यस्तो छ गायिका आस्था राउत र प्रहरीबीच विमानस्थलमा भएको विवाद (भिडियो)

गायिका आस्था प्रकरणः चेकजाँच गर्ने महिला प्रहरी भन्छिन्– राउतमाथि नै कारबाही गर्नुपर्छ

दीप सुवेदी

काठमाडाै‌ं

विमानस्थलमा प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएपछि गायिका आस्था राउत चर्चामा छिन्। बिहीबार उनले प्रहरीको चर्को आलोचना गरेर त्रिभुवन विमानस्थलमा भएको प्रहरी चेकिङ र त्यहाँ भनिएको ‘दुर्व्यवहार’को भिडियो सार्वजनिक गरेकी थिइन्।

विमानस्थलमा एक महिला प्रहरीले ‘राष्ट्रिय कलाकार’माथि दुर्व्यवहार गरेको र अपशब्द प्रयोग गरेको भन्दै गायिका राउतले प्रहरीलाई गाली गर्दै फेसबुक लाइभ गरेकी थिइन्। उक्त लाइभमा गायिका राउतले प्रहरीलाई प्रहरी मेरो साथी भन्ने ‘स्लोगन’ हटाउन भन्दै प्रहरीमाथि खरो टिप्पणी गरेकी थिइन्।

उनले भिडियोमा साना प्रहरीहरुलाई ‘म्यानर’ सिकाउन भन्दै ठूला प्रहरी अधिकारीलाई ‘सुझाव’ दिएकी थिइन्। आखिर आस्था राउतमाथि विमानस्थलको सुरक्षा चेकिङमा भएको चाहिँ के थियो त? सबैलाई खुलदुली लागेको छ र उक्त खुलदुली मेटाउन प्रहरीले पनि राउतलाई काउन्टर दिदै उनको भिडियो सार्वजनिक गरेको छ । जसमा उनले महिला प्रहरीसँग झगडा गरेको देखिन्छ । झगडा कफिको गिलासबाट सुरु हुन्छ। 

बिएल नेपाली सेवालाई प्राप्त भएको सिसिटिभी फुटेज अनुसार हातमा कफीको कप बोकेर आएकी राउतलाई ड्यूटीमा खटिएकी महिला जवान रस्मी श्रेष्ठले सामान्य चेकजाँचको लागि ज्याकेट फुकाल्न लगाउँदा राउतले नै महिला प्रहरीमाथि तथानाम शव्द प्रयोग गरेको देखिएको छ। राउतलाई प्रहरी जवान श्रेष्ठले आवश्यक चेकजाँचको लागि उनलाई ज्याकेट खोल्न लागाउँछिन्। राउतले हातमा बोकेको कफीको कप प्रहरी जवान श्रेष्ठले हातमा लिदैँ उनलाई बाहिर जान निर्देशन दिन्छिन्। लगतै राउतले पनि रिसाउँदै ज्याकेट खोल्न उनी चेकजाँच रुमबाट बाहिर निस्किन्छिन्। 

हतारमा राउत फेरि चेकजाँच रुममा आउँछिन्। उनलाई प्रहरी जवान श्रेष्ठले चेकजाँच गरेर जान निर्देशन दिन्छिन्। राउत आफ्नो ज्याकेट लिँदै बाहिरिदै गर्दा उनलाई प्रहरी जवान श्रेष्ठले कफीको कप हातमा थमाउछिन्,तर राउनले उक्त कप लिन अस्विकार गर्छिन्। पछि प्रहरीले झोलामै कफी हाल्न खोजेको जस्तो पनि देखिन्छ। उनीहरुबीच केही बेर भनाभन हुन्छ र राउत फथफताउँदै नजिकै बसेको अर्का प्रहरीलाई ठाडो औँला देखाउँदै पुनः ज्याकेट लगाएर जान्छिन्। अन्त्यमा कफी टेबलमा राखेर महिला प्रहरी आफ्नो ड्यूटीमा जान्छिन् ।

गायिका राउतले के भनिन्?

भिडियोमा आक्रोशित हुँदै उनले भनेकी छन्, ‘मलाई आजसम्म घरका बाबुआमाले त तँ भन्न सकेका छैनन् । त्यो डन्ठेले तँ भन्ने? त्यो डन्ठेलाई भेटाएँ भने त त्यसको डन्डा मुखबाट छिराएर काँ निकाल्दिन्छु मा sss कस्सम....’

