पर्यटन बोर्डमा सिइओ छनोट लम्बियो

पर्यटन बोर्डमा सिइओ छनोट लम्बियो

नेपाल सरकारले भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिसकेको छ। तर, नेपालको पर्यटन प्रवर्द्धनको प्रमुख अभिभारा बोकेको नेपाल पर्यटन बोर्ड भने नेतृत्वबिहीन छ।

शुक्रबार र शनिबार सबै प्रतिस्पर्धीको प्रस्तुतिकरण सकिएको छ। प्रतिस्पर्धी सबैको प्रस्तुतिकरण राम्रो रहेको तर तिनैमध्ये उत्कृष्टताका आधारमा तीन जनालाई सिफारिस गरिसकेको छ।

समितिले तीन जनाको नाम सिफारिस गरे पनि बोर्ड सञ्चालक समितिको बैठक बस्न नसक्दा बोर्डले नयाँ  सिइओ  नपाएको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत मङ्सिर १८ गते विज्ञापन प्रकाशित गरेको थियो । विज्ञापन प्रकाशित भएसँगै १७ जनाले आवेदन दिएका थिए।

त्यसमध्येबाट उपसमितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिकमत सिंह ऐरको नाम छनोट गरेको थियो।

यसबाट छनोट समितिले धनन्जय रेग्मी, दिपक बस्ताकोटी र हिक्मतसिंह ऐरलाई अन्तिम छनोट गर्दै बोर्डको नयाँ कार्यकारी अधिकृत हुन योग्य ठहर्‍याएको छ।

सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित शुरू गरेको भ्रमण वर्ष सफल पार्न अब पर्यटन बोर्डमा सकेसम्म चाँडो योग्य सीईओ ल्याउन जरूरि छ।

सिइओ छनोटका लागि हिजै (आईतबार) बैठक बस्ने भनिए पनि बोर्डको विवाद नमिल्दा आजसम्मलाई सरेको थियो। तर, आज पनि बोर्डमा कुनै छलफल र निर्णय हुन नसकेपछि सिइओ छनोट थप लम्बिने भएको छ।

चार वर्षको कार्यकाल हुने पर्यटन बोर्डको सीईओको सेवा सुविधा तथा तलब आकर्षक हुन्छ। पर्यटन बोर्डले सिईओ छनोट गर्न गठित समितले दिएको अन्तिम सिफारिसबाटै बोर्डले एक जनालाई अन्तिम छनोट गर्नेछ।

विप्लब पौडेल संयोजक रहेको छनोट समितिमा घनश्याम उपाध्याय र कृष्णबहादुर महरा सदस्य छन्।

बोर्डको अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हुन्छन्।

सिईओ नियुक्त भएपछि सरकारी वा गैरसरकारी अन्य जिम्मेवारीबाट मुक्त हुनुपर्ने कानूनी व्यवस्था छ।

पर्यटन बोर्डको सिईओ आकर्षक पद मानिन्छ। देश विदेश भ्रमणको अवसर, आकर्षक टीएडीए, पाँचतारे सुविधा यो पदका आकर्षण हुन्। अहिलेकै अवस्थामा तलव मात्र पनि करिब ४ लाख मासिक हुन्छ।

प्रकाशित मिति: Jan 20, 2020 17:23:49

प्रतिक्रिया दिनुहोस

रक नै जिन्दगी
  • सरिता कार्की
सबै