याे वर्ष गुगलले ‘अप्रिल फूल’ मनाएन

एजेन्सी

काठमाडाै‌ं

आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’। यस दिनमा मान्छेहरु एक अर्कालाई मुर्ख बनाएर तथा ठट्टा गरेर रमाउने गर्छन्। गुगलले पनि दुई दशकदेखि अप्रिल फूल मनाउँदै आएको छ। अप्रिल १ को दिन आफ्ना विभिन्न प्लाटफर्महरुमा गुगलले प्रांक गर्ने गर्दछ।

तर कोरोना भाइरसले विश्वका मानिसहरुलाई आतंकित बनाइरहेको यो समय गुगलले अप्रिल फूल नमाउने भएको छ। गम्भीरतालाई इन्टरनेट जाएन्ट गुगलले पनि मनन गरेको छ र यो वर्ष अप्रिल फूल नमनाउने निधो गरेको हो।

गुगलको मार्केटिङ विभागका प्रमुख लोरिन टुहिलले कम्पनीका उच्च पदस्थ कर्मचारीहरुलाई इमेलमार्फत् पत्राचार गर्दै गुगलले यस वर्ष अप्रिल फूल मनाउने आफ्नो परम्परालाई थाँति राखेको बताएका छन्।

इमेलमा भनिएको छ, ‘सामान्य अवस्थामा अप्रिल फूल गुगलको परम्परा हो। यसले गुगल परम्परागत ढर्राको कम्पनी होइन र रमाइलो पनि गरिन्छ भन्ने देखाउँदछ। तर यो वर्ष कोरोना भाइरसको महामारीसँग लडिरहेकाहरुको सम्मानमा हामीले यो परम्परालाई थाँति राख्दैछौँ। अहिलेको हाम्रो सबैभन्दा ठूलो लक्ष्य भनेकै मानिसहरुको सहयोगी बन्नु हो। त्यसैले हाम्रा ठट्टाहरु अर्को अप्रिलका लागि जोगाई राखौँ। त्यतिबेला निश्चित रुपमा अहिले भन्दा निकै रमाइलो हुनेछ।’

यो पटक कोरोना विरुद्धको लडाइँमा गुगलले आफूलाई समाहित गरेको छ। कोरोना सहायता कार्यहरुमा गुगलले ८० करोड डलर सहयोगको प्रतिबद्धता जनाइसकेको छ।

एक ब्लग पोष्टमा कम्पनीका सिइओ सुन्दर पिचाइले म्यागिड ग्लोभ एण्ड सेफ्टी कम्पनीसँग मिलेर गुगलले २० देखि ३० लाखसम्म मास्क उत्पादनका लागि काम गरिरहेको बताए। साथै निकै महत्वपूर्ण चिकित्सा उपकरण तथा पिपिइको उत्पादन क्षमता बढाउनका लागि समेत आर्थिक सहयोग गरिने उनको भनाइ छ।

त्यस्तै गुगलले विश्व स्वास्थ्य संगठन तथा विभिन्न सरकारी निकायहरुलाई २५ करोड डलर बराबरको निस्शुल्क विज्ञापन प्रकाशन गरिदिनेछ भने स्वास्थ्य क्षेत्रमा क्रियाशील साना तथा मध्यमस्तरका व्यवसायलाई ३४ करोड डलर बराबरको विज्ञापन ऋण सहायता प्रदान गर्नेछ।

प्रकाशित मिति: : 2020-04-01 09:45:16

प्रतिकृया दिनुहोस्