले सम्झिनु भयो । त्यो महत्वपूर्ण कुरा हो ।’ सदस्य–सचिव सिलवालले भने– ‘विदेशमा बस्ने थुप्रै पूर्व खेलाडीहरु हुनुहुन्छ । सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने हो भने पुरस्कार राशी पनि ठूलै हुन्छ ।’

सदस्य–सचिव सिलवालले खेलाडीले पाउनु पर्ने सागको पुरस्कार चाँडै दिन आफूले पहल गरिरहेको जानकारी दिए ।

बक्सिङ संघका अध्यक्ष अवालेले खेलाडीलाई पुरस्कार प्रदान गरेकोमा बस्नेतलाई धन्यवाद दिदै बक्सिङका रजत र कांस्य विजेतालाई पनि चाँडै पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: : 2020-01-03 03:43:12

प्रतिकृया दिनुहोस्