लकडाउनमा फसेका आफ्ना नागरिकको उद्धारका लागि राजदूतहरू सक्रिय, कूटनीतिक पहलमार्फत् चाँडै स्वदेश फर्काउने तयारी

सरकारले एक सातादेखि मुलुक लकडाउन गरेसँगै विभिन्न ठाउँमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरू समस्यामा परेका छन्।

मंगलबारबाट एक्कासी लकडाउन भएपछि नेपालका विभिन्न पदमार्गमा रहेका धेरै पर्यटक पर्यटकीय स्थलमा नै अलपत्र परेका थिए।

 नेपाल पर्यटन बोर्डले २० मार्चबाट टिम्स कार्ड वितरण बन्द गरेको थियो। त्यो भन्दा अगाडि नै पदयात्रामा निस्किएका पर्यटक विभिन्न पदमार्गमा अलपत्र परेका हुन्।

नेपालस्थित विभिन्न मुलुकका दूतावासले समेत आफ्ना नागरिक कहाँ कुन अवस्थामा छन् भन्नेबारे चासो राखिरहेको छन्। नेपालमा रहेका विभिन्न दूतावासले टान र पर्यटन बोर्डमार्फत कुटनीतिक पहल गरि आफ्ना देशका नागरिकको उद्धार गरि स्वदेश फर्काउन थालेको छ।

यही सातामात्र जर्मनसहित युरोपियन युनियनका सयौं पर्यटकहरूलाई मुलुकका विभिन्न स्थानबाट उद्धार गरी स्वदेश फर्काइसकेको छ।

अन्नपूर्ण पदमार्गमा गएका १६ जर्मन पर्यटक शनिबार मात्र पोखराबाट काठमाडौं आइपुगेको ए वान एक्सकर्शनका प्रवन्ध निर्देशक राजकुमार थापाले जानकारी गराए।

आफ्नो कम्पनीबाट गएका सबै पर्यटकहरू स-कुशल रहेको थापाले जानकारी दिए।

विभिन्न माध्यमबाट दूतावासको पहलमा काठमाडौं आइपुगेका ४५ जना पर्यटकहरू यतिबेला ठमेलको होटल मुनलाइटमा बसिरहेका छन्।

जसमा जर्मनका २२, अस्ट्रलियाका १४, न्युजील्याण्ड र स्वीडेनका २-२ तथा  हल्याण्डका ५ जना पर्यटक बसेको होटलले जानकारी दिएको छ।

केही पर्यटकहरू सातादिनदेखि यही बसेर स्वदेश जाने प्लेन कुरिरहेको होटलका एक मेनेजरले बिएल नेपाली सेवालाई जानकारी दिए।

हिजो मात्र पोखराबाट काठमाडौं आएका ए वान एक्सकर्शन टोलीका ग्रुप लिडर कृश मुल्जरले कोरोनाले विश्व आतंकित बनाइरहेको बेला आफूहरु शकुशल रहेको भन्दै नेपालीको सेवा र सत्कारबाट अत्यन्तै खुशी भएको बताए।

‘नेपाल देश जति सुन्दर छ, यहाँका मानिसहरु उतिनै सहयोगी रहेछन्’, उनले भने।

यसैबिच आफ्ना नागरिकलाई भेट्न नेपालका लागि अष्ट्रेलियाका राजदूत  पिटर बड होटलमै पुगेका थिए।

बडले त्यहाँ रहेका आफ्ना नागरिकको अवस्था बुझ्नुका साथै आगामी योजनाका बारेमा छलफल गरेका थिए। उनले तत्कालै कुटनीतिक पहलबाट सकेसम्म चाडै आफ्ना नागरिक स्वदेश फर्काउने बताए।

यस्तै अमेरिका, बेलायत, स्वीस, जर्मनलगायत अन्य मुलुकका राजदूतावासले पनि आफ्ना नागरिकका चासो दिएर खोजि गर्दै स्वदेश फर्काउने पहल गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-03-30 03:51:19

प्रतिकृया दिनुहोस्