‘मासाला बाहुन’ भन्दै होच्याइएका ती दिन

‘मासाला बाहुन’ भन्दै होच्याइएका ती दिन

तपाई सोच्चुहोला, यस्तो शीर्षक राखेर के गर्न खोजेको? अनि शीर्षक देख्दै कन्सरो तातिएला। तर प्रिय पाठक! म यहाँलाई धैर्य गर्न आग्रह गर्छु। कम्तिमा यो बाल्यकालको कथा नसकिउन्जेलसम्मका लागि।

बाल्यकाल सबैको लागि प्रिय छ। अनि आत्मीय पनि। मान्छे जन्मिदा स्वतन्त्र भएर जन्मिन्छ। स्वतन्त्रता बाल्यकालसम्म पनि आफ्नो काबुमा रहिरहन्छ। विस्तारै स्वतन्त्रता खोसिदै जान्छ। मान्छे बाँधिदै जान्छ। 

स्वतन्त्र बाल्यकालको वर्णन जति गरे पनि पुग्दैन। अर्थात बाल्यकाल अवर्णीय छ। जसरी कर्णालीमा बगेको पानी यतिउति भन्न सकिदैन।त्यसैगरी बाल्यकालको पनि वर्णन हुन सक्दैन। उ बेला कुनै कुराको प्रवाह थिएन। केवल हाँसखेल बाहेक। त्यसैले गुडिरह्यो बाल्यकालको पैया। यत्ति कै युगकवि सिद्धिचरण श्रेष्ठले लखेनन् हाेला, ‘मेरो प्यारो ओखलढुंगा’। सायद उनलाई जीवनभर लोभ लागिरह्यो, शैश्वकालकाे। 

बाबु, आमा लगीको (बालीघरे प्रथा अनुसार) घर काम गर्न जाँदा पाथरखोलेको बन्चरोफाले जस्ता (जुम्लाको पाथरखोलाका मान्छे जुन जंगलमा काम गर्न गयो उतै बन्चरो फालेर आउँछन् भन्ने प्रचलित भनाई) बेखबर हामी केटाकेटीका बालोद्यान केन्द्र भनेकै बाटो, दोबाटो थिए।

सुन्दर हुनु भनेको धुलो, माटो खेल्नु थियो। धुलो, माटो नै हाम्रा बेबी क्रिम र पाउडर थिए। यो दैनिकीले हामीलाई घरबारे चेतनावाल बनाएको थियो। हामी घरबार खेल्थ्यौं। खेल्दाखेल्दै ठडिन्थे ढुंगा, माटाका दुईतले घर। भलै हामी त्यसमा अटाउँदैनथ्यौं। र पनि त्यहीँ हुन्थ्यो,सिंगो जीवन चक्रको अभिनय।

खासमा हामी बाल्यकालमै कलाकार भइसकेका रहेछौं। घर बनाउनु कला थियो। अभिनय गर्नु कलाकारिता। बुझ्दै जाँदा कलाकारिता हाम्रो रगतमै मिसिएर आएको रहेछ। शिल्प सभ्यताको विकास त्यसरी नै भएको भएको हो भन्नलाई कुनै हिचकिचाहट भएन। 

सत्ता फेरिएसँगै शासकले फेर्ने रंग छोपारोको जस्तै हुँदा कामदार वर्ग टाठाबाठाका सेबकभन्दा माथि उठ्न सकेनन्। त्यसैले चेतनाको विकाससँगै हामी कथित दलित थियौं। तल्लो जात, हाम्रो परिचय थियो। 

परिचय स्वरुप मिलेको तल्लो जातको भारीमा अपमान र घृणाको डोको, नाम्लो बाहेक केहि हात लागेन। फाटेपछि फेरिने नयाँ डोको, नाम्लोले पनि परिचय बदल्न नसकेपछि वितेका हरेक युगले निरिह बनाइरह्यो। यो निरिहताको शृंखला हालसम्म पनि चलिरहेको छ। 

स्कुल जाने बेलासम्म थाहा भइसकेको थियो म को हुँ भन्ने? पूर्खाहरु जन्मिदै अछुतको ट्याग लगाएको थियो होला र त हामी अछुत भएर जन्मिएका छौं। स्कुलमा साथिदेखि मास्टरसम्मले नछुने गरेको तितो अनुभूति छ। यी घटनाले आफ्नै पितापूर्खादेखि वाक्क लाग्ने बनायो।सुरुमा रिस उठ्थ्यो, आफ्नै पूर्खासित। बुढाहरु किन अछुत भएर जन्मिए ? यी बुढाकै कारण हामी छुवाछुत खेपिरहेका छौं। 

