शैलुङको हिउँसँगै सेल्फीमा रमाउँदै!

शैलुङको हिउँसँगै सेल्फीमा रमाउँदै!
  • सुनेको शैलुङभन्दा देखेको शैलुङ धेरै मिठो। हिउँको घुम्टो ओढेकी स्वर्गकी अप्सरा जस्ती। अँगालोमा बाँधेर नन-स्टप हिउँमा लडिवुडी खेलिरहुँ जस्तै लागिरहने, सुन्दर ठाउँ।
     

दशकौं अघि कवि श्रवण मुकारूङले एउटा सुन्दर गीत रचना गरेका थिए, ‘माथिमाथि शैलुङ्गेमा चौरी डुलाउनेलाई, हत्केलामा मायाको गुराँस फुलाउनेलाई....।’ गीतमा शैलुङ डाँडामा चौंरी चरेको, मायाको गुराँस फुलाएको सौन्दर्य वर्णन गरिएको छ। अझ गायिका कुन्ति मोक्तानको सुरिलो स्वरमा यो गीत सजिएपछि शैलुङ आम नेपाली माझ चिनियो।

कवि मुकारूङले पूर्वी नेपालको शैलुङ सम्झेर गीत लेखेका हुन् कि, रामेछाप र दोलखाको साँधमा रहेको शैलुङ सम्झेर, जे होस् शैलुङलाई चर्चित बनाउन यसले ठूलो योगदान गरेको छ । त्यसैले कवि मुकारूङ र गायिका मोक्तानलाई धन्यवाद।

यहाँ मैले चर्चा गर्न लागेको शैलुङ भने रामेछाप र दोलखाको साझा तीर्थ हो। दशकौं अघिदेखि यही गीतको तालमा कम्मर मकाई मकाई नाच्दै आए पनि त्यहाँ पुग्ने अवसर मिलेको थिएन । तर, यसपालि ‘जाऔं है दोलखा’ अभियानको शीलशीलामा गत शुक्रबार शैलुङ टेक्ने मौका मिल्यो।

सुनेको शैलुङ भन्दा देखेको शैलुङ धेरै मिठो लाग्यो। हिउँको घुम्टो ओढेकी स्वर्गकी अप्सरा जस्ती । सुकुमारी, अँगालोमा बेरिरहुँ जस्ती । चुमिरहुँ जस्ती! कोमल!

हामी नेपाल भ्रमण वर्ष २०२० मनाइरहेका छौं । यही अवसरमा दोलखा, जिरीका युवा पर्यटन अभियन्ता लीलाराम खड्काको अगुवाईमा ‘जाऔं है दोलखा’ अभियानलाई अघि बढाउन शैलुङ, चरिकोट, भीमेश्वर, बिगु गुम्बा र कालिञ्चोक यात्रामा निस्केका थियौं ।

हाम्रो टोलीमा ८ जना थियौं, लिलाराम खड्का , भवानी शिलाकार, आयुष, सेम्दुक लामा, अमृत भादगाउँले, आश्रय न्यौपाने, जिपका गुरूजी शंकर र म ।

हामी ५ जना कोटेश्वरमा भेला भएर गाडी चढ्यौ, अमृतजी र आश्रय ठिमीबाट। हाम्रो गाडी बनेपा, धुलिखेल, नेपालथोक पुगेर सुनकोशी पुल तरेर कच्ची बाटो हुँदै रामेछापको उकालो भुगोल छिचोल्दै खाँडादेवी मन्दिर पुग्यो।

खाँडादेवि मन्दिर
रामेछापको खाँडादेवी गाउँपालिकामा अवस्थित खाँडादेवी मन्दिर (१९७७ मि.) धार्मिक तथा पर्यटकीय महत्वको बोकेको शक्तिपीठ हो । खाँडादेवीमा चैते दसैं र बडादसैंका बेला ठूलो मेला लाग्छ । दसैंका बेला पञ्चवली दिइने चलन छन । खाँडादेवीमा वर्षैभरी रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुली, ओखलढुङ्गा लगायत तराई र काठमाडौंबाट समेत उल्लेख्य रुपमा भक्तजन पुग्ने खाँडादेवि विकास कोषका सचिव विष्णु तामाङले बताए।

