ए डिभिजन लिग: संकटासँग एपीएफको फराकिलाे हार

संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गरेको छ।

दशरथ रंगशालामा  बिहीबार भएको खेलमा संकटाले एपीएफलाई ४–२ ले पराजित गरेको हो। संकटाको जितमा अजयी मार्टिन्सले दुई तथा
लक्ष्मण रुचाल र कर्ण सुब्बाले एक एक गोल गरे। यता एपीएफका नवीन लामा र आशिष लामाले एक एक गोल फर्काए।

१९ औं मिनेटमा लक्ष्मणले प्रिकिक गोलबाट संकटाले अग्रता लिएको थियो । ४४ औं मिनेटमा कर्ण सुब्बाले गोल गर्दै संकटाको अग्रता दोब्बर पारे। पेनाल्टी एरियामा अजयी मार्टिन्स कोयोडोको पासमा कर्णले गोल गरे।

५३ औं मिनेटमा अजयीले गोल गर्दै संकटालाई ३–० को अग्रता दिलाए। 

तर एपीएफले लगातार दुई गोल फर्काउँदै खेलमा फर्कने संकेत गरेको थियो। ५६ औं मिनेटमा नवीन र ७२ औं मिनेटमा आशिषले गोल गर्दै खेल ३–२ को स्थितिमा पुर्‍याए ।

 तर ८८ औं मिनेटमा अजयीले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ४–२ को जित दिलाए।

प्रकाशित मिति: : 2020-01-10 03:35:24

प्रतिकृया दिनुहोस्