 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                भेट्न पाएकोमा जति खुशी म थिएँ, त्यस्तै हजुरबुवा पनि हुनुहुन्थ्यो। नहोस् पनि कसरी हजुरबुबासँग १०वर्षपछि भेट भएको थियो।
उमेरले उहाँ ९६ वर्षको हुनुहुन्थ्यो। उमेर ढल्किसकेको भए पनि मृत्युको क्षणमा पीडा भइहाल्दो रहेछ। सन्जोगले भनौं गएको जुलाईमा दश वर्षपछि हजुरबुवासँग भेट हुने मौका मिलेको थियो।
सायद त्यो भेट नभएको भए जीवनकालभरि एउटा अभाव र असन्तुष्टिले अधुरो बनाईराख्थ्यो, जुन हजुरआमाको हकमा रह्यो। समयले हजुरआमासँग आलो भेटघाट जुराएन। तर, यसपटकको हजुरबुवासँगको भेटले हजुरआमालाई पनि भेटेको जस्तो महसुस गराएको थियो।
मलगायत मेरो सानो परिवार श्रीमती र दुई सन्तानले परिवारकै अघिल्लो पुस्ताको बचेको एक मात्र प्रतिनिधिपात्रलाई भेटेर आर्शिवाद लिन पाउनु जीवनकै ठूलो प्राप्ती ठानेका छौं।
हजुरबुवासँग मेरा प्रेममय भोगाईहरु छन् जुन लेखेर नसकिने खालका छन्।
प्रवासको बसाईमा परिवारका अरु सदस्यभन्दा हजुरबुवाको याद बढि आउँथ्यो, आफ्नै जन्मदिने बुवाआमाभन्दा पनि। बुवाआमासँगका हरेक फोन कलहरुमा मैले हजुरबुवाको सन्चो विसन्चोको बारेमा सोध्न सायदै छुटाएको हुँला।
कहिलेकाँही स्काईप र फेसवुकले हजुरबुवासँगको भेटघाटलाई धितमार्ने गरि देखाईदिन्थ्यो। ४ वर्षअघिसम्म हजुरआमाको खबर पनि सोधिरहन्थेँ। तर, दैवले हामीबाट हजुरआमा छुट्र्याइदिएपछि हजुरबुवा मात्र बाँकी हुनुहुन्थ्यो। प्रवासको वसाईको खास पीडा हजुरआमालाई भेट्न नपाएकोमा भयो, जुन जीवनभरी रहनेगरि।
त्यस्तै डर हजुरबुवाको हकमा हुन्छ कि भनेर हरेक दिन डराईरहन्थेँ। कहिलेकाँही उठाउन नपाएका नेपालस्थित परिवारका सदस्यहरुका फोनकलहरुले शंकासहितको पीडा दिलाउँथे। पछि फोन फर्काइसकेपछि हजुरबुवा सन्चै भएको खबरपश्चात मन हल्का हुन्थ्यो। यस्तै डरत्रासमा मैले एकदशक गुजारेको छु प्रवासमा।
काठमाडौं ओर्लेको भोलीपल्टै हामी गाउकै घरमा पुगेका थियौं। धेरै वर्षपछिको भेट थियो त्यो। मलाई अंगालो हालेर हजुरबुवा रूनुभएको थियो। र म पनि भक्कानिएको थिएँ। परिश्थितिले त्यो न्यानो अंगालोमा म दश वर्षसम्म बन्चित भएको थिएँ।
पछिल्लो सन्तान पनातीसँग उहाँको पहिलो भेट थियो। उसलाई देखेर हजुरबुवा थप दंग हुनुभयो। हजुरबुवालाई मैले मनपर्ने खानेकुरा र लुगाफाटो अमेरिकाबाट लिएर गएको थिएँ। उहाँलाई गुलियो खुवै मनपथ्र्यो। पढाईको शिलशीलामा म काठमाडौं बस्दा पनि दशैं तिहारको मौकामा घरपुग्दा हजुरबुवालाई चिनी मिठाईलगायत उहाँलाई मनपर्ने कुराहरु बोकेर जान्थेँ।
त्यसैले पनि होला मलाई हजुरबुवाले निकै मन पराउनुहुन्थ्यो। हाम्रो सामिप्यता निकै थियो। उहाँलाई कृषि पेशा निकै मनपर्थ्यो। गाईवस्तु पाल्नेदेखि जग्गा जमिन बढाउने कुरामा उहाँ सोखिन हुनुहुन्थ्यो। यस पटकको भेटमा पनि उहाँ मलाई जग्गा जमिन किन्न उक्साउँदै हुनुहुन्थ्यो। म भने रमाईलो मान्दै ‘हस् हजुरबुवा’ भनेर टार्दै थिएँ।
उहाँलाई पशुपंक्षीले औधि मनपराउँथे। म पनि एसएलसी पास भएर काठमाडौं आउनुअघि उहाँकै लाईनमा थिएँ। गाईवस्तु चराउनेदेखि खेतिपातीमा उहाँले मलाई राम्रै तालिम दिनुभएको थियो। कहिलेकाँही त यसले मलाई पढाईमासमेत अवरोध हुन्थ्यो।
