आइतबार, १७ अगस्ट २०२५

ललिता निवास जग्गा प्रकरण: हामफालेर आत्महत्या गरेका नासुलाई उपस्थित हुन १५ दिने म्याद

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं
News Image
• • •

बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले प्रतिवादीहरुलाई अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २२ माघमा दर्ता गरेको आरोपपत्रमा प्रतिवादी बनाएका १७५ विरुद्ध अदालतले १५ दिने म्याद जारी गर्न शुरु गरेको हो।

विशेष अदालतले मालपोत कार्यालय डिल्लीबजारका तात्कालिन नासु युक्तप्रसाद श्रेष्ठको नाममा म्याद जारी गरिसकेको छ। तर प्रहरीकाअनुसार श्रेष्ठले गत साउनमा बालाजुस्थित हिमालयन सिटी सेन्टरको सातौं तलाबाट हामफालेर आत्महत्या गरेका थिए।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति, पर्वतका नेता समेत रहेका श्रेष्ठमाथि अदुअआले २ करोड २९ लाख ५७ हजार ४०० विगो माग गरेको छ। उनलाई साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १३ र ६, भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८, ५ र १७ अनुसार कारवाहीको माग समेत गरिएको छ।

यता अदालतले भूमिसुधार तथा व्यवस्था विभागका पूर्वनिर्देशकत्रय पुष्पराज उपाध्याय, रुद्रकुमार श्रेठ र मुकुन्द आचार्य, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुखद्वय टीकाराम घिमिरे र कलाधर देउजा, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम, नायब सुब्बा टिकाबहादुर बिसी, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनी, खरिदार जीवनाथ पोखरेल, समरजङ्ग कम्पनीका पूर्व प्रमुख अर्जुनप्रसाद भण्डारी र नासु श्रीहरी पुडासैनीका नाममा पनि म्याद जारी गरिसकेको छ।

भ्रष्टाचार निवारण ऐनमा एक करोड भन्दा बढी भ्रष्टाचार गर्नेलाई आठ वर्षदेखि दश वर्षसम्म कैद सजायको व्यवस्था छ। 
 

शनिबार, फाल्गुण १०, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)