८३ मजदुर परिवारलाई खाद्य सामग्री वितरण

रासस

तनहुँ

कोरोना भाइरस नियन्त्रणका क्रममा सरकारले आह्वान गरेको लकडाउनका समयमा प्रत्यक्ष असरमा परेका शुक्लागण्डकी नगरपालिका–८ का २५० परिवारमध्ये पहिलो चरणमा ८३ मजदूर परिवारलाई आज खाद्य सामग्री वितरण गरिएको छ।

 उक्त सामग्रीले कम्तीमा १५ दिन खान पुग्ने वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए। रेग्मीले लकडाउनका समयमा वडामा बसोबास गर्दै आएका मजदूर भोको पेट बस्नुपर्ने अवस्था भएकाले खाद्यान्न वितरण गरिएको बताए। 

उनले काम गरेर बिहान बेलुकाको छाक टार्दै आएका तर लकडाउनले गर्दा काममा निस्कन नपाएका विपन्न परिवार पहिचान गरी  खाद्यान्न वितरण गरिएको जानकारी दिए।
 
प्रत्येक परिवारलाई ३० केजी चामल, दुई केजी दाल, एक लिटर तेल, एक पोका नुन, दुई केजी हरियो तरकारी र आधा केजीको भटमासको तेल लगायत खाद्य सामग्री वितरण गरिएको  हो। 

 वडाले उक्त सामग्री वितरणमा सरकारी बजेट खर्च नगरी स्वतःस्फुर्त सहयोग उठाएको अध्यक्ष रेग्मीले बताए।  वडा कार्यालयमा ज्याला मजदूरी गरेर दैनिकी गुजारा चलाउने २५० परिवार सूचीकत छन्। वडाध्यक्षका अनुसार लकडाउन अवधिभर सूचीकृत सबै परिवारलाई पुग्ने गरी खाद्यान्न सामग्री वितरण गर्ने लक्ष्य राखिएको छ। 

प्रकाशित मिति: : 2020-03-30 09:52:37

प्रतिकृया दिनुहोस्