पछि मात्र थाहा भयो कि अछुतको ट्याग धेरै पछाडि केही टाठाबाठाले मनुवादको आडमा संस्कृतिको हिन्दुकरण गर्दा लगाएका रहेछन्। मनुवादले कला, सीप र आविस्कारको भकारीमा ताला पट्काएर अदृश्य शक्तिको आडमा शासन गर्दा एउटा समुदायको आर्थिक समाजिक र राजनीतिक स्थिति खराब भएपनि सिंगो समाज र राज्य समुद्रमा अट्किएको बीना फ्युलवाला जहाज झैं हुन पुग्यो।यता न उताको स्थितिमा।

जहाजमा फ्युल हाल्न आइपुगेका थिए, माओवादी। युद्ध गरिरकेको शक्तिसित त्रसित थिए,शासकहरु। हामीलाई पनि तर्साइएको थियो। माओवादी कार्यकर्ताले हामीलाई चाँडै कन्भिन्स गर्न सके। उनीहरु हाम्रा मित्र भए। उनीहरुसँगको मित्रताले मान्छे एकै हो भन्ने सिकायो। भलै अहिलेका माओवादी कार्यकर्ताहरु त्यस्ता छैनन्। 

उनीहरु(कार्यकर्ताका)का दिमाग भुट्ने पनि ‘समाज फुटाउ र राज गर’ मानसिकतावाला नै रहेछन्। भाग नपाएका भाग पाउन र सत्ता हत्याउनलाई केवल भर्‍याङ मात्र बनाउँदा रहेछन्। समय बलवन छ। सबै घाम झैं छर्लंग पारिदियो।

अहिलेका माओवादीले जेसुकै गरुन। बाल भएन। तर हाम्रो चेतनाको मुल त फुटिसकेको थियो। हामी विभेद् नसहने, प्रतिकार गर्न सक्ने र प्रश्न गर्न सक्ने भएका थियौं। हुन त उनीहरुभन्दा पहिला आफूलाई खाँटी क्रान्तिकारी भन्ने पनि थिए। तर उनीहरुले न्याय र समानताको आवाजलाई घरघरमा पुर्‍याउन सकेनन्।

त्यसैले जस माओवादीहरुले नै पाए। तर जनतासँग जुन बाचा गरिएको थियो त्यही अनुरुप संघर्षलाई उचाईंमा पुगाउन नसक्दा उनीहरु स्खलित भए। त्यसैको परिणाम हो आजको सत्ता, सत्ता साझेदारी अनि राजनीति।

चेतनाबाट पछि हट्ने कुरै थिएन। सत्तालाई गरिएको प्रश्न फिर्ता लिन सकिदैन थियो। नेताहरुको बोलीको ठेगान नभए पनि जनताको तहबाट बेठेगान सम्भव भएन। यदि किसान र मजदुर पनि उस्तै हुन् गए भने कसैको मुखमा माड पस्दैन। 

परिणाम हामी स्कुलमा अन्याएको विरुद्ध आवाज उठाउन सक्ने भयौं। माओवादी युद्ध चलिरहेकै थियो। हामी प्रश्न गरिरहेका थियौं। सुरुमा केही विरायो या चित्त बुझेन भने कथित माथिल्लो जातकाले ओकल्ने पहिलो शब्द हुन्थ्यो, ‘डुम,’ वा ‘डुमीनी’। तर माओवादीले यसरी होच्याएर बोल्न नपाइने उर्दी जारी गरेका थिए। भनिहाले कारवाही गर्ने चेतावनी दिएका थिए। भन्नेहरुमा डर पलाएको थियो। सबैले सबैको घरमा जान पाउनुपर्ने आवाज घनिभुत भइरहेको थियो।

