झरनाको लय पछ्याउँदै झर्दा

‘दाइ, तपाईँलाई पनि क्यानोनिङ खेलाउँछौँ हामी यस पालि। नयाँ अनुभव गर्नुहुनेछ।’ देशविदेशको क्यानोनिङ अनुभव सँगालिसकेका दबिन्द्र तामाङले सुन्तलाबारी जाँदै गर्दा बाटोमै हौस्याए मलाई। 

‘डर पो लाग्ला कि?,’ एकदम सामान्य र स्वाभाविक जिज्ञासा फुस्कियो मेरो। खासमा म स्याङ्जाको सुन्तलाबारीमा आयोजित कृषि, पर्यटन र खेलकुद उत्सव हेर्ने उद्देश्यले मात्र त्यहाँ जाँदै थिए। अरूभन्दा पनि क्यानोनिङ खेलले थप उत्सवमय बनाउँदै थियो यस पटक गाउँलाई। मेरो सामान्य जिज्ञासाको उत्तरमा थप उत्सुकता र जोस पो खन्याइदिए दबिन्द्रले त। भने, ‘यसमा तपाईँले प्रकृतिलाई गज्जबसँग ‘फिल’ गर्नसक्नुहुनेछ र तपाईँको आत्मविश्वासको स्तर पनि बढाइदिनेछ। अनुभव गरेर त हेर्नुस् अनि थाहा पाउँनुहुनेछ रमाइलो।’

उनको कुरा गर्ने शैली निकै नम्र थियो। उनीसँगै रहेका क्यानोनिङका गाइड साथीहरू पनि अनुभवले खारिएका जोसिला युवाहरू। 

कुरा गर्दै सुन्तलाबारी पुग्नैलाग्दा ममा पनि आँट बढेको आभास भयो। ढुक्क भएझै गरेर भनिदिएँ, ‘खेल्छु त्यसो भए।’ 

अरूले खेलेको  हेरेर केही लेख्ने विचारले हिँडेको थिएँ म। सङ्गत र सद्भावका कारण आफैले अनुभव गरेर पो केही लेख्ने निचोडमा पुगेँ। खेलाडी साथीहरूका कुराले अचानक प्रभावित हुँदाको नतिजा थियो यो। लाग्यो, ‘सङ्गत गुनाको फल’ भनेको सायद यही रहेछ।

खेल्ने त भएँ तर डर कहाँ पुरै हटेको थियो र मनबाट? एउटा साहसिक खेल जीवनमा पहिलो चोटि अनुभव गर्दा हुने मज्जाको कल्पना जति गर्थेँ, डरले पनि सताउन छोड्दैन थियो। कतै सुनेको थिएँ, ‘बहादुरहरू पनि डराउन त डराउछन् तर डरका बाबजुद पनि अघि बढ्छन्।’ मैले पनि मनमनै सोच बनाइसकेको थिएँ, ‘डराएर नखेली फर्किएँ भने झन् आफूभित्र हीनतबोध बढ्न सक्छ, खेल्ने भने पछि खेल्छु खेल्छु, जे त पर्ला!’

पुस १७ देखि २० गतेसम्म सुन्तलाबारी होमस्टेले गाउँमा आयोजना गरेको महोत्सवको एउटा प्रमुख आकर्षण बन्यो, क्यानोनिङ। संयोगवश म पनि एउटा लेखकका रूपमा निम्त्याइएको थिएँ। पोखराबाट अर्को गाडी फेर्नुपर्ने थियो। रमाइलो के भयो भने सुन्तलाबारीकै महोत्सव जान लागेका नेपाल क्यानोनिङ एसोसियसनका साथीहरू पनि भेटिए पोखरामा। जोसिला युवाहरूसँग गफिँदै पुग्यौँ स्याङ्जाको सुन्तलाबारी।

