ललिता निवास जग्गा प्रकरणः ऋण उठाउन बैंकलाई केन्द्रीय बैंकको ताकेता

कुन बैंकबाट कसले कति ऋण लिए, कति तिर्न बाँकी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अपचलन प्रकरणमा १७५ जनाविरुद्ध मुद्दा दायर गरेसँगै अन्य सरकारी र निजी निकाय पनि तातेका छन्।

यसैबीच सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल राष्ट्र बैंकले पनि यो प्रकरणमा अनुसन्धान अघि बढाएका छन्। नेपाल राष्ट्र बैंकले बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा राखेर निकालिएको ऋणको विवरण बुझ्‍न र रकम असुल गर्न २७ वटै वाणिज्य बैंकलाई पत्राचार गरेको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न बैंकबाट ललिता निवासको जग्गा धितोमा राखेर २ अर्ब ६४ करोड रूपैयाँ ऋण लिएको र सो रकम फिर्ता गराउन नेपाल राष्ट्र बैकलाई पत्राचार गरेको थियो।

अख्तियारले पत्राचार गरेको केही समयपछि राष्ट्र बैंकले उक्त जग्गा धितोमा राखेर ऋण दिने बैंकलाई पत्राचार गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा धितोमा बैंकहरुले कर्जा दिएका बैंकहरुलाई  कारवाही गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको थियो। ‘प्रस्तुत मुद्दासँग सम्बन्धित ललिता निवास क्याम्पभित्रका सरकारी, सार्वजनिक जग्गाहरु व्यक्ति विशेषको नामबाट २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १ सय २५ रुपैयाँभन्दा बढीको धितो पारित भई विभिन्‍न बैंक तथा वित्तीय संस्थाहरुबाट अर्बौको कर्जा प्रवाह भएको देखिएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थामा रहेको सर्वसाधारणको अर्बौको  निक्षेप सुरक्षण गर्ने समेतको प्रयोजनका लागि कानुन बमोजिम आवश्यक कारबाही गर्नको लागि नेपाल राष्ट्र बैंकलाई लेखी पठाउने,’ अख्तियारको निर्णयमा भनिएको छ। सोही अनुसार पत्र आएको राष्ट्र बैंकले जनाएको छ।

यसैबीच राष्ट्रबैकले २७ वटै वाणिज्य बैंक र विकास बैंकलाई उक्त जग्गा धरौटी राखेर दिएको ऋण बारे जानकारी माग्दा १३ बाणिज्य बैंक र ३ विकास बैंकले ललिता निवासको जग्गा धितोमा लिएर २ अर्ब ५ करोड ५२ लाख ३२ हजार ६५२ रुपैयाँ ऋण दिएको र त्यसमा १ अर्ब ९ करोड ९६ लाख ५७ हजार ७८६ रुपैयाँ उठ्न बाँकी रहेको प्रतिवेदन राष्ट्र बैंकले तयार पारेको छ ।

राष्ट्र बैंकका अनुसार ललिता निवासको जग्गा धितोमा राखेर एस ओ एस म्यानपावरका हेमबहादुर गुरूङले १ करोड ६५ लाख रकम लिएको र उक्त रकम फिर्ता गरेको बताइएको छ।

त्यसैगरी महालक्ष्मी विकास बैंकबाट ऋण लिएका नविन पौडेलले पनि ४९ लाख ९० हजार ऋण तिरिसकेका छन्।

सबैभन्दा बढी ऋण लिनेमा कन्टिनेन्ट ट्रेडिङ रहेको छ। यो बिजनेस ग्रुपको तर्फबाट पुरूषोत्तम पौडेलको नाममा नेपाल इन्भेस्टमेन्ट बैंकले १ अर्ब १७ करोड ८० लाख रुपैयाँ ऋण दिएको राष्ट्र बैंकले विवरण फेला पारेको छ।

त्यसमा केही तिरे पनि अझै ४९ करोड ७७ लाख १० हजार तिर्न बाँकी रहेको बताइएको छ।

त्यस्तै सिभिल बैंकले मन्ती गोर्खालीको नाममा २९ करोड १ लाख ३२ हजार ७१७ रुपैयाँ दिएको छ। गोर्खालीले २२ करोड ३० लाख ५९ हजार ३८१ रुपैयाँ तिर्न बाँकी छ।

