रातो पासपोर्टको आसमा निमोठिएको सपना

रातो पासपोर्टको आसमा निमोठिएको सपना

म बिहानै लिस्वनबाट उड्नुपर्ने थियो। १ घण्टा जति ढिला भयो। ‘प्लेन डिले भयो’ भनेर एयरपोर्ट नपुग्दै म्यासेज आयो।

म लगभग ६ वर्षपछि स्वदेश फर्कन लागेको थिएँ। उत्सुकता भरपुर थियो। धेरै कुरा परिवर्तन भए होलान्। ती खेतको आलीनेरका बकाइनाका रूख कत्रा भए होलान्? मैले ट्यूसन पढाएका ती भुराभूरिहरू पनि तन्नेरी भए होलान्। कतिका त बिहे पनि भइसकेको होला। ती छिमेकि 'खनाल' आमै अझै बिहानको खाना खाइसकेर हाम्रो घर आउँछिन् कि आउन्नन् होला? अझै हिँड्न सक्छिन् होला र?

हजुरआमाका बुढेसकालका साथिहरु मन्दिरबाट फर्कँदा टपरी र दुनोमा मेवा र उखुका प्रसाद ल्याएर दिन्थे। अहिले ती हातहरु लौरो बिना काप्छन् कि अझैसम्म दरिला होलान्?

यति कुरा लिस्वनमा प्लेनमा चढिसक्दा मनमा खेलिरहेका थिए। ७ घण्टामा दोहा लगेर उतार्नू अघि आँखा झिमिम्क पार्न सकिनँ। कौतुहता झन् बढ्यो।

कतारमा,

अर्को प्लेन कुरिरहँदा ९ घण्टाको ट्रान्जिन्ट बढेर १० घण्टा २० मिनेट भयो। तर, त्यो घण्टा यति लामो थियो कि सायदै सायद नायल नदिभन्दा लामो। बुझ्नुस् सेकेन्ड पिछे एक युग बितिरहेछ।

म धेरै केही नसोचि नजिकै रहेको कुर्सीमा बसेँ। मुस्किलले ३, ४ जना थिए। १ जना नेपाली नजिकै आएर केही खोजिरहे। एउटाले इन्फर्मेसन डेक्समा जान सुझायो। उसले ‘मेरो अर्को प्लेनको लागि धेरै समय छ। कतार एयरलाइन्सले खाना दिन्छ कि नाइ,’ भनेर सोध्यो? ‘पहिला टिकट काट्दा कन्फर्म गरेको थियो’ भनेर प्रतिप्रश्न गर्‍यो।

सोध्ने नेपाली बोल्न नपाउँदै फेरि उही बोल्यो, 'सस्ता टिकटमा खाना हुँदैन,' ती नेपाली गए।

मैले अनुमान गरे सायद तिनी पनि पोर्चुगलबाट नेपाल जाँदै थिए।

त्यो कुरा सुनेपछि मैले मेरो टिकटमा खाना छ कि छैन भनेर सोध्ने प्रयास पनि गरिनँ। सिधा 'फुड कोर्ट' गएर नुडल्स र कोक ल्याएर बसेँ। त्यो २ फाँको खाना ५ मिनेटमा सकियो। मेरो अझै सिङ्गो समय बाँकी छ। उड्ने पालो कहिले हो कहिले?

म सोचिरहेँ, साँच्ची कस्ता भए होलान् है ती तमाम चिजहरू जुन मैले ६ वर्षअघि छोडेर आएको थिएँ? कतिलाई म चिन्दिनँ होला। कति मलाई चिन्दैनन् होला। कति गल्ली, चोक, चौतारी मलाई नौलो लाग्छ होला।

ती खेतका आलिहरू उस्तै होलान कि नाई? ती कुला, कुलेसाहरू उसैगरी रसाइरहेका होलान त? के म निर्धक्क ती मुलका मुहानमा मुख गाडेर पानी पिउन सक्छु होला?

म सोचिरहेँ।

ममी कति खुसी हुनुहोला। बुवाले लिन आउँछु भन्नु भएको थियो। कस्तो अनुभव होला, सँगै घर जाँदा? भाइ कस्तो प्रतिक्रिया देखाउँला? छोरी लिन काठमाडौं आउँछु भन्थिन्। उनको अनुहारमा कस्तो खुसी छाउला? मैले आजसम्म नदेखेका २ भान्जीहरू छक्क पर्छन् होला, कहिल्यै नदेखेको मामा देखेर। यी समय कटाउन मैले मैसित गरेका गन्थन् थिए। तर, समय डेक चलेजस्तो लाग्दैन।

अनि हजुरआमा? के गर्नुहुन्छ होला जेठो नाति देख्न पाउँदा?

सोच्दै म झसङ्ग भए। आँखाबाट आँसुका टप्लक्क खसे। मैले कल्पना र कौतुहलताको संसारमा रमाइरहँदा भुलेछु, हजुरआमा यो संसारमा हुनुहुन्न भनेर।

आँखा चिम्म गरेँ। हजुरआमाको तस्विर झलझली देखेँ। अन्तिम भेट सम्झिएँ। छुट्नुअघि भन्नुभएको थियो, ‘सायद, तलाईँ देख्न पाउदिन होला,’ आफूलाई रोक्न सकिनँ। म रोइदिएँ। मजाले रोइदिएँ। कोहि किन रोइस्? भन्न नि आएनन्। आउँछन् भनेर रोएको नि होइन नि। त्यो बेलासम्म बसेको  वरिपरिका कुर्सिहरु भरि थिए। म रोइरहेँ। थोरै मन हल्का भएको महसुस गरेँ।

म परदेशी भएको रहेछु भन्ने बोध मलाई त्यो १० घण्टाको ट्रान्जिटले गरायो। रातो पासपोर्टको आसमा मैले आफ्ना कति सपना निमोठेको रहेछु।

प्रकाशित मिति: Jan 15, 2020 08:28:10

प्रतिक्रिया दिनुहोस

सबै