उद्घाटनको दिन रमाइलोमै बित्यो। नेताका भाषण त त्यस्तै हो, गीतसङ्गीतको माहोलले चाहि अचेल महोत्सवहरू जम्ने गर्छन्। अर्को दिन क्यानोनिङका साथीहरूको उत्साहसँगै मिसिएर पुग्छु म गाउँको पुछारतिर रहेको खाल्टे खोलाको झरनामा। अग्नो न अग्लो चट्टाने भिरबाट पानीको छाँगो छङ्छङाउँदै खस्नुको सौन्दर्य न हो झरनाको आकर्षण। यहाँ पनि आफ्नै लयमा छङछङ खसेको पानीको सङ्गीत उस्तै प्राकृतिक मिठासका साथ सुन्न सकिन्छ।

अग्लाअग्ला झरनाबाट झरनाको लयमा मिसिदैँ डोरीको सहायताले तल खस्ने साहसिक खेल क्यानोनिङ। युरोप, अमेरिका,
अस्ट्रेलियातिर धेरै लोकप्रिय छ यो खेल। नेपालमा घुम्न आएको बेला फ्रेन्च पर्यटक मोरिस डुसेन निकै  लोभिएछन् यहाँका झरनाहरू देख्दा। उनैले पहिलो चोटि कविन्द्र लामालाई फ्रान्स लगेर प्रशिक्षण दिने चाँजापाँजो मिलाए। उनीसहित नेपाल आएर फ्रेन्च प्रशिक्षकहरूबाट नेपाली टोलीलाई प्रशिक्षण दिएपछि सन् २००३ बाट नेपालमा क्यानोनिङ खेल्न सुरु गरिएको हो। सन् २००७ मा नेपाल क्यानोनिङ एसोसियसन नै स्थापना भएपछि संस्थागत प्रयास जारी छ, यो खेलको उन्नयनका लागि। धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ,मनाङलगायतका जिल्लाहरूका विभिन्न झरनाहरूलाई क्यानोनिङको उत्कृष्ट गन्तव्यका रूपमा चिनाइसकिएको छ। 

मनाङको नार्फु भन्ने ठाउँमा अवस्थित लुङ्गा क्यानोनिङ चाहिँ संसारकै अग्लो स्थानको क्यानोनिङ हो, जुन ५२१५ मिटर उचाइमा छ। संसारकै गाह्रो र चुनौतीपूर्ण क्यानोनिङ मनास्लु हिमालको काखको च्याम्जे खोलाको झरनालाई मानिन्छ। यहाँ अहिलेसम्म ३ वटा समूह मात्र क्यानोनिङ गर्न सफल भएका छन्। 

सन् २०११ मा  नेपालमा पहिलोचोटि अन्तर्राष्ट्रिय क्यानोनिङ फेस्टिबल मनाइएको थियो, १२ देशका २६५ जना सहभागीसहित।लमजुङको स्याङ्गेमा मनाइएको यो फेस्टिबलले संसारभर सकारात्मक सन्देश सम्प्रेषित गर्यो। नेपाल क्यानोनिङ एसोसिएसनले प्रत्येक वर्ष नेपालका विभिन्न जिल्लाहरूमा क्यानोनिङ प्रवर्द्धनका लागि राष्ट्रिय फेस्टिबलको पनि आयोजना गर्दै आएको छ।

पहाडी भूबनोट, अग्लाअग्ला झरना र सुन्दर प्राकृतिक परिदृश्य। क्यानोनिङका लागि नेपाल संसारकै पर्यटकका लागि लोभलाग्दो गन्तव्य हो। यस खेलप्रति आकर्षण बढ्न थालेकोले पर्यटकीय गाउँ सुन्तलाबारीको सामुदायिक होमस्टेले पनि खेल्न चाहने आफ्ना पाहुनाहरूका लागि क्यानोनिङ सुरु गरेको रहेछ। 

४ वर्षअघिदेखि नै यसको सम्भाव्यता अध्ययन गर्न थालिएको भए पनि सन् २०१७ र २०१८ मा नेपाल क्यानोनिङ एसोसियसनका विज्ञ टोलीद्वारा गाउँमै गएर १० स्थानीय युवालाई तालिम प्रदान गरिएको रहेछ। यो खेलका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री समेत सामुदायिक होमस्टेले किनिसकेको छ। 