किंवदन्ती अनुसार रोशी खोला र सुनकोशी नदीको संगमस्थलमा रहेको कुशेश्वरमा देवीले शुम्भ निशुम्भ नामका राक्षसलाई बध गरी दुर्गा नदीमा खड्ग पखालेर यहि स्थानमा खड्ग गाडेर कालिञ्चोकमा अन्तरध्यान भएकी उल्लेख छ। यहाँका पूजारी तामाङ जातिका हुन्छन्। विस १५१५ माघ १५ गते मंगलबारका दिन खाँडादेवीको शीला उत्पत्ति भएको मानिन्छ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा पूर्वको किल्ला मजबुत बनाउन खाँडादेवीमा सहायक गढीका रुपमा किल्ला स्थापना गरेका थिए । त्यसैगरी पृथ्वीनारायणले अङ्ग्रेजसँगको लडाईँ  जित्न खाँडादेवीसँग आशिर्वाद लिएको पनि जनश्रुति छ।

हामी खाँडादेविको दर्शन पछि खाना खाएर अघि बढ्यौं । त्यहाँबाट हामीलाई रामेछापका पर्यटन अभियन्ता दाबा साङ्बो शेर्पाले साथ दिए। उनैले गाइड गरे । हामी लखपति डाडाँको विशाल चैत्य दर्शन गर्‍यौं। त्यहाँबाट शैलुङतिर लाग्यौं।

वाह ! शैलुङ
त्यो साँझ हामी वेसक्याम्प खोलाखर्क (२९९४मि) पुगेर दिलमाया मोक्तानको होटलमा बास बस्यौं। शैलुङको फेदमा रात कटाउँदा मनमनै कल्पिदै थिएँ शैलुङ। सुत्नु अघि हामीले धुलिखेलबाट आएका केही तन्नेरीहरुसँग ‘माथि माथि शैलुङेमा....’ गीत गायौं । र, नाच्यौं पनि।   

बिहानै मिर्मिरेमै भवानी, आयुष र अमृतजी सूर्योदयको दृश्य खिच्न उकालिए। म र सेम्दुक सर विस्तारै उकालो लाग्यौं। उकालैमा हामीले सूर्योदयको पहेंलो रेखा कैद गर्‍यौं।

आधा घण्टा लाग्ने हल्का उकालो चढ्दा हामीलाई ४५ मिनट लाग्यो। हिउँले ढपक्कै ढाकिएको, शैलुङ । वाऊ शैलुङ! डाँडामा पुग्दा थुम्काहरु हिउँले सेताम्मे थिए। उदाउँदो सूर्यको किरणमा रमाइलो गरिरहेका थिए तन्नेरीहरू। त्यो रंगीन दृश्यमा दर्जनौं तस्विरहरु खिच्यौं हामीले।

मित्रहरु आ–आफ्नै तालमा डाँडातिर हराए। आन्तरिक पर्यटकको मेलै लागेको थियो। कोहि सेल्फी खिच्न व्यस्त थिए भने फोटोग्राफरहरु हिउँ र हिमालतिर क्यामेरा सोझ्याइरहेका देखिन्थे।

घाम विस्तारै छिप्पिँदै गयो, उत्तरतिर हिमाल खुल्दै गए । हामीलाई शैलुङको विषयमा पर्यटन अभियन्ता दाबाजीले जानकारी गराउँदै थिए । बर्खामा हरियाली, हिउँदमा हिउँ र हिमाल अनि चैत वैशाखमा लालीगुराँसको सौन्दर्यमा शैलुङ झलमल्ल हुने उनले बताए।

