दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दोब्बर, नेपाली कामदार अन्यौलमा

दक्षिण कोरियामा एकै दिनमा कोरोना भाइरस संक्रमण पुष्टि भएका मानिसको संख्या दुई गुणाले बढेपछि त्यहाँ बस्ने नेपाली कामदार बिचल्लीमा परेका छन् । रोल्पाबाट राेजगारीका लागि काेरिया पुगेका नेपाली कामदार सुन्दर घर्तिमगर काम छाेडेर कहाँ जाने भन्ने चिन्तामा छन्, यति बेला।

यस्तै, छनान् क्षेत्रमा कार्यरत सावित्री बोगटीले कोरोना भाईरसको कारण आफू काम गर्ने कम्पनि बन्द भएकोले अलपत्र परेको बताइन्। यसैगरी कोरियामै रहेका कमल अर्याल थेगु क्षेत्रमा कोरोनाको संक्रमण बढी भएकोले आफू निकै तनावमा रहेको बताए।

कोरियामा ई ९ तथा ई १० भिसा अवधि सकेर अबैध बसेकाकाे हकमा सरकारले भिसा सकेको ५० दिनसम्म भिसा थपको लागि आवेदन दिएका कामदारलाई विनारोकतोक भिसा थप्न सहज गरेकाे छ। 

यसैगरी हिडडुल गर्दा संक्रमित संख्या बढ्न सक्ने हुनाले सम्पुर्ण ई ९ , ई १० तथा विदेशी विद्यार्थिले पनि अनलाईन आवेदन दिई भिसा अवधि बढाउन सक्ने भएका छन्। कोरोना भाईरसको व्यापक संक्रमण सँगै कोरिया जाने विदेशी श्रमिकको संख्या एक्कासी घट्न थालेकाे कारण काेरियाली सरकारले यो रणनीति अपनाएको देखिन्छ। 

यसैगरी कोरोना भाईरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेका विदेशीले समेत सार्वजनिक स्वास्थ्य संस्थामा गई चेकजाँच तथा उपचार गराउन र सोको क्रममा पक्राउ नगर्ने, स्वदेश नर्फकाउने र विरामीको कानुनी हैसियतबारे नसोध्न अस्पताललाई कोरियाली अध्यागमन विभागले निर्देशन दिएको छ। 

स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोना भाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरेको टिप्पणी गरेका छन्। अधिकांश नयाँ बिरामीको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर थेगुसँग भएको अधिकारीहरूले बताएका छन्।

 त्यहाँ मृतकको संख्या बढ्न सक्ने त्रास फैलिएको छ। थेगु र नजिकै अवस्थित चेओङ्दाेलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ। 

कोरियाको थेगु शहरमा करिब ६० वर्षकी महिला एकै दिनमा ४ वटा चर्चमा प्रार्थनाको लागि जाँदा उनीबाट चर्चमा उपस्थित व्यक्तिमा कोरोना भाईरसको संक्रमण व्यापक फैलिएको हो। सोहि चर्चमा गएका मानिसहरुबाटै अन्यमा पनि संक्रमण फैलिएको बताइएको छ। 

संक्रमणले महामारीको रुप लिन  थालेपछि कोरियाको थेगु शहर सुनसान जस्तै बन्न थालेको छ l मानिस घर बाहिर निस्किन छाडेपछि रेस्टुरेन्ट तथा व्यापारिक केन्द्र सुनसान बन्न थालेका हुन् l

संक्रमण थप फैलिन नदिन स्थानीय प्रशासनले थेगु शहर तथा आसपासका क्षेत्रमा बस्ने २५ लाख मानिसलाई घर भित्रै बस्न कडा निर्देशन जारी गरेको छl

यसैबीच चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोना भाइरस संक्रमणका घटनाले अवस्थालाई थप चिन्तित तुल्याएको विश्व स्वास्थ्य संगठनका प्रमुखले बताएका छन्। उनले कोरोना भाइरस नियन्त्रण गर्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिएका छन् ।

चीनमा अहिलेसम्म ७६ हजार २ सय ८८ जनामा संक्रमण भएको र दुई हजार ३४५ जनाको मृत्यु भएको पुष्टि भएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर २६ देशमा एक हजार २ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको र शनिबारसम्म आठ जनाको मृत्यु भएको छ।

आईतबार बिहानसम्मको तथ्याङ्क अनुसार ५ सय ५६ व्यक्तिमा कोभिड–१९ भनिने कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या ४ पुगेको छ। 

प्रकाशित मिति: : 2020-02-23 22:49:44

प्रतिकृया दिनुहोस्