सापकोटालाई सभामुख बनाउने नेकपा सचिवालयकाे निर्णय

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेता अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ।  अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमति अनुसार नेता सापकोटालाई सभामुख बनाउने निर्णय भएको हो। 

आइतबार बिहान सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता  सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो।  प्रधानमन्त्रीसमेत रहेएका अध्यक्ष ओलीले सुवास नेम्वाङलाई सभामुखका लागि अघि सारेको भए पनि अर्का अध्यक्ष प्रचण्डले सभामुख पूर्वमाओवादीबाटै हुनुपर्ने अडान लिएपछि नेता सापकोटाको नाममा सहमति जुटेको हो।  

सापकोटा अध्यक्ष प्रचण्ड निकट हुन्। 

नेकपाबाटै उपसभामुख बनेकी शिवमाया तुम्बाहाङ्फेले पार्टीले सभामुखको उम्मेदवार टुंगो नलगाएसम्म राजीनामा नदिने अडान लिएपछि नेकपालेआज सभामुखको टुंगो लगाउन लागेको हो । 

सभामुखमा तुम्बाहाङ्फेले पनि दाबी गर्दै आएकी थिइन् । तर दुई अध्यक्ष सापकोटालाई सभामुख बनाउन सहमत भएपछि तुम्बाहाङ्फेको दावी व्यर्थ हुने भएको छ। 

नेकपाले सभामुखको उम्मेदवार टुंगो नलाग्दा संसद बैठक एक महिनादेखि लगातार सूचना टाँस गरेर स्थगित हुँदै आएको छ। 

पुस ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशन त्यसपछि बैठक नै नबसी स्थगित हुँदै आएको हो। संसद बैठक सोमबारका लागि पनि तय गरिएको छ।

आइतबार ४ बजे नेकपाको सचिवालय बैठकले सभामुखको उम्मेदवार टुंग्याए सोमबारका लागि तय भएको संसद बैठक आगडी बढ्ने छ। 
 

प्रकाशित मिति: : 2020-01-20 06:48:32

प्रतिकृया दिनुहोस्