दलित भएकै कारण सुन चोरीको आरोप भोगेकी सपना (भिडियो)

जीवन दुःखै दुःखको चाङ हो। यो मान्नेहरूका लागि सपना परियारको जीवन हरेक प्रकारले ठ्याक्क मिल्न जान्छ। २२ वर्षको उमेरमा उनले अनगिन्ति दुःख भोगिसकेकी छिन्। तर, आफू दलित भएकै आधारमा समाजबाट हेपिनु परेको नमिठो अनुभव उनीसँग छ। दलित भएकै कारण उनले चोरीको आरोपसमेत खेप्नु पर्‍यो। 

सपना परियारको जन्म धादिङको सलेनटारमा भएको हो। उनी एक वर्षको हुँदा बुवाले आमालाई छोडेका थिए। 

यसपछि परिवारको बिचल्ली भयो। तर, आमाले छोराछोरी हुर्काउन दोस्रो विवाह गरिनन्। गाउँले नै उनीहरूको दुःख देखेपछि सपनालाई पढाउन ७ वर्षको हुँदा काठमाडौं पठाएका थिए। 

सपनाले अनाथ आश्रममा बसेर अध्ययन गरेकी हुन्। उनलाई काठमाडौंमा खान, बस्न र पढ्न कुनै दुःख भएन। ‘बुद्धिस्ट चाइल्ड होम’ अनाथ आश्रममा बसोबास गर्दा उनले एसएलसीसम्मको अध्ययन विद्यासागर इंग्लिस स्कुलबाट गरिन्। 

उनको पढाई राम्रो थियो। काठमाडौंबाट २०६४ सालमा एसएलसी परीक्षा उत्तिर्ण गरेपछि दश जोड दुईको अध्ययन गाउँकै क्याम्पसबाट गरिन्। 
धादिङबाट उच्च माध्यमिकस्तरको अध्ययन पुरा गरेपछि कामकै सिलसिलामा २०६८ सालमा पुनः काठमाडौं प्रवेश गरिन्। यति बेला उनको डेरा थियो, जोरपाटीमा।

उनी हरेक दिन कामको खोजीमा साथीसँग गाडी चढेर शहर पुग्थिन्। यही क्रममा एकजना बस चालक सुवास सदा शंकरले उनलाई मन पराए। सुवास निकै छिटा थिए। उनले सपनालाई देखेको केही दिनमै प्रेम प्रस्ताव गरिहाले। उनले थुप्रै पल्ट सपनासँग मोबाइल नम्बर पनि मागेका रहेछन्। तर, डरले उनले नम्बर दिइनन्। उनले नदिए पनि के गर्ने? साथीहरूले च्वाइँ हालेछन्। 

एकदिन सुवासले फोनबाटै उनलाई भेट्न बोलाएछन्। सपनाले स्विकार गरिनन्। यसपछि सुवासले धम्की दिएछन्–‘भेट्न आएनौ भने बस दुर्घटना गरेर आत्महत्या गर्छु।’

यो सुनेर डराएकी सपना केही दिनपछि सुवासलाई भेट्न जोरपाटीस्थित उनकै घर पुगिन्। सुवासको दिमागमा भने अर्के योजना चलिरहेको रहेछ। जति नै गल्फत्ति गर्दा पनि सपनालाई पाउने आशा नदेखेपछि सुवासले आफ्नै डेरामा थुनेर राखे। सबैसँग विवाह गरेको हल्ला चलाए। सबैले जिस्क्याउन थाले। सपनाले बाध्यताले विवाह गर्नु पर्यो। 

‘अहिले म उनीसँग खुसी छु। उनलाई स्विकार गर्न मलाई ३ महिना लाग्यो,’ सपनाले विगत सुनाइन्। सपनाको थरमा सदा शंकर जोडिएको २०७० मा साल हो। 

सुवासको घर भैसेपाटी हो। उनी परिवारका कान्छा सदस्य हुन्। विवाहपछि श्रीमानले उनलाई काम गर्न दिएनन्। घरको काम गर्थिन्। सुवासको आम्दानी पनि राम्रो थियो। खान, लगाउन कुनै दुःख थिएन। 

विवाहको केही वर्षभित्रै छोरीको जन्म भयो। सपना र सुवासले आफ्नो नाम जोडेर छोरीको नाम राखे, शिखा। 