यद्यपि बजार नजिकका बाहुन, क्षेत्रीहरु होच्याउने आट गर्थे। पुरानो सत्तासँग निकट सम्बन्ध हुनेलाई यत्ति जाबो एउटा शब्द बोल्नलाई के को डर? तर पनि प्रतिकार हुन्थ्यो। अरुबेला उनीहरु (बाहुन, क्षेत्री)ले फुटाएर राज गर्न सके पनि त्यस बेला हामी एक हुन्थ्यौं। हाम्रो स्वर एउटै हुन्थ्यो। हाम्रा लागि प्रत्येक गाली वा अपशब्द स्वीकार थियो तर ‘डुम’ स्वीकार्य थिएन। त्यसैले लडेर नै हरेकको मुख थुन्न सकिएको थियो। 

यसैबीच बढेको आँटले हामी झगडालु भएका थियौं। शसक्त प्रतिकार हाम्रो पहिलो मुद्दा थियो। हरेक क्षेत्रमा हामी प्रतिस्पर्धा गरिहेका थियौं। हार या जित। मर या मार हाम्रो मुख्य नारा थियो।

हामी कमजोर र निर्बल थियौं। अक्सर कुटाई खान्थौं। कुटाई मतलब भएन तर अन्यायको विरोध गरेरै छाड्ने दृढ संकल्प हुन्थ्यो। त्यसैले हामी नसक्ने भए पनि झगडालु थियौं। झगडा गर्नु प्रश्न गर्नु हो। प्रश्न गर्नु बगिरहेको धारको विपरित बहनु हो। बगिरहेको धारमा त मरेको माछा पनि बहन्छ। माछा जिउदो हुन उल्टो धारमा बहन सक्नु पर्छ। झगडा गर्नु जिउदो हुनुको प्रमाण थियो।

हामी शारीरिक रुपमा कमजोर भएर के भयो त ? संसारमा कामजोरले नै संघर्ष गर्छन्। विद्रोह छेड्छन्। बेलायतका कलकारखानामा मेसिन फुटाउनेहरु कमजोर नै थिए। कमजोरको हुलबाटै जन्मिएका थिए, लुडाइट। मसिसिपीमा मार्टिन लुथर किङ्गले ‘बोथ आर ब्रदर’ भनेर गोरा कालाबीच भाइचाराको सन्देश छर्दा चित्त बुझेर बेस्कन ताली पट्काउने कमजोर र निर्धाहरु नै थिए। संसारभरीका मजदुर आन्दाेलन उनीहरुकै बलमा सफल भए।

छोटो बढेको कसले पो देखिसहन्छ र ? हेरक ठाउँमा व्यवधान आउँथ्यो। हामी प्रतिकार गर्थ्याै। लडाई झगडा गर्थ्याै। भनाभन हुन्थ्यो। पहिलेपहिले सबै भन्दा अगाडि ‘डुम’ भन्नेहरु पछि सितिमिति आँट गर्न सक्दैनथे। 

भनिहाले ठूलो लफडा हुन्थ्यो। केस माओवादीदेखि प्रहरी कार्यालयसम्म पुग्थ्यो। कारबाहीको सम्भावना उत्तिकै थियो। त्यसैले त्यसको ठाउँमा उनीहरु भन्थे, ‘मासाला बाहुन’। तर यो ‘मासाला बाहुन’को न कुनै कानुनी उपचार थियो न प्रतिकार नै। भन्न खोजेको के हो प्रष्टै बुझिन्छ। तर त्यसरी होच्याउँदा बोलिएको वाक्यमा प्रशस्तै व्यंग्य थिए र छन्। जुन हरेक दलित बस्ती र त्यहाँका व्यक्तिहरुले खेपिरहेका छन्।

समाज आजपनि जस्ताको तस्तै छ। कुनै खालको परिवर्तन आउन सकेको छैन। एउटै गाउँ, एउटै ठाउँ र जिल्लामा बसेर मात्र केही नहुने रहेछ। भावनाको मेल छैन। २०२० सालमा पनि कुरा यही थियो। आजपनि उही छ। हामी जोडिन चाहन्छौं कि छुट्टिन ? प्रश्न एउटै छ।समाज तथा पार्टी एउटै भएर मात्र हुन्छ कि भावना पनि एउटै हुनुपर्छ ? नत्र हामीले ‘मासाला बाहुन’को व्यंग्य खाएझैं समाज पनि ‘मासाला’ नै रहनेछ।
 

प्रकाशित मिति: Mar 21, 2020 21:11:56

प्रतिक्रिया दिनुहोस

सबै