‘म हराएको होइन, मेरा लागि समय नै गलत थियो’

तीन वर्षपछिको कमब्याक सार्थक बनाउनेछु

अनलाइनखबर

काठमाडाै‌ं

क्रिकेट, क्रिकेट अनि क्रिकेट । अहिलेसम्म मेरो जीवन नै यही हो । आजको दिनमा म जे छु, जहाँ छु, यही क्रिकेटले गर्दा नै छु जस्तो लाग्छ ।

सन् २००७ मा यू–१५ देखि नेपालको लागि खेल्न थालेको मैले विभिन्न उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म खेलेँ । जीवनमा उतारचढाव आए पनि क्रिकेटलाई मैले कहिल्यै छाडिनँ । झण्डै तीन वर्षपछि फेरि राष्ट्रिय टिममा कमब्याक गरेको छु । यो बीचमा कति पीडा भएको थियो, त्यो मलाई मात्र थाहा छ । त्यसैले कसरी राम्रो प्रदर्शन गर्न सकिन्छ भनेर पूर्ण रुपमा तयार भएर आएको छु ।

तीन वर्ष म राष्ट्रिय टिममा पर्न सकिनँ । यसको अर्थ हरायो भन्ने चाहिँ होइन । भुवन कार्कीले क्रिकेट छाड्न सक्दैन । त्यो त जीवनको अन्तिम दिन नै छोडिन्छ किनकी क्रिकेट मेरो रगतमै छ जस्तो लाग्छ । तर समय सधैँ एकनासको नहुँदो रहेछ । राम्रो गर्दागर्दै पनि टिममा शक्ति दाइ, बसन्त दाइहरु भएको र टिमको कम्बिनेसनले गर्दा भित्र–बाहिर भइरहेँ । मेरो पालो आएका बेला चाहिँ पारिवारिक समस्याले खेल्न पाइनँ ।

पछिल्लोपटक मैले सन् २०१७ मा एसीसी इमर्जिङ टिम्स कप खेलेको थिएँ । त्यसपछि छोरा जन्मियो । चोटले पनि केही समय बाहिर भएँ । एक वर्ष अभ्यास त गरेँ तर खासै क्रिकेट खेलिनँ ।

तर म हार त मान्नेवाला थिइनँ । एक न एक दिन अवसर पक्कै पाउँछु र अनि फाइट गर्छु भन्ने थियो । अहिले अवसर पाएको छु । एसीसी इस्टर्न रिजन टी–२० को लागि टिममा कमब्याक गरेको छु । यो मेरा लागि गोल्डेन चान्स हो । अब यसमा मेलै आफूलाई प्रमाणित गर्नु छ । पाएको अवसर खेर जान दिन्न । यो ३ वर्ष मैले कसरी बिताएको छु भन्ने देखाउनु छ ।

 

प्रकाशित मिति: : 2020-02-22 02:24:09

प्रतिकृया दिनुहोस्