संघर्षमा उत्रनु पर्ने अवस्था सिर्जना भयाे: अध्यक्ष लोहनी

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले जनताको सम्पत्तिमाथि खेलवाड भएकोले जनता संघर्षमा उत्रनु पर्ने अवस्था सिर्जना भएको बताएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै लोहनीले देशमा विकसित बेथिति र भ्रष्टाचारलाई इंगित गर्दै जनताको भूमिका टड्कारो भएको बताएका हुन्। प्रजातन्त्रको मान्यताअनुसार देशको सार्वभौमिकता, शासन व्यवस्थाको आधार जनताको सर्वोच्चतामा निहीत हुने उनले बताए।

‘प्रजातान्त्रिक पद्धतिको यही यथार्थ बुझेर शासनमा बस्नेहरूले काम गर्नु पर्ने हो। तथापि जनताको साधन श्रोत र सम्पत्तिमाथि खेलवाड भएको छ। त्यसकाविरुद्धमा जनता आफैँ उत्रनु पर्छ भन्ने चिन्तन आजको आवश्यकता भएको हो,’ सन्देशमा उनले भनेका छन्।

लोहनीले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रतालाई थप सुदृढ गर्दै देशलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरेका छन्।

उनले भने, ‘ऐतिहासिक जनआन्दोलनमार्फत सार्वभौम नेपाली जनताले फागुन ७ गते राणा शासन ढालेर प्रजातन्त्र स्थापना गरेको गौरवपूर्ण र अविस्मरणीय दिन हो।’

प्रकाशित मिति: : 2020-02-20 05:54:01

प्रतिकृया दिनुहोस्