मंसिर, पुस र माघ हिउँले ढकमक्क

फागुन, चैत र वैशाख लालिगुँरास र चिमालले ढकमक्क

जेठ, असार, साउन र भदौ हरियाली र लेकाली फूल फुलेर ढकमक्क

असोज, कात्तिक, घाँस सुकेर सुनौलो हुन्छ।

आकाश फुलेको बेला हिमालको लर्कन देखिन्छ।

शैलुङ (३१५० मि) बेहुली झै सिंगारिएकी। २२० डिग्रीमा मुस्कुराउँदै गरेको हिमालको लर्कनले मनमस्तिक आनन्दित बनायो। पूर्वको नुम्बुर, सगरमाथा, दोर्जे लाक्पा, तासी लाप्चा, दोर्जे लाक्पा, जुगल हिमाल, लाङताङ, गणेश हिमाल, मनास्लु र अन्नपूर्णको हिमश्रृंखलाको लामो हिमालको लर्कन अघाउञ्जेल हेर्‍यौं, अनगिन्ति फोटाहरु कैद गर्‍यौं। 
आगन्तुक पर्यटक एक आपसमा हिउँ खेल्दै, उफ्रिदै, फोटा धमाधम खिच्दै रमाउन थाले। केयुका इन्जिनियारिङ संकायका ८ जना विद्धार्थीको टोली मस्त नजिकै हिउँ खेल्दै थिए। ती मध्ये धुलिखेलका सौरभ राज खनालले, 'अहिलेसम्म पुगेको ठाउँमध्ये सबै भन्दा सुन्दर लाग्यो, स्वर्गको टुकुडा जस्तै रहेछ शैलुङ, ' अनुभव सुनाए।

शैलुङ प्राकृतिक र धार्मिक विषेशता बोकेको स्थलमा १०८ थुम्का छन्। त्यहाँ गुफा, मन्दिर र चैत्य छन्। हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थ मानिन्छ शैलुङ। रामेछाप र दोलखाको संगम शैलुङमा बाघढुंगा, गाइढुंगा, पृथ्वीको नाइटो, जारकाटे, गुरू रिम्पोचेका पाइला, शैलुङेश्वर महादेव लगायत सम्पदा छन्।

फेदिमा वरी परी सुन्दर गाउँ वस्ति छन्। यहा तामाङ, शेर्पा, क्षेत्रि , ब्राहमण, नेवार , तामाङ, मगर र दलितको बसोबास गर्छन्, तिनका संस्कृति र रहन सहन पनि हेर्न पाईन्छ।
शैलुङ वेस क्याम्प खोलाखर्कमा सामान्य खाना र बास सुविधा पाइन्छ। होटलवालासँग बिहानै थर्मसमा तातोपानी, कफी र चिनी लिएर उकालो चढेमा हिमाल हेर्दै सुरूप सुरूप पार्न पाइन्छ । डाँडामा कुनै रेष्टुराँ छैनन् । पानी र खाजा विस्कुट लान भुल्न हुँदैन ।

एउटा कुरा हिउँ पर्ने याममा डाँडातिर घुम्न जाँदा हिँड्न सजिलो जुत्ता, न्याना कपडा, माकल टोपीलगायत जरूरी हुन्छ है!
हामीले दोरम्बा गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानसँग शैलुङको पर्यटन विकासबारे कुरा गर्‍यौं। उनले खोलाखर्क बजारलाई व्यवस्थित गर्ने, बसपार्क बनाउने लगायत पर्यटकीय पूर्वाधार विकासका काममा जोड दिएको बताए। शैलुङलाई चम्काउने प्रयास भैरहेको उनले जानकारी दिए।

हामीले शैलुङमा रात बितायौं। भोलिपल्ट दिउँसो २ बजेसम्म घुम्यौं । हामीलाई साँझ बास बस्न सिँगटी बजार पुग्नु थियो । त्यसैले शैलुङ घुमाएकोमा लीलाजीलाई धन्यवाद दिँदै खोलाखर्क झर्‍यौं। र, त्यहाँ खाना खाइवरी उही कवि श्रबण मुकारुङको गीत गुनगुनाउँदै ओरालो झर्‍यौं।


माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई
भन्दिनु है भन्दिनु, मेरो चुल्ठो खाली छ
उनको त्यो मनै जाली छ ।.......


