अन्ततः तुम्बाहाङफेले दिइन् पदबाट राजीनामा

बिएल संवाददाता

काठमाडाै‌ं

उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी छन्।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको अध्यक्षता गर्दै उपसभामुख तुम्बाहाङ्फेले आफूले राजिनामा दिएकी हुन्।

उनले नेपालको संविधानको धारा ९१ को उपधारा (६)को खण्ड (ख) तथा प्रतिनिधि सभाको नियमावली,२०७५ को नियम २११ को उपनियम (१) बमोजिम प्रतिनिधि सभाको उपसभामुख पदबाट राजीनामा दिएकी हुन्। उनको राजीनामा आजैबाट लागू हुनेछ।

‘प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावा गरेको अवस्थामा सहजिकरणका लागि मैले मार्गप्रसस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न चाहन्छु,’ उनले भनिन्।

उनले घुमाउरो शैलीमा संविधानको मर्म अनुसार नै आफूले सभामुखका पदका लागि दाबी गरेको र त्यसबारे शीर्ष तहमा कुरा राखेको र त्यो अस्वभाविक नभएको दाबी गरिन्।

‘मैले मेरा धारणाहरु सम्बन्धित निकायमा प्रस्तुत गरेकी हुँ। मेरा यी धारणाहरू कुनै अस्वभाविक महत्वकांक्षा या र अनुचित आग्रहबाट प्रेरित थिएनन् भन्ने कुरामा म दृढ छु। यस सम्बन्धि विभिन्न प्रतिक्रियाहरु मैले नजिकबाट नियालिरहेकी छु। समयले यसबारेमा बस्तुनिष्ठ मुल्यांकन गर्नेछ भन्ने मेरो विश्वास छ,’ उनले भनिन्।

अन्यौलपूर्ण अवस्थामा सभामुख पद रिक्त गरेर नहुने भएकाले आफूले भने अनुसार नै मार्गप्रसस्त गर्न लागेको पनि उनले उल्लेख गरिन्। ‘एउटा अप्रत्यासित र अस्वभाविक परिस्थितिका कारण विगत केही समयदेखि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहदै आएको व्यहोरा यहाँहरुलाई अवगत नै छ। सार्वभौम संसदको महत्वपुर्ण अंग प्रतिनिधिसभा लामो समय सभामुख विहिन हुँदा उत्पन्न जटिलता र यसले श्रृजना गरेका समस्याका बारेमा पनि हामी सबै जानकार नै छौ।  यस्तो स्थिति अब कायम रहनु हुँदैन। सभामुख चयनको ठोस आधार तय भएपछि आफूले मार्गप्रसस्त गर्ने भनेर आफुले राख्दै आएका मान्यता संमानित सदन समक्ष अभिलेखित गराउन चाहन्छु।’

उनले संविधानमा लेखिएका कुरालाई व्यवहारमा उतार्ने काम नभएको प्रति गुनासो गरिन्। ‘समावेशी लोकतन्त्र हाम्रो संबैधानिक व्यवस्थाको महत्वपुर्ण विशेषताको रुपमा रहेको छ। संविधानको यो मर्म अक्षर या बचनबाट होइन हाम्रा अभ्यास र आचरणबाट मात्रै कार्यान्वयन हुनसक्छ भन्ने मलाई लाग्छ। राज्यका उच्च ओहदाहरुमा समाजका सबै अंगहरुको प्रतिबिम्ब झल्कन सक्यो भने मात्रै वास्तविक अर्थमा लोकतन्त्र सुदृढ हुन सक्छ भन्ने यथार्थ संग संविधान निर्माणमा अगुवाई गरेका राजनीतिक दल र नेतृत्व वर्ग सहमत हुनुहुनेछ भन्ने मैले आशा लिएको छु,’ उनले भनिन्।

आफूले इमान्दारितापुर्वक कर्तव्य पुरा गर्ने प्रयास गरेको भन्दै उनले कसैले पनि आफ्नो धरातल विर्सन नहुने बताइन्। उनले भनिन्, ‘कसैले पनि आफ्ना जराहरु विर्सन हुन्न र धरातल विर्सन हुन्न र स्वतन्त्रतालाई निरपेक्ष रुपमा बुझ्न हुन्न भन्ने कुरामा म सचेत छु।’

अब संसदको अर्को बैठक दिउँसो ४ बजे बस्नेछ।

सो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले गर्ने भएका छन्। 

त्यसअघि ठाकुरले २ बजे शीतलनिवासमा पुगेर राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा बैठक संचालनका लागि ज्येष्ठ सदस्यको सपथ लिनेछन्।

दिउँसो ४ बजे बस्ने बैठकमार्फत् नयाँ सभामुख चयन प्रक्रिया सुरु हुने भएको छ। सभामुख निर्वाचनको कार्यतालिका बैठकमार्फत् सार्वजनिक गरिनेछ।

प्रकाशित मिति: : 2020-01-21 02:18:27

प्रतिकृया दिनुहोस्