चेलीबेटी सम्झने महिना माघ

हेमन्त विवश

काठमाडौं

पौराणिक मान्यता अनुसार गाउँघरमा माघेसंक्रान्तिले बढाउने रौनक छुट्टै छ। पुरानो मूल्य मान्यता र सांस्कृतिक पाटाहरुले सजिएको माघ महिना विशेष गरी छोरीवेटीलाई सम्झिने महिनाको रुपमा चिनिन्छ।

धर्मी महिनाको रुपमा पनि हेरिन्छ माघ महिनालाई। पौषलाई अधर्मी महिना भनियो परापूर्व कालदेखि नै। ‘पौषका लामा रात कटाउन नै धौ भयो, कति सुत्नु यताउति पल्टिदै जीउ नै दुख्यो’ भन्ने भनाइ सुनिन्छन् गाउँघरतिर। अर्को तिर ‘पुष फासफुस’ भन्ने भनाइ पनि उत्तिकै चलेको छ। अर्थात यताउता फर्किदा फर्किदै फासफुस ढंगले गइहाल्छ पौष। पौष महिना बितेको चालै पाइँदैन भन्ने आशय पनि हो उक्त भनाइको। यस हिसावले पनि पुषको खासै महत्व देखिंदैन। मात्र दोष व्यहोर्ने अपजसे महिनाको रुपमा चिनिन्छ पुस महिना।

रित्तो र अधर्मी ठानिएको पुसलाई विदाई गर्ने अनि जाडो भगाउने मान्यता अनुसार  पुस मसान्तमा रातभरि मुढा पोलेर आगो ताप्ने डेउडा खेल्ने गरिन्छ। पौष मसान्तकै दिन धार्मिकरुपले मान्यता पाएका नदी किनारका क्षेत्रहरु दोभान, त्रिवेणी आदी स्थानमा विभिन्न क्षेत्रका मान्छेहरु जम्मा भएर रात कटाउने गर्दछन्। माघेसंक्रन्तिको स्वागतका लागि यसरी रात बिताउने गरेको भनाइ पनि सुन्नमा आउछ। विगतमा सेतीको किनारमा गहनान बाइसधारा लगाएतका स्थानमा जम्मा हुने भीड र रातभर खेलिने डेउडा गीतको झल्को आइरहन्छ माघ झल्किने वित्तिकै। निकै नै रमाइला र सांस्कतिक आभा बोकेको थियो ती दिनहरुले। हिजो आज त्यो खालको रौनक छाएको देखिखैन। त्यतिखेरका जस्ता प्रतिभाशाली डेउडियाहरु पनि भेटिदैनन् गाउँघरतिर।

सुदूरपश्चिमेली महिलाहरुका सामु उभिएका छन् पीडाका अग्ला हिमालहरु। भरिभराउ देखिन्छन् आँसुका पोखरीहरु। उसो त पितृसत्तात्मक समाजको बोलवाला भएको मुलुकमा हरेक क्षेत्रका महिलाहरु पीडित नै छन्। विरह र वेदनाका सुस्केरा अलापेकै छन्। तर तुलनात्मक हिसाबले ती सुस्केराहरु बढी नै सुनिन्छन् मध्य तथा सुदूरपश्चिममा। यति हुँदाहुँदै पनि कुनै कुनै चाडपर्वले केही दिनलाई भए पनि ती पीडाका लहरहरुलाई बिर्सिन सघाउ पुर्‍याउँछन्। त्यो आत्मीयता बोक्दै संवेदना र भावनाले भरिपूर्ण भएर दुःख बिर्साउन आइपुग्ने पर्व मध्ये एउटा हो माघे त्यार।

धार्मिक हिसावले पूजाआजा र रामरमिता गर्ने परम्परा जात विशेषको रहँदै आएको छ। वर्षैपिच्छे सांस्कृतिक हिसाबले छुट्टै रौनकता छाउँदै आइपुग्छ माघ महिना। माघे संक्रान्तिलाई माघे त्यारका रुपमा बुझिन्छ। त्यारको अर्थ हुन्छ पर्व। संक्रान्तिका दिन बिहानै नदी, कुण्ड, तलाउ, खोला, कुवा वा पँधेरामा गई नुहाएर छोरीबेटी र बाहुनलाई दान दक्षिणा दिने गरिन्छ। नातागोता आफन्तसँग भेटघाट हुने संयोग पनि हो माघेसंक्रान्ति।  माघे त्यारका रुपमा चिनिने यस पर्वलाई कतै नरहरि संक्रान्ति पनि भन्ने गरिन्छ। धर्मी महिनाका रुपमा हेरिन थालेपछि यो महिनामा मारकाट काम हुँदैन। महिनाभरि माछामासु नखाने मान्यता रहेको छ। माघ महिनालाई विशेष गरी छोरीबेटीप्रतिको मान, सम्मान, आत्मियता र प्रेम झल्काउने महिनाको रुपमा पनि हेर्ने गरिन्छ।