‘हाम्रो सामुदायिक होमस्टेमा आउने पाहुनाहरूले इच्छा जाहेर गर्ने बित्तिकै यहीँका तालिमप्राप्त युवाहरूमार्फत् यहाँका झरनाहरूमा क्यानोनिङ गराइदिन्छौँ,’
सुन्तलाबारी सामुदायिक होमस्टेका अध्यक्ष डिलविक्रम गुरुङले स्पष्ट पारे।

गुजारा गर्न पुग्ने आम्दानी गाउँमै हुन थालेको छ ग्रामीण पर्यटन र व्यावसायिक सुन्तला खेतीका कारण। वैदेशिक रोजगारी समेत त्यागेर गाउँमै बसेका युवामध्ये एक डेनी गुरुङ क्यानोनिङ गाइडको तालिम लिन पाएकोमा खुसी छन्। उनी भन्छन्, ‘साहसिक खेल क्यानोनिङले गाउँमा अर्को सम्भावना भित्रिएको महसुस गरेको छु।’

अग्लो पहाड छिचोल्दै तलतल बग्ने क्रममा गाउँ नजिकैबाट कुलकुलाउँदै बगेको छ खाल्टे खोला। यो खोला  ३ ठाउँका चट्टाने भिरबाट खस्दा झरनाहरू बनेका छन्, ३ वटै क्यानोनिङ गर्न लायक। 

क्यानोनिङ महोत्सवमा गाउँ पुगेका नेपाल क्यानोनिङ एसोसियसनका ४ जना गाइडहरू सामान्य गाइड मात्र नभएर धेरै अनुभवी र आफ्नो क्षेत्रमा पर्याप्त विज्ञता हासिल गरिसकेका युवाहरू रहेछन्। नेपाल क्यानोनिङ एसोसियसनका उपाध्यक्ष किशोर शाही, फ्रान्स, स्पेन, स्विजरल्यान्ड र जापान समेत पुगेर क्यानोनिङ अनुभवले परिपक्व बनिसकेका दबिन्द्र तामाङ, विक्रम कार्की र भक्त विश्वकर्मा चारै जना नामी। गाउँमै तालिम लिएका डेनी गुरूङ, वीरेन्द्र गुरुङ, पूर्णबहादुर गुरुङ पनि साथमै थिए। 

अनुभवी र आत्मीय गाइड साथीहरूको कुरा सुनेर नै ममा पनि आत्मविश्वास पलाएको थियो र डरलाई दबाउन सकेँ। झरनाबाट खस्दै गरेको पानीको छङ्छङे सङ्गीत, चट्टाने पहरा, नजिकैका हरिया पाखापखेरा। साहस गरिसकेपछि मान्छेलाई प्राकृतिक सौन्दर्यले पनि थप ऊर्जा जगाइदिने रहेछ।
  
हेल्मेट, वेटसुट, लगाएर कम्मरमा डोरी अड्काउने बलिया उपकरणहरू भिरेर झरनाको सुरुभाग पुगेपछि किशोरले कसरी डोरीमा शरीरको सन्तुलन मिलाउदै तलतल झर्ने भन्ने सिकाए। अलि तलका प्रारम्भिक स्टेपहरूमा विक्रम, भक्त र दबिन्द्र सुरक्षा प्रबन्ध मिलाउन पर्याप्त सतर्कता अपनाउन खटिरहेका थिए। अनि झरनाको तल बसेका थिए स्थानीय गाइड वीरेन्द्र। माथिल्लो भागमा ढुङ्गामा प्वाल पारेर छिराइएको नटमा बलियोसँग डोरी अड्काइएको थियो। सुरुको छोटोछोटो दुरीको २ स्टेपसम्म पहिलोमा भक्त र दोस्रोमा दबिन्द्रले मेरो अघिअघि झरेर झर्ने तरिका पनि सिकाउँदै थिए। जब मुख्य भिर आयो कहालीलाग्दो, त्यहाँबाट चाहिँ एक्लै झर्नुपर्ने भयो, झरनाको पानीको लयसँगै। तलतिर झर्दै गर्दा दबिन्द्रले भने, ‘नडराई जानुहोस्, पुछारमा हाम्रो साथी बसिरहनुभएको छ, माथि म हुन्छु। खुब आनन्द लिँदै जानुहोस् है।’ 