त्यसैगरि हिमालय बैंकले संगीता कोठारीको नाममा १३ करोड रुपैयाँ ऋण दिएको छ। कोठारीले ९ करोड ६६ लाख ९४ हजार तिर्न बाँकी छ। प्रभु बैंकले भाटभटेनी सुपर स्टोर्सको नाममा १२ करोड दिएकोमा ५ करोड २३ लाख रुपैयाँ उठाउन बाँकी छ।

सिटिजन बैंकले नयेन्द्र थापा, रामचन्द्र कार्की, बाबा देउजा र साहिल अग्रवालको नाममा ५ करोड ८७ लाख ४९ हजार रुपैयाँ दिएको छ। यसमध्ये सिटिजनले ४ करोड १६ लाख ४९ हजार २ सय ५३ उठाउन बाँकी छ ।

त्यस्तै लक्ष्मी बैंकले भाटभटेनी सुपर स्टोर्सको नाममा ४ करोड ऋण दिएकोमा ६८ लाख ४९ हजार ४९३ उठाउन बाँकी रहेको छ।

ग्लोबल आइएमई बैंकले उमाकुमारी ढकाललाई ३ करोड ७५ लाख ऋण दिएकोमा ३ लाख ७४ लाख २५ हजार २०२ उठाउन बाँकी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्राइम कमर्शियल बैंकले सोहितु नेपाललाई ४ करोड २ लाख ऋण दिएकोमा उनीबाट १ करोड ७८ लाख ६५ हजार ५७१ रुपैयाँ उठाउन बाँकी छ।

त्यस्तै एनआईसी एशियाले अटो ट्रेडिङ्गलाई दिएको ४ करोड ५० लाख ऋणमध्ये ३ करोड ९५ लाख ९४ हजार रुपैयाँ उठाउन बाँकी छ ।

एनसीसी बैंकले जीवनकुमार प्रसाईं, नारायण पोखरेल, खिमानन्द भट्टराई, विष्णु केसी, आशा पौडेललाई ४ करोड ७२ लाख ५० हजार रुपैयाँ ऋण दिएको छ । बैंकले पाँच जनाबाट अझै ३ करोड ६७ लाख २६ हजार ३७३ रुपैयाँ उठाउन बाँकी छ।

सरकारी बैंक नेपाल बैंकले भारती पाण्डेलाई २५ लाख ऋण दिएकोमा २० लाख ४७ हजार २४४ रुपैयाँ उठाउन बाँकी छ। त्यस्तै माछापुच्छ्रे बैंकले विना तामाङ र कमला तामाङलाई २ करोड ७४ लाख ऋण दिएको छ।

बैंकले २ जनाबाट २ करोड ५७ लाख ३६ हजार २३० रुपैयाँ उठाउन बाँकी छ ।

त्यस्तै कैलाश विकास बैंकले ओम विरमान ताम्राकारलाई ७५ लाख दिएकोमा ७५ लाख नै उठाउन बाँकी रहेको छ। महालक्ष्मी विकास बैंकमार्फत उमाकुमारी ढकाललाई दिएको ९२ लाखमा ९२ लाख नै उठाउन बाँकी छ।

त्यसैगरि देव विकास बैंकले नूतन श्रेष्ठलाई दिएको ३ लाख १० हजार ९३५ रुपैयाँ ऋण दिएकोमा पुरै रकम उठाउन बाँकी छ।

राष्ट्र बैंकले उठाउनुपर्ने ऋण रकमका लागि ऋणीबाट छिटो रकम उठाउन र नयाँ धितो माग्न निर्देशनसमेत दिइसकेको छ।

यसैबीच १७५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको दुई साता नबित्दै उक्त विषयमा ठगीसम्बन्धी छानबिन पनि सुरु भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ।

आयोगले कुल ११० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो। र प्रतिवादीको अनुपस्थितिमै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते पूर्व उपप्रधामन्त्री विजय गच्छदारसहित ११० जनालाई बिगो र कैद तथा ६५ जनाविरुद्ध जग्गा फिर्ताको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

प्रकाशित मिति: : 2020-02-20 11:22:48

प्रतिकृया दिनुहोस्