हामी सबै योद्धा हौं, लडौं कोरोनाविरुद्ध

सुवास देवकोटा

काठमाडाैं

धेरैलाई पढ्न रुचीहुने सामाग्री आफूसँग नहुनु लेख्नेहरुका लागि आम रुपमा दु:खी बनाउने विषय भएपनि कयौंबेला यो खुसी बन्दो रहेछ। संवेदना हुडल्ने घटना, अनुभव र विचार मानव रुचीको विषय हुने गरेकोमा विदेशीले जस्तो लेख्न अहिलेको सन्दर्भमा हामीसँग पर्याप्त सामाग्री छैनन्। नेपालमा जम्मा पाँच जनालाई कोभिड—१९ को संक्रमण देखिएकोमा एक जना निको भइसकेका छन्। 

चीनबाट उद्धार गरेर ल्याइएका विद्यार्थी र उनीहरुको परिवारको मनमा त्यो बेला चलेको भूमरी, विदेशमा रहेका नेपालीले भोगिरहेको असिमित पीडा, भारतबाट आफ्नो देश छिर्न नेपालीहरुले गर्नुपरेको संघर्ष निश्चय नै पिडादायी छन् र समयक्रममा उनीहरुका कथा सार्वजनिक भए ती पीडा उजागर हुनेछन्। तर,अहिले महामारी भोगिरहेका ठाउँका हरेक व्यक्ति र परिवारले झेलेको मानसिक र शारीरिक पीडा हाम्रा दु:खभन्दा कयौं बढि कष्टदायी रहेको सत्य हो। 

यस अर्थमा महामारी नआइसकेको नेपालमा बसिरहेका हामीले अहिलेसम्म आफूलाई भाग्यमानी र सुखी मान्नुपर्छ। अहिले आम नेपालीले भोगिरहेको अवस्था भनेको बन्दाबन्दी मात्र हो। यो बन्दाबन्दीमा पनि दैनिक ज्यालादारी गरेर गुजारा चलाइरहेकाहरुले निश्चय नै अकल्पनीय समस्या भोग्नु परेको छ। कयौंको वासस्थान छैन भने शहरमा कमाई हुन छाडेपछि गाउँ जान चाहेर पनि यातायातको साधन नपाउँदा कयौं अलपत्र पर्नुपरेको छ। त्यस्तो पीडाको आँकलनसम्म अहिले गर्न सकिएला तर, उनीहरुले भोग्नु परेको कहर सार्वजनिक हुन बाँकिछ। 

बन्दाबन्दी लम्बिदै जाँदा अहिले घरभित्र उकुसमुकुसको पीडा मात्र भोगिरहेका मध्यमवर्गीयको जीवनमा कति कष्ट थपिने हो भन्न सकिन्न। त्यसको अहिले नै अनुमान गरेर कहालिनु उचित पनि हुदैन, किनभने संसार नै अद्वितीय कष्टमा छटपटाईरहेको बेला आउनसक्ने कष्ट सामना गर्नुको हामीसँग विकल्प छैन। अहिले हामीले गर्नसक्ने भनेको हदैसम्मको विजोग नआओस् भनेर कामना गर्ने र आयो नै भने पनि त्यसलाई सामना गर्ने आँट बटुल्ने मात्रै हो। 

कोभिड १९ को महामारी के हो, यो कसरी फैलियो र कुन गतिमा हाम्रोमा फैलिन सक्छ तथा यसलाई रोक्ने उपाय के हुन सक्छन् भन्ने त्यही विषयका जानकारहरुले भन्नु उपयुक्त हुनेहुँदा त्यसबारे पनि अहिले छलफल नगरौं। किनभने, नजानेका र अर्ध जानेकाले बोल्दा र लेख्दा भ्रम फैलिन्छ र यस्तो आपतकालिन बेला त्यस्ता भ्रम समाजका लागि सबैभन्दा हानिकारक बन्न पुग्छन्। 