सुदूरपश्चिममा तिजको महत्व त्यति थिएन। हिजोआज अरुतिरको सिको गर्दै तिज मनाउने चलन चलेको छ। तिजको बेला दर खाने, ब्रत बस्ने र पूजाआजा गर्ने चलन सदियौदेखि चल्दै आए तापनि छोरीचेलीलाई बोलाई दर खुवाउने चलन थिएन। पछिल्ला दिनमा कहीकतै छोरीचेलीलाई बोलाई दर खुवाउने र नाचगान गर्ने गरिएको पाइन्छ तर सबैतिर त्यो चलन भित्रिसकेको देखिँदैन। छोरीबेटीहरुको लागि महत्वपूर्ण मनिने माघ महिना नै हो। माघ महिनाभरि छोरीबेटीलाई त्यारमाडो दिने गरिन्छ। त्यारमाडो भनेको कोसेली हो। जस अन्तर्गत मिष्ठान्न भोजन, चिउरा, सख्खर, फलफूल आदि पर्दछन्। दार्चुला र बैतडीमा भने उक्त कार्य चैत्र महिनामा गरिन्छ। ती दुई जिल्लाका छोरीबेटीहरुले माइतिको कोसेली पाउने महिना चैत्र हो। नजिकका आउन सक्ने छोरीबेटीलाई माइतिले बोलाएर खुवाउने गर्छन्। यसरी खुवाउने क्रममा वल्लापल्ला घरमा अर्थात जेठाकान्छा बुवाको घरमा पालैपालो एक छाक मिठो मसिनो खुवाउछन्।  घर पठाउने बेला कोसेलीको भारी बनाएर साथमा एक जना दाइभाइ,अविवाहित बहिनी वा अरु कुनै सहयोगीलाई पुर्‍याउन पठाउछन्। घरमा पुगेपछि देउरानी जेठानीहरुलाई पनि बडो उमङ्गका साथ आफ्ना माइतिले पठाएको कोसेली चखाउछन्। बोलाउदा माइतिघर आउन नसक्ने छोरीचेलीका लागि दाइभाइ अथवा भरियालाई खोजेर भए पनि पठाउछन् माघको कोशेली। कोशेलीसँगै दिन्छन् कसैले आफ्नो वर्गत अनुसार लुगा कपडा पनि। दाजुभाइले  दिदी बहिनीलाई सम्झिने पर्व हो माघ महिना। उता तराइमा चौधरीहरुले विभिन्न परिकार पकाई एकठाउँमा जमघट हुँदै नाचगानका साथ रमाउने चलन उतिकै आकर्षक र रोमाञ्चक छ।

कोसेलीका परिकारहरु बढीजसो चामलको पिठोबाट नै बनेका हुन्छन्। संक्रान्तिका दिन खिचडी खाने चलन छ। खाना तयार भएपछि सर्वप्रथम पातमा खिचडी राखेर आँगनमा वा कतै एकानत ठाउँमा राखेर कागलाई बोलाउने चलन छ। यसरी बोलाउँदा का का कौवा माघको महिनाको खिँचडी भात खाइजा भनेर भनेको सुनिन्छ। दहीमा मुछेको बग्ने खालको चामलको पिठोमा प्रसस्त मात्रमा घिउ, चाहिदो मात्रामा मह, सख्खर वा चिनी मिसाइन्छ। यसमा नरिवल किसमिस, छोकडा पनि मिसाउन सकिन्छ।  फलामको बाक्लो भाँडोमा खरानी राखी त्यसमाथि केराको पात राखिन्छ। उक्त पातमा तयार परिएको पिठो खन्याई पिठो माथि पनि केराका दुईतीन वटा पात खप्ट्याइन्छ। त्यस माथि तातो खरानी र केही कोइला खारी मन्द आगोमा पकाइन्छ।

सुइरोले गोबेर हेर्दा त्यसमा पिठो टासिएन भने रोटी पाकेको ठहरिन्छ। यही विशेष प्रकारको केक जस्तो मोटो रोटीलाई निसोसे भनिन्छ। धेरै दिनसम्म पनि यस्तो रोटी राख्न सकिन्छ बिग्रिदैन। यसलाई माघ महिनाको विशेष परिकारको रुपमा लिइन्छ। यसका साथै सेल, पुरी, माडा जस्ता अन्य परिकारहरु पनि पकाइन्छ। चामलकै पिठोबाट बन्ने त्यस क्षेत्रको अर्को प्रिय परिकार हो माडा। पानीमा मुछेर पात्लो बनाइएको पिठोलाई तावामा पकाइन्छ। एक साइड राम्ररी पाकेपछि फर्काइन्छ र पाकेको साइडमा प्रसस्त मात्रामा घिउ लगाई त्यस माथि पुन पिठो राखिन्छ। यसरी फर्काउँदै घिउ लगाउँदै पिठो थप्दै जादा पत्रैपत्र भएको मोटो रोटी तयार हुन जान्छ।