उहाँको जमानामा त्यो सम्भव भए पनि मलाई पढाई लेखाई गर्नुपर्ने आवश्यकता थियो। एसएलसी दिएर म काठमाडौंमा हानिएँ। र पछिल्लो समय अमेरिकामा आईपुगेँ। पढेर गाउँमा फर्किनुपर्ने म विदेश पुगेँ। सायद यो नियति मेरो पुस्ताले बढी भोगेको हुनुपर्छ।
देशमा रोजगारको अभाव र अस्थिर राजनीतिले हामीलाई विदेशतिर धकेल्यो जुनआजसम्म खासै रोकिएको छैन। अवसरकै लागि जन्मभूमि छोड्नुपर्ने यो कस्तो विडम्वना हो। यससगै परिवारका सदस्यहरुसँगको विछोड सहनुपर्ने। हजुरवुवासहित परिवारका सदस्यहरुबाट टाढा रहँदा निकै खल्लो महसुस भइरहन्छ। अझ मृत्युको बेला पनि भेट्न नपाउने अवस्था हुँदा थप पीडादायी बन्ने गरेको छ प्रवासको वसाई जुन मैले भोगेँ।
हजुरआमा वित्दा म न्यूयोर्क राज्यमा बसिरहेको थिएँ। जतिखेर खबर कानमा पर्यो म आफूलाई सम्हाल्न नसकि वाथरूममा छिरेर रोएको थिएँ। पछिल्लो समय टेक्सासमा बसिरहेको बेला हजुरबुवाको मृत्युको खबर एका बिहानै दाइले सुनाउनुभयो। भर्खरै मात्र काममा पुगेको थिएँ। खबर सुनेपछि मन गह्रुँगो भएर आयो। आँखा रसाउन थाले। काममा एक्लै भएको बेला झनै गाह्रो भयो। पसलको काममा भएकोले ग्राहकसँग बोल्नुपर्ने बाध्यता भयो।
केही ग्राहकले आर यु ओके भन्दै सोध्न थाले। मलाई गाह्रो भैरहेको कुरा उनीहरुले मेरो अनुहारमा देखिसकेका थिए। सम्हालिनै गाह्रो भइसकेपछि मैले अफिसको कोठामा पगेर अर्को काम गर्ने मान्छेलाई फोन गरेर बोलाएँ। ऊ आउन्जेल त्यही अफिसको कोठामा बसेर रोएँ। रोएको आवाज मेरो अफिसको भित्ताले रोके कसैले सुनेन।
परिवारका सदस्यहरु पनि एक हजार माईल टाढा थिए। हजुरवुवाको पनि एक लास भइसकेको अवस्था थियो। काम गर्ने मान्छे नआउन्जेल म अफिसमै क्यामेराबाट काउन्टरमा ग्राहक हेरेर जान्थेँ अनि खाली भएपछि अफिसकै कोठामा फर्किन्थेँ। काम गर्ने मान्छे आएपछि म त्यहाँबाट घर फर्किएँ।
घरमा पुगेपछि नेपालमा फोन सम्पर्क भएर परिवारबीच पीडा साटासाट गरेँ। र संस्कारका कार्यक्रमहरु शूरु भए। हजुरबुवाको घटनापछि घरमा टाढा रहेका सन्तान र इष्टमित्रको भीड लाग्न थाल्यो।
हाम्रो परिवार त्यसै ठूलो त्यसमा पनि यो घटनापछि चिनजानका धेरै मानिसहरु घरमा पुगेर समवेदना प्रकट गर्न थाले। भेटघाटको खबर परिवारसँगको कुराकानीमा सुनिन्थ्यो। केही फोटोहरु पनि देखिन्थ्यो। प्रवासमै रहे पनि मेरो परिवारले संस्कारलाई अनुसरण गर्यो।
मैले कपाल खौराउनेदेखि नुनरहित खानेकुरा खाएर १२ दिनसम्म तपस्या गरेँ। मेरा साथीभाइले पनि विभिन्न माध्यमबाट समवेदना दिएर साथ दिए। नजिकै रहेका साथीभाइहरु बसेको ठाउँमै आएर दुःखमा साथ दिए। यो वेलामा हजुरबुवासँग भोगेका धेरै कुराहरु मानसपटलमा खेलिरहे।
साश्वत सत्यलाई स्वीकार्नुपर्ने मानवचोला अनुरुप हजुरबुवाको मृत्यु स्वीकार्दै पीडा सम्हाल्दै गएँ। हजुरबुवाको मृत्युसँगै हाम्रो परिवारमा अघिल्लो पुस्ता सकिएको छ। हजुरबुवाको स्वर्गमा वास होस्।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया