कुनै बेला कूलतमा फसेका निरञ्जन अहिले नेपाली माैलिक बाजाकाे जगेर्ना गर्दै(भिडियाे)

‘मेरो नाम निरञ्जन परियार। घर कुरिनटार हो’, उनी बोल्दै गए– ‘काम पहिले नै सिकेको, आफन्तबाट।’ 

पूर्वी लम्जुङको कन्दराबाट एकाबिहान निस्किएको म करिब ६ घण्टाको यात्रापछि तनहुँको डुम्रे बजार आइपुगें। सन् २००२ मा पाइला टेकेको पोखरा मेरो लागि एकादेशको शहर जस्तै भइसकेको थियो। त्यसैले यस पालिको नेपाल बसाईंमा केही दिन पोखरामा बिताउने रहर जाग्याे।काठमाडौंबाट मेरो पोखरा भ्रमणलाई थप रोमाञ्चक बनाउन आएका मित्र कुरिनटार नजिक सडक जाममा फसेको खबर आयो । मलाई अनिश्चित समय डुम्रे बजारमै बसेर साथी कुर्नुपर्ने भयो।

हाइवेको कोलाहल र धुलो छल्न डुम्रे बजारको छेउबाटै बग्ने चुंदी खोला किनारातिर ओर्लिए। करिब ३ मिनेटको यात्रापछि सडकको दायाँपट्टिको सानो सटरमा नेपाली मौलिक बाजा दमाहा र टेम्को बनाउँदै गरेका युवातिर मेरा आँखा अडियो।

बजारको मुल सडकमा आधुनिक ब्याण्ड बाजासहित विवाहको जन्ती रमाइरहेका थिए तर यी युवा असिनपसिन हुँदै लोपोन्मुख बाजा बनाउन ब्यस्त देखिन्थे। उनकाे लगावले मलाई उनकाे काम हेर्ने र जान्ने उत्सुकता त पलायो नै त्योभन्दा बढी स्वार्थ थियाे, जाममा फसेका साथी नआउन्जेल टाईम पास गर्न उनीसँग गफिने। 

एक मिनेट जति वरिपरी टहँलिदै ती युवातिर हेरेर साथित्वभाव प्रकट गरे। उनले मेरो प्रयास बुझिरहेका थिए।  

‘आहा! कति राम्रो बनाउनुभएको’, मेरो कुरा सुनेर उनी मन्द मुस्कुराए।

आफ्नो कामप्रति प्रतिबद्ध देखिने उनले नजिकै बस्न आग्रह गरे। सजाएर राखिएका मादल, सारङ्गी र बनाउँदै गरेका दमाहा, ढलकी र टेम्को देखेर उनको कामप्रति सम्मान जागेर आयो। सांस्कृतिक पर्यटनसम्बन्धि अनुसन्धान तथा प्रवद्र्धनमा विशेष अभिरुचि राख्ने मलाई यी युवा प्रेरणाको स्रोत लाग्यो।

‘यिनको कलिलो उमेरमै छिप्पिएको कौशलता र कामप्रतिको लगाव म जस्ता विदेशीएका युवायुवतीलाई गतिलो पाठ हुनसक्छ’, मनमनै सोचेँ। 

साच्चैं उनको नाम सोध्ने फुर्सद बल्ल जुर्याे। 

‘मेरो नाम निरञ्जन परियार। घर कुरिनटार हो’, उनी बोल्दै गए– ‘काम पहिले नै सिकेको, आफन्तबाट।’ 

कुरैकुरामा उनले आफू पढ्न नसकेको र खराब साथीभाईको सँगतले कूलतमा फसेको भन्न भ्याए। ‘बुवाआमाको सुझावले कूलतबाट बाहिरिए,’ कुनै बेला आफू जस्तै कुलतमा फसेका युवालाई सुझाव दिँदै उनले भने, ‘आफ्नो मनलाई बाध्नुहोस्, आफूलाई कुनै न कुनै काममा ब्यस्त बनाउनुस्।’

आफ्नो व्यक्तिगत कुरालाई जोड्दै मैले सोधें, ‘तपाईं जस्ता युवा  दुबई, कतार, मलेशिया, जापान, कोरिया जाने भन्नु हुन्छ। तपाईंलाई जान मन लागेन?’ 

निरञ्जनले मैले सोचेभन्दा पृथक उत्तर दिए, ‘विदेश गएर धेरैको राम्रो होला तर सबैको राम्रो हुन्छ भन्ने छैन। विदेशमा गएर बिजोग हुनुभन्दा शैक्षिक योग्यता नभए पनि सानो इलम गरेर नेपालमै बसेर केही गर्न सकिन्छ जस्तो मलाई लाग्छ।’ 

कुराकानी कै बीचमा मेरो मोबाईलको घण्टी बज्यो। मित्रले आफ्नो बस बिमलनगर कटिसकेको र डुम्रेमा बस चढ्न तयार भएर बस्न सुझाएपछि निरञ्जनसँग बिदा मागेँ। 

पोखरा नपुगुञ्जेल यात्राभरि मन घाेत्लियाे। ‘कूलतबाट बाहिर निस्कन निरञ्जन जस्तै मन बाध्न सक्ने युवा तथा बुवाआमाको सुझाव मनन् गर्न सक्ने युवा भइदिएको भए? कूलतमुक्त समाज बन्न कति बेर नै लाग्दो होला!’ 

आधुनिकतालाई आत्मसाथ गर्दै आफ्नो संस्कृती र मौलिकताको जगेर्ना गर्ने निरञ्जन जस्ता युवा भइदिएको भए विश्वसामू नेपालको पहिचान पुर्याउन कति सहज हुन्थ्यो होला? 

मनमा यस्ता तिर्सना खेलिरहेकाे बेला कति बेला पाेखरा पुगिएछ थाहै भएन। तर, जे हाेस् निरञ्जन परियार जस्ता युवा पुस्ताले देशमै बसेर केही गर्न सकिन्छ भन्ने सन्देश म जस्ता विदेशमा राेजगारी गरिरहेका युवालाई दिन सफल भएका छन्। उनकाे सुखद भविष्यका लागि शुभकामना।
 

प्रकाशित मिति: : 2020-01-24 03:18:29

प्रतिकृया दिनुहोस्