फर्किँदा बाटोमा २०७२ को भुईँचालोले ध्वस्त पारेरर्निमाणाधीन कलात्मक राजविर गुम्वाको दर्शन गरेर आशिर्वाद लियौं।  त्यसपश्चात गाल्पा, दोरम्वा, फुलासी, जिरो किमी, तामाकोसी,  चरिकोट हुँदै राति अवेर सिंगती पुगियो, बिगु गुम्बाको गन्तब्यतिर।

कसरी पुग्नेः

काठमाडौं–धुलिखेल–नेपालथोक– खाँडादेवि- शैलुङ १२१ किमि, जिपमा ५ घन्टा । अर्को रुट, काठमाडौं–धुलिखेल–खाडीचौर–मुढे–शैलुङ १४१ किमि, जिपमा ७ घन्टा।

सम्पर्कः
दाबा साङ्बो शेर्पा-९७४१११२९३३
लाल वहादुर तामाङ- ९८८६२१८३१८
लिलाराम खड्का-९८४९३०३९२०

 

दोलखाका अभियन्ता

दोलखाको जिरीमा जन्मे हुर्केका लीलाराम खड्का विगत एक दशकदेखि जन्मथलोको पर्यटन विकासका काममा सक्रिय छन्। जिरीको पर्यटन प्रवर्धन गर्दै आएका खड्का पछिल्लो समय समग्र दोलखाको पर्यटन विकासमा होमिएका छन्। दोलखाका सम्पदाहरुको प्रचार गर्ने उद्देश्यले बेलाबेलामा उनी पर्यटन पत्रकारहरुलाई दोलखाका पर्यटकीय गन्तव्यहरुमा घुमाउँछन्। कसैको सहयोग लिएर होइन, निजी खर्चमा २८ वर्षे युवाले ठाउँ चिनाउँदै आएका छन्।

यतिबेला पर्यटन प्रवद्र्धन मञ्च, नेपाल नामक संस्था गठन गरेर संस्थागत रुपमै ‘जाऔं है दोलखा’ अभियान सुरु गरेका छन्। यद्यपी केही समयपछि काठमाडौंमा यसको औपचारिक शुभारम्भ हुनेछ। तर, अभियान भने सुरु भैसकेको छ।

यो विशुद्ध प्रचारात्मक अभियान हो। अभियानमा वर्ष दिनसम्म विभिन्न प्रचारात्मक कार्यक्रम गरिनेछ। कार्यक्रमको शुभारम्भमा लाग्ने खर्च उनी आफैं खर्च गर्नेछन्। बाँकी कार्यक्रमका लागि सरोकारवालासँग सहकार्य गर्नेछन् ।

किन त अभियान ? खड्का विगत सम्झन्छन् ,‘ स्कुले जीवनमा सगरमाथा क्षेत्र पदमार्ग जाने विदेशी पर्यटक र खच्चडले भरी भराउ देखिन्थे जिरी बजार । लुक्ला सिधै फ्लाईट हुन थालेपछि र घुर्मीको बाटो खुलेसँगै सुनसान भयो। यसले उनलाई सार्‍है चिन्ता परीरह्यो , र आफू जन्मे हुर्केको ठाउँको प्रवर्धन गर्न हुटहुटी जाग्यो।

हाल विभिन्न प्रवर्धनात्मक कार्यक्रम मार्फत दोलखा चम्काउने अभियानमा छन् उनी । खड्का भन्छन्, ‘आफ्नो जन्मथलोको गुन तिर्न जाऔं है दोलखा अभियान सुरु गरेका हौं। अभियानले स्थापित गन्तव्यमा चहलपहल बढाउन र ओझेल परेका गन्तव्य चम्काउन मद्दत पुग्ने आशा छ।’
बधाई तथा शुभकामना अभियान्ता लिलाराम भाइ! नेपाल भ्रमण वर्ष २०२० सँगै ' जाऔं है दोलखा ' अभियानको पनि सफलताको कामना। 

 

हेर्नुहोस् शैलुङका तस्बिरहरू

 

प्रकाशित मिति: Jan 22, 2020 11:11:05

प्रतिक्रिया दिनुहोस