नजान्नेले लेख्ने भनेको यस्तो बेला आफ्ना अनुभव र भावना नै हुन्। 

यो लडाईको मोर्चाका अग्रपंक्तिका लडाकू चिकित्सक र त्यस क्षेत्रमा कार्यरतहरु नै हुन्। र, उनीहरुलाई कमाण्ड गर्ने भनेको सरकारले हो। तर, हतियारसहितको युद्धभन्दा यसमा फरक के छ भने यसमा हरेक आम मानिस आफै योद्धा हुनुपरेको छ। युद्धमा शत्रुलाई रोक्न किल्लाबन्दी गरेजस्तो भाइरसलाई रोक्न हरेकले आफूलाई बन्दाबन्दी गर्नुपरेको छ। भाइरससँग लड्न साबुनपानीलाई अहिले प्रमुखहतियार बनाइएको छ भने युद्धका लागि रशदपानी जोहो गरिए जस्तै हरेकले अहिले मनोवल सुदृढ बनाउनुपरेको छ।

युद्ध लामो चल्दा युद्ध सामाग्रीसँगै रशदपानीको ठूलो महत्व हुन्छ। किल्लाबन्दी सुदृढ र हतियार उत्कृष्ट हुँदापनि रशदपानी नहुँदा युद्ध हार्ने खतरा भएझै मनोवल बीना मानवजातिले यो भाइरसविरुद्धको युद्धमा विजय पाउन सक्दैन। तर, मनोबल मानसिक क्षेत्र भएकाले भौतिक सामाग्रीको जोहो जति यो पक्कै सहज छैन।

शीला खोजे जसरी अनेक क्षेत्रबाट सकारात्मक भाव र आशावादीता जम्मा गर्न सक्दामात्र मनोवल बलियो हुनसक्छ। बन्दाबन्दीमा हामी सर्वसाधारणले अहिले गर्नुपर्ने सम्पूर्ण प्रयास यही क्षेत्रमा हो। 

गहिरिएर विचार गर्ने हो भने बाँच्नका लागि गरेका संघर्षमा विजयी हुने क्रममै मानवजातिले अहिलेसम्मका उपलव्धी प्राप्त गरेको हो। ती संघर्षकै क्रममा प्राप्त अनुभवहरुले ज्ञान प्राप्त भयो तथा तिनैले भौतिक र अध्यात्मिक क्षेत्रको विकास गर्न सहयोग पुर्‍याए। संकटसँग जुध्नेक्रममा सम्भावित संकटसँग जुध्ने थप उपायसमेत विकास भए। तर, अकस्मात आउने नयाँ संकटले ती ज्ञानहरुको अपर्याप्ततालाई पटक पटक छर्लङ्ग्याएका छन्। अहिले पनि यस्ता संकटहरुसँग जुध्ने हाम्रा तयारीहरु कति सिमित रहेछन् भन्ने फेरी एक पटक छर्लङ्ग पारेको छ। 

अनन्त प्रकृतिको एउटा सानो अंशमात्र मानिस भएकाले यो प्रकृतिलाई मानिसले अहिलेसम्म केही अंशमात्र बुझ्न सकेको छ। प्रकृतिका नियमहरु अवोधगम्य छैनन् तर, तिनलाई बुझ्न अरु कयौं वर्ष वा शताब्दी लाग्न सक्छ। वा, भनौ बुझ्ने प्रक्रिया कहिले नसकिने गरी निरन्तर चलिरहनेछ। प्रकृतिको विशालरुप ब्रम्हाण्डका अनेक रहश्यहरुले खगोलविद्लाई आश्चर्यमा पारिरहेकै छ। र, त्यस्ता नयाँ रहश्य संसारसामु निरन्तर आइरहेका छन्। 

