‘ह्युमन कम्प्युटर’ जोनसनको निधन

एजेन्सी

काठमाडाै‌ं

नासाकी वैज्ञानिक क्याथरिन जोनसनको निधन भएको छ। अफ्रिकी–अमेरिकी गणितज्ञ जोनसनको १०१ वर्षको उमेरमा सोमबार निधन भएको हाे।

जोनसनले सन् १९५२ मा नेसनल एडभाइजरी कमिटी फर एरोनटिक्स (नाका)मा काम गरेकी थिइन्। उनलाई जोन ग्लेनको ‘मिसन इनटू अर्बिट’को प्रोग्राममा अत्यन्तै छिटो नासा कम्प्युटरको क्याल्कुलेसन भेरिफाई गर्ने व्यक्तिको रुपमा पनि चिनिन्छ। सोही कारण उनलाई नासाका सहकर्मीहरुले ‘ह्युमन कम्प्युटर’ समेत भन्ने गरेका थिए।

सन् १९६१ मा ‘एलान सेफर्ड्स फ्रिडम ७ मिसन’ अन्तर्गत ट्राजेक्टरी एनालाइसिसमा उनको योगदान रहेको थियो। सो मिसनमार्फत नै पहिलो पटक अमेरिकी नागरिक अन्तरिक्षमा पुगेका थिए।

सन् २०१६ मा प्रकाशित मार्गोट ली शेटर्लीको पुस्तक ‘हिडन फिगर्स’मा जोनसनको जीवनकथा तथा उनले गरेका कामहरु समावेश गरिएको छ। सोही शीर्षकको फिल्म समेत बनको छ। उनलाई वैज्ञानिक तथा गणितज्ञ मात्रै नभई अन्तरिक्ष अनुसन्धान क्षेत्रमा रंगभेद तोड्ने व्यक्तित्वको रुपमा पनि चिनिन्छ।

प्रकाशित मिति: : 2020-02-26 03:56:49

प्रतिकृया दिनुहोस्