नेपालगञ्जमै कोरोना भाइरस परीक्षण हुने

बाँकेको नेपालगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को परिक्षण हुने भएको छ। कोरोनाको परिक्षण गर्नको ५ नम्बर प्रदेश सरकारले नेपालगञ्जमा पोर्टेबल पीसीआर मेसिन राख्ने तयारी थालेको छ। यसअघि संघीय सरकारले एउटा पीसीआर मेसिन बुटवलमा राखिएपछि नेपालगञ्जमा अर्को मेसिन ल्याएर राख्ने तयारी थालिएको प्रदेश सरकारले जनाएको छ। 

शनिबार ५ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बराल लगायतका अधिकारीहरुले कोरोना परीक्षण गर्ने पोर्टेबल आरटी पीसीआर मेसिन राख्ने ठाउँको निरीक्षण गरेका थिए। त्यसको पुर्वतयारीका लागि नेपालगञ्ज आएका मन्त्री बरालले भेरी अस्पताल र बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा रहेका आइसोलेसन वार्डको अनुगमन समेत गरे। मन्त्री बरालले पीसीआर मेसिन राख्ने ठाउँको अनुगमन गर्नुका साथै अस्पताल र मेसिनका बारेमा जानकारी लिएका थिए।

अगुगमनको क्रममा मन्त्री बराले छिटोभन्दा छिटो प्रक्रिया सुरु गर्न समेत निर्देशन दिएका छन्। मन्त्री बरालले नेपालगञ्जमा पीसीआर मेसिन राखिए बाँके, बर्दिया लगायत क्षेत्रका विभिन्न जिल्लाबाट आउने कोरोना भाइरस संक्रमणका बिरामीको उपचार तथा स्वास्थ्य जाँचमा सहजता होस भन्ने उद्देश्यले मेसिन राख्न लागिएको बताए। 

कोरोना परीक्षण गर्ने स्वास्थ्य उपकरण, पीसीआर मेसिन खरिद्,  स्वास्थ्य सामाग्री लगायतका वस्तुहरु आपूर्ति गर्नका लागि कोटेशन माग गरिएको उनले जानकारी दिए। प्रदेश सरकारको लगानीमा भेरी अस्पतालमा कोरोना परीक्षण गर्ने पीसीआर मेसिन खरिद् तथा जडान गरिन लागेको हो।

भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापाले  मेसिन जडानको लागि अस्पतालले तयारी थालिसकेको बताए। ‘अस्पतालमा उपकरण जडानका लागि द्रुत गतीमा काम भइरहेको छ,’ उनले भने, ‘अहिले भइरहेको कुनै काममा अवरोध नभए अबको एक हप्ता भित्रमा पीसीआर मेसिनबाट कोरोना परीक्षण हुनेछ।’ 

बाँकेमा रहेका कोरोना संक्रमणका शंकास्पद बिरामीहरुको नमुना संकलन गरेर परीक्षणको लागि काठमाडौंस्थित केन्द्रीय प्रयोगशालामा पठाउने गरिन्छ। भेरी अस्पतालमा कोरोना परिक्षण गर्ने पीसीआर मेसिन खरिद् जडानका लागि प्रदेश सरकारले आफैं खर्च बेहोर्ने निर्णय समेत गरिसकेको छ।

प्रकाशित मिति: : 2020-04-05 14:51:00

प्रतिकृया दिनुहोस्