अनन्त ब्रम्हाण्डको कुरा छाडौं, यो संसारमै रहेका हामी जस्तै कयौं प्राणीको जिवनचक्र पनि हाम्रा लागि अझै रहश्य नै छ। मानवजातिको प्रभाव अनेक हिसाबले विस्तार हुँदै जाँदा उनीहरुलाई कत्तिको घन्चोमन्चो भएको छ  तथा त्यसको प्रतिकार उनीहरुसहितको प्रकृतिबाट कसरी हुनेछ भन्ने पनि विस्तारै थाहा होला। भनिएअनुसार, अहिलेको कोभिड १९ यही प्रकृतिमा रहेको तथा सम्भवतःहाम्रै कारण लोप हुनैलागेको प्राणीमध्येको एक सालकमा रहेको कोरोना भाइरस मानवमा संक्रमण हुँदा देखिएको हो।  

यस्ता र प्रकृतिका अनेक रहश्य बुझ्ने र त्यसलाई आफ्नो जिवन सहज अनि दिर्घायु बनाउन उपयोग गर्ने क्रममा नवजातिले हजारौंवर्षदेखि निरन्तर चलाईरहेको छ। यस्ता रहश्य बुझ्नेक्रममा मानवजातिका कयौं अगुवाले आफ्नो मूल्यवान समय मात्र नभएर ज्यान समेत बलिदान दिएका छन्। यही संकटको क्रममै संक्रमणबाट मानिसलाई बचाउँदा कयौं चिकित्सक र सहयोगीहरुको जिवन समाप्त हुन पुग्यो। उनीहरुको बलिदानकै कारण, यो संक्रमणको प्रकृति र यसलाई नियन्त्रण गर्ने उपाय केही हदसम्म मात्रै भएपनि चिकित्सा विज्ञानलाई ज्ञात भयो भने त्यही बलिदानकै कारण असंख्य संक्रमितको जिवन बच्यो। 

यसरी,मानवजातिले अहिले लडिरहेको यो लडाईको अग्रभागमा चिकित्सक र त्यो क्षेत्रमा कार्यरत रहेपनि हामी जस्ता आम मानिससमेत कुनै न कुनै रुपमा यो लडाईको अभिन्न हिस्सा हुनपुगेका छौं। जसरी, युद्धमा कुनै एउटा मोर्चा कमजोर हुनपुग्दा समग्र युद्धमा पराजय बेहोर्नु पर्छ, त्यसैगरी हामी कमजोर भयौं र ज्यानलाई त्यसै लल्याकलुलुक छाडिदियौं भने मानवजातिले अहिले लडिरहेको लडाईं कमजोर हुनपुग्छ। पूर्वजहरुले हाम्रोभन्दा धेरै नै कठिन अवस्थासँग जुधेर विरासतमा दिएको यो मानव सभ्यता जोगाउँदैै यसलाई अरु समृद्ध बनाउने अहिले हाम्रो जिम्मेवारी रहेकाले हामी गम्भीर बन्नैपर्छ। 

यत्रो ऐतिहासिक जिम्मेवारी काँधमा बोकेका हामीले हिजो हाम्रा पूर्वजहरुले गरेको कठिन संघर्ष र त्यसमा प्राप्त गरेको विजय सम्झनै पर्छ। प्राप्त लिखित इतिहास र त्यस आधारमा गर्न सकिने कल्पनाले मात्रपनि हामीलाई गर्वले रोमाञ्चित बनाउँछ तथा अहिलेको लडाईंलाई बहादुरीपूर्वक अघि बढाउने प्रेरणा दिन्छ। 

जिम्मेवारी यति ठूलो भएपनि हाम्रो कर्तव्य भने निकै सिमित छ, त्यो हो—यो युद्धको कमाण्ड गरिरहेको सरकारको बन्दाबन्दी गर्ने निर्देशन पूर्णरुपमा पालना गर्ने अनि आफूलाई मानसिकरुपले दृढ र अविचलित बनाउँदै यो युद्धमा विजयप्राप्त गरिसकेपछिको अवस्थाका लागि तयार राख्ने। आफूलाई शारीरिक र मानसिकरुपमा बलियो राख्न सक्दामात्र युद्धमा विजयपछि आवश्यक निर्माण अभियानका लागि सक्षम भइनेछ। 

हामी सबैलाई विजयको शुभकामना।
 

प्रकाशित मिति: : 2020-03-30 00:37:00

प्रतिकृया दिनुहोस्