माघ ३ गते लाई उत्तराइनी पर्वका रुपमा मनाउछन् यहाँका अविवाहित चेलीहरु। सोही दिनदेखि सूर्य मकर रेखाबाट कर्कट रेखातिर जाने अर्थात सूर्य उत्तर दिशातिर ढल्किने, दिन लामा हुँदै जाने, बिस्तारै जाडो हट्दै जाने मान्यता रहेको छ। सोही मान्यता अनुसार उक्त दिनलाई विशेष रुपले मनाउने गरिन्छ। घरघरबाट भाँडाकुडा, खानाका विभिन्न परिकार पकाउन आवश्यक सामग्रीहरु जम्मा पारेर गाउँभन्दा टाढा एकान्त ठाउँमा जम्मा हुन्छन् छोरीचेलीहरु। मिष्ठान्न परिकार पकाई लहरै बसेर खाने गर्दछन्। जसलाई कुनिक्यौली भनिन्छ। जसको अर्थ हुन्छ आफु र आफ्ना मनपर्ने मान्छेले मात्रै उपयोगमा ल्याउने काम। वनभोज। यसरी कुनिक्यौली खाइसकेपछि दिनभरि डेउडा खेल खेलेर रमाइलो गर्छन्। वर्षमा एकै दिन भए पनि आफुलाई मनपर्ने परिकार खाएर स्वतन्त्र ढंगले नाच गानका साथ मनोरञ्जन गर्ने छुट पाएका छन् उनीहरुले। सुदूरपश्चिमको चलनमा बिवाहिता हुन् वा अविवाहिता छोरीबेटीलाई खाना पकाइएका र अरुले खाएका जुठा भाँडा माझ्न दिइन्न। त्यस्तै ससाना भाइबैनीका बाहेक अरुका  लुगा कपडा समेत धुन लगाइदैन।  पाप लाग्छ भन्ने मान्यता रहेको छ। माघको महिनामा त झनै सजग रहन्छ।

यहाँ ऋतु बार महिना सबै परिभाषित छन् धर्मका हिसाबले। र त कुनै महिना धार्मिक मानिन्छन् कुनै मानिदैनन्। कुनै बार र गतेलाई शुभ मानिन्छ त कुनैलाई अशुभ। जस्तै केही भनाइ नै छन् ‘ छन्चर छूट नै मङ्गल भीट नै। ‘शनिबार छुट्टिनु हुँदैन मंगलबार भेट्नु हुँदैन्। त्यस्तै ‘मैनाइँ उन्नैसाइँ बाहिर नै दिनै उन्नैसाइँ भितर नै’ महिनाको उन्नाइस गते लामो यात्राका लागि घरबाट हिँड्नु हुँदैन, घर छोडेको उन्नाइसौं दिनमा घरभित्र पस्नु हुँदैन। ठाउँ अनुसार केही फरक भए पनि यस्ता खाले मान्यताहरु पूर्वदेखि पश्चिमसम्मै विद्यमान छन्। यस्ता कैयौ खाले अन्धविश्वासले पनि प्रवेश पाएका छन् हाम्रो संस्कृतिभित्र।

 सांस्कृतिक महत्व बोकेको माघ महिना महिलाहरुको पक्षमा उभिए जस्तो पनि देखिन्छ। गाउँगर्खातिर हरेक जातजाती र समुदायका मानिसका लागि उत्तिकै प्रिय छ। सडक किनारा हुन् वा गाउँघरतिरका गोरेटा हुन् सबैले थेगिरहेकै हुन्छन् अनगिन्ति पाइलाहरु। कोसेलीका डोका हुन् वा पोका पुन्तुरा जिन्दगीका सुन्दर बिम्ब बनेर उक्लिरहेकै हुन्छन् उकालोमा। माइतिका पाइला हेर्न बाटोमा आँखा बिछाइरहेकी हुन्छिन् छोरीबेटीहरु। विवाहका लगनहरुले उस्तै सजिएको हुन्छ माघ महिना। टाढाका डाँडाकाडा, पाखा पखेरु समेत झङ्कृत हुने गरी जब छुट्छ पञ्चे बाजा र सौनाइको रन्को छुट्टै अनुभूति दिलाउछ जिन्दगीको। बिवाहको बेला गाइने फाग, माङ्गलका लय, ज्यूँतीमा देखिने कलात्मता आदीले बढाएझैं लाग्छ त्यस क्षेत्रको गरिमा। सुन्दरता, आत्मीयता, संवेदना र भावनाले भरिएका छन् हाम्रा संस्कृतिका आयामहरु। त्यही संस्कृतिभित्र केही प्राप्ति छ केही हानी छ। केही संसारभरि फैलाउन उचित हुने र केही छेड्नु पर्ने अनि केही समय सापेक्ष परिवर्तन गर्नु पर्ने कुराहरु पनि छन्। यति हुँदाहुँदै पनि भन्न सकिन्छ सांस्कृतिक मान्यताले नै यहाँको जनजीवनलाई प्रेमिल अनि समझदारीयुक्त बनाएको छ।

प्रकाशित मिति: : 2020-01-15 19:32:19