भक्तजी र दबिन्द्रजीले माथिल्लो थुम्काको चट्टानमा अड्कीअड्की पोजपोजका तस्बिर पनि लिइदिए मेरा। 

सुरुमा डर, उत्सुकता र रोमाञ्चकताको मिश्रित अनुभूति। तलतल झर्दा डर कम हुँदै जोस र आनन्द बढ्दै गएजस्तो भयो। 

त्यहाँबाट झरेको मध्ये  ४० मिटर जतिचाहि निकै अत्यासलाग्दो भिर थियो, सिधै तल मात्र देखिने। कतैकतै सानो भाग ओडार परेजस्तो गरी भित्र पसेको जस्तो। चट्टानका धेरैजस्ता भागहरूमा चिप्ला लेउ। खुट्टाले छुँदा चिप्लिन मात्र खोज्ने। देब्रे हात शरीरको अघिल्लो पट्टि डोरीमा समात्दै सन्तुलनका लागि प्रयोग हुने। दाहिने हातले शरीरको पछाडितिरबाट डोरी तान्दै खस्नुपर्ने। डोरीको माथिल्लो भागको शरीर ढाँडतिरबाट थोरै भिरतिर झुकाउँदै खुट्टा उल्टो अँग्रेजी ‘भि’ वर्णजस्तो बनाएर चाल्नुपर्ने। 

‘प्रकृतिलाई ‘फिल’ गर्ने खेल हो यो, बिछट्टै मज्जा पो आउँछ त,’ दबिन्द्रले खेल्नुअघि कुराकानीका सिलसिलामा भनेको कुरा पुनः सम्झिएँ। पानी पहराबाट खस्दाको एकनासको आवाज। झरनाको पानीकै लयमा मिसिएर डरलाग्दो चट्टाने भिर पार गर्दै तलतल पुग्दा उहाँका कुरा शत प्रतिशत नै सही लाग्यो मलाई। प्रकृतिको पोल्टामा लुटपटिँदाको अनुभूति कसलाई पो विशेष नलाग्ला र? साँच्चै अपूर्व आनन्दले रङ्गिए पलहरू।

हो, प्रकृति नै जीवनको स्रोत। प्रकृतिमै छ अपार आनन्द। प्रकृति जति उत्सवमय र आकर्षणमय अरू केही कुरा नै छैन। सबै रङ्ग,रस र सिर्जना हुन्छ प्रकृतिमा। पढ्न सके प्रकृतिकै ठूलो किताब। 

कतिपय मोडमा डर र साहसको द्वन्द्व यसरी चल्छ कि डरले जिते लघुताभासको खाडलमा जाकिने र साहसले जिते परिष्कृत अनुभूतिको उज्यालो थपिने हुन्छ। सकारात्मक प्राप्तिका लागि साहसलाई सिद्ध गर्ने अनुष्ठानहरूमा जीवनलाई होमेकै राम्रो।

जोखिमलाई स्वीकार्नुको मज्जा डरपोकहरूलाई कहाँ मिल्छ र ? साहसिक खेलको पहिलो सहभागिताले केही नयाँपनको अनुभूति भयो मलाई। उत्साह र आनन्दले भरियो मन। आत्मविश्वासको स्तर ह्वात्तै बढ्यो।

‘पहिलो पटक डरैडरमा सुरु भएर टुङ्गिन्छ। मज्जा त अर्को पटकदेखि झन् बढी हुन्छ,’ दबिन्द्रजीको कुरा अझै पूरा नगरी भएको छैन मैले। कल्पना गर्ने स्वभाव न हो मान्छेको। म पनि कल्पना गर्दै छु यतिबेला, ‘डरको बाबजुद पहिलो पटक नै यति धेरै आनन्दको वर्षाले भिजाइदियो यो खेलले, अर्को पटक कस्तो पो हुने होला?’

अहिलेलाई यत्ति भन्न सक्छु, ‘साँच्चै ‘फिल’ चाहिँ गरेँ है प्रकृतिलाई।’

प्रकाशित मिति: : 2020-01-16 22:08:10

प्रतिकृया दिनुहोस्