घरको खर्च बढ्न थाल्यो। यसपछि सपनालाई यत्तिकै घर बस्न मन लागेन। उनले पनि काम खोजिन् र २०७३ सालमा स्थानीय बालबाटिका सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलमा काम गर्न थालिन्। 

हाल उनी आफ्नो छोरीलाई पनि सोही स्कुलमा पढाउँछिन्। उनलाई केही कुराको कमि थिएन। बुढाबुढी दुबै काम गर्थे। आनन्दको जीवन चलिरहेको थियो। तर, उनलाई कथित उपल्लो भन्ने समाजले सधै चिमटिरह्यो। 

आफूसँगै डेरा गरेर बस्ने ४८ वर्षीय हस्तमाया श्रेष्ठले जातकै कारण उनलाई सधै हेप्ने गर्थिन्। नम्र स्वभावकी सपनालाई जातका कारण आफू हेपिनु परेको राम्रोसँग थाहा थियो। तर, उनले धैर्यता गुमाएकी थिइनन्। एकदिन हस्तमायाले उनको कोठाको दलानमै पानी पोखेर गएपछि उनको धैर्यताको बाध फुट्यो। उनले प्रश्न गरिन्, ‘किन मेरो आगनमा पानी फ्याँकिदिनु भयो?’

हस्तमाया नाजवाफ भएपछि गालीगलौजमा उत्रिइन्। उनले कामी–दमाई भन्दै सपनालाई बेइज्जत गर्न थालिन्। दुबैबीच घम्साघम्सी भयो। 

सपनालाई लागेको थियो, जातका कारण बर्षोदेखि आफूविरूद्ध दुर्ब्यवहार गरेकी हस्तमायाविरूद्ध विद्रोह गरेपछि अब यो कुरा साम्य हुन्छ। 

उनले पढ्दा सिकेकी थिइन, जातका कारण दबिएर बस्नु हुन्न। तर, उनको धैर्यतालाई हस्तमायाले कमजोरी ठानिछिन्। त्यसैले उनको ज्यादती दिनहुँ बढ्दो थियो। 

तर, सपनाले सोचे जस्तो भएन। हस्तमाया प्रहरी कहाँ उजुरी हाल्न पुगिछिन्–सपनाविरूद्ध सुन चोरीको आरोप लगाउँदै। 

उनलाई जोरपाटी र बौद्ध प्रहरी कहाँ उभ्याइयो। उनले आफू काम गरेर खाने कुरामा विश्वास गर्छु भन्दै कैयौं दृष्टान्त सुनाइन्। तर, पुलिसले दलित भएकै कारण कुनै प्रमाण बिना उनलाई सुन चोरीको आरोपित मान्दै क्षतिपूर्ति दिन उर्दी लगायो। 

उनलाई प्रहरीबाट न्याय पाउने कुरामा विश्वास उठ्यो। यसपछि उनी राष्ट्रिय दलित आयोगमा उजुरी हाल्न पुगिन्। 

‘यहाँ भने मलाई न्याय मिल्यो। दलित भएकै कारण मलाई चोर प्रमाणित गर्ने काम भयो’, उनले भनिन्–‘हेर्नुस संविधानले छुवाछुत र जातीय विभेद गर्न नपाउने नियम बनाएको छ। तर, समाजमा भेदभाव कति व्याप्त छ? देशको राजधानीमा त हामी जस्ता मानिस सुरक्षित छैनौं भने बाहिरको अवस्था के होला?’

उनी पढेर भन्दा परेर चेत आउने बताउँछिन्। त्यसैले उनी जातीय भेदभाव नसहन सबैसँग आग्रह गर्छिन्। ‘मलाई जस्तै कसैलाई जातकै कारण गाह्रो परेको छ भने आवाज उठाउनु होस्। नबोलेसम्म अधिकार पाइनन्,’ उनले भनिन्। 

उनले आफ्नो यो अभियानमा शिक्षिका सबिना मगरले साथ दिएको सुनाइन्। र, उनी सबिनालाई आफ्नो सच्चा साथी मान्छिन्। 

उनको पनि आम नेपाली जस्तै काठमाडौंमा एउटा घर बनाउने सपना छ। यसका लागि उनले पैसा बचतको अभियान अहिलेदेखि नै सुरु गरिसकेकी छिन्। अब हेरौं सपनाको राजधानीमा घर बनाउने सपना कहिले बिपनामा परिणत होला?
 

प्रकाशित मिति: : 2020-02-22 02:05:00

प्रतिकृया दिनुहोस्