उनी आक्रोशित हुँदै प्रहरीभित्र दुर्गन्ध भएको आरोप लगाएकी छन्। उनले अघि भनिन्, तिमीहरूको विमानस्थलबाट ज्यानमारा छिर्छ। ड्रग्स छिर्छ । सुन छिर्छ । तर उउटा महिलामाथि गर्ने व्यवहार यही हो? कलाकारको सम्मान छैन। गोजीमा छाम्नुस् न त तपाईं, मलाई ढिलो भइसक्यो भन्दा, खोल ज्याकेट रे। त्यही हो बोल्ने पारा? यो प्रहरी साथी भन्ने शब्द हटा त।’

उनले आफ्नो पनि घरमा प्रहरी भएकाले प्रहरीलाई सम्मान गर्ने गरेको भन्दै प्रहरीले पनि अरुलाई सम्मान गर्न सुझाव दिएकी छिन्। ‘हामीलाई हजुर चाहिएन । तर डन्ठेहरूले, बन्दुकेहरूले तँ भनेको सह्य हुँदैन। सम्मान गर र सम्मान लिन सिक( गिभ रेस्पेक्ट टेक रेस्पेक्ट)। गल्तीविना तँ तँ भनेर गालीगलौजमा उत्रिनु राम्रो होइन । माथिका हाकिमहरूले तलका कर्मचारीलाई राम्रोसँग पढाऊ न यार..... । अरुलाई चाहिँ तँ ए भन्ने, अनि हामीले चाहिँ तिमीहरूलाई सम्मान गर्नुपर्‍यो?,’ उनले भनेकी छन्।

राउत प्रकरणमा गम्भीर अनुसन्धान हुन्छ: प्रहरी

विमानस्थल प्रहरी प्रशासनले गायिका आस्था राउतमाथि कुनै दुर्व्यवहार नभएको बताएको छ। बिहिबार राउतले विमानस्थलमा तल्लो दर्जाका प्रहरीबाट आफूविरुद्ध दुर्व्यवहार भएको भन्दै प्रहरी संगठन विरुद्ध नै आक्रोश व्यक्त गर्दै फेसबुक लाइभ गरेपछि प्रहरीले उनीमाथि कुनै दुर्व्यवहार नभएको जनाएको हो।

महानगरीय प्रहरी कार्यालय  रानीपोखरीले गायिका राउत प्रकरणमा गम्भीर अनुसन्धान हुने जनाएको छ। महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले अनुसन्धान हुने बताएका हुन्।

‘दुर्व्यवहार भए उजुरी गर्ने ठाउँ छ तर कलाकार भन्दैमा संगठनलाई नै बदनाम गराउन पाइँदैन’, पोखरेलले भने। उनले सिसिटिभी फुटेज र सम्बन्धित प्रहरी अधिकारीलाई बोलाएर घटनाबारे छानबिन हुने बताए।

यता त्रिभुवन विमानस्थल प्रहरी कार्यलयले पनि राउतमाथि कुनै दुर्व्यवहार नभएको बिएल नेपाली सेवालाई बताएको छ। विमानस्थल प्रहरी कार्यलयले डिउटिमा खटिएइकी महिला प्रहरी जवान श्रेष्ठलाई आवश्यक बयान लिएर आफूहरुबाट कुनै गल्ति नगरेको बताएको हो। विमानस्थल प्रहरी कार्यलयले उनको बयानसहितको प्रतिवेदन महानगरीय प्रहरी कार्यलयमा पठाएको छ। 

स्रोतका अनुसार महिला प्रहरी जवान श्रेष्ठले विमानस्थल प्रहरी कार्यलयमा सामाजिक संजाललमा राउतले बोलेको जस्तै कुनै कुरा सत्य नभएको उल्लेख गरेकी छिन्। उनले निवेदनमा राउतले समाजिक संजालमा आफ्नो प्रतिष्ठामाथि आँच आउने कुरा बोलेको भन्दै कारबाहीको समेत माग गरेकी छिन्। 

प्रकाशित मिति: : 2020-01-17 19:11:07

प्रतिकृया दिनुहोस्