अलपत्र नेपालीहरु कहिलेसम्म सरकारले देख्दैन?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै समय भनेका थिए ‘नेपाल-भारतको सम्बन्ध रोटी–बेटीको सम्बन्ध हो।’

हुनत, यो वाक्य प्रधानमन्त्री मोदीले पहिलो पटक भएका होइनन्, उनीभन्दा अघि पनि यो शब्द धेरै जनाबाट सुनेँ। नोपाल र भारतको सम्बन्ध पक्कै पनि रोटी–बेटी वरिपरि नै घुमेको सत्य हो।

नेपाल-भारत सीमा खुला छ। नेपाल जान वा नेपालबाट भारत तर्फ आउँन निकै सजिलो र सहज छ। धेरै नेपालीको रोजीरोटीको माध्यम भारतका बिभिन्न शहरहरु हुन्। कतिपय भारतीयहरु पनि काम गर्न नेपाल बिभिन्न शहर तथा गाउँहरुका पुग्ने नगरेका होइनन्। जे होस् धेरै नेपालीहरु रोजगारीको लागि भारत आउँनुपर्ने बाध्यता छ र कोहीँ–कोहीँ भारतीय नागरिक पनि नेपाल जान्छन्।

मुख्य चाडवार्ड, खेतिपातीको काम सकिएपछि भारत प्रवेश गर्ने नेपालीको लर्को नै हुन्छ। भारत कतिपयको घर खर्च चलाउने बाटो पनि हो। भारतका बिभिन्न शहरहरुमा लाखौं नेपालीहरुको बसोबास रहेको छ। एकआध मानिसको यहाँ आउने फेसन रहे पनि धेरैको यात्रा भने बाध्यता नै हो। नेपाल सुदूरपश्चिम प्रदेशबाट यहाँका मुख्य शहरमा आउने सबैभन्दा ठूलो जमात छ।

नेपाली युवाले रोजगारीका लागि भारत नै रोज्नुका कारणहरु अनेकन छन्। अघिल्लो पुस्ताको लहलहैमा लागेर भारत छिर्नेदेखि परिवारमा आर्थिक समस्या, शैक्षिक क्षेत्रमा पहुँच नपुग्नु पनि मुख्य कारण हो।

नेपालीहरू होटेल, कल कारखाना, रेस्टुराँ, सुरक्षा गार्ड र पछिल्लो समय शिक्षा र प्रतिष्ठित कम्पनीमा समेत काम गर्ने अवसर पाएका छन्।

भारतमा आम्दानी गर्ने हरेक नेपाली आफूले कमाएको पैसा नेपाल पठाउँछन् – जसले नेपालको आर्थिक पाटोमा धेरै सहयोग समेत गरेको छ। राष्ट्रपति चढ्ने करोडौंका गाडीदेखि संघीयताको महंगो भार समेत भारतमा पसिना बगाएको अर्थतन्त्रले धानेको राज्य चालकहरू भुल्न नहुने कुरा हो, तर बिडम्बना नेताले मजदूरहरुका कुरा अहिलेसम्म बुझ्न सकेका छैनन्। 

कृषि प्रधान देशको उपमा पाए पनि, हाम्रो उत्पादन देशभित्रै आत्मनिर्भर छैन। दैनिकी चलाउनसमेत विदेशकै आड लिनुपर्ने नेपालीहरुको दुःखद बाध्यता हो। आफैंले गरेको खेतबारीबाट वर्षदिन समेत धान्दैन, त्यसकारण पनि परदेशी हुनुपर्छ।

 यो पटक नेपाल भारतको  मात्रै नभई विश्वको अर्थतन्त्र नै संकटमा परेको छ। यसको अर्थ – नेपाललाई निकै नै आर्थिक संकट पर्दछ भन्ने आसय हो। कोरोना अर्थात् कोभिड–१९ ले ग्लोबल रुपमा नै तनाब सिर्जना गरेको छ।

ठूला–ठूला कम्पनीहरू समेत दुई–तीन महिनादेखि बन्दको मारमा परेका छन्। ती सम्पनीहरुमा कार्यरत नेपालीहरु समेत हैरानीमा छन्।

रोजगारीका लागि भारत आएकाको ठूलो संख्या यतिबेला देशमा पुगिसकेको छ। कोरोना त्रासले हतार–हतारमा उनीहरु नोपाल फर्केका हुन्। कतिपय त अहिले पनि सीमा क्षेत्रमा अलपत्र परेका छन्।

उनीहरुको दैनिकी कष्टकर बनेको नेपाल सरकारले देखेकै छैन। यता भारतका बिभिन्न्न शहरमै बसिरहेकाको समेत अवस्था नाजुक बन्दै गएको छ। भारतमा बसिरहेका नेपालीले पनि २१ दिन लामो बन्दाबन्दी बेहोर्नु परेको छ।

सरकारले सिमानामा अलपत्र परेका नेपालीलाई देशमा प्रवेश निषेध गर्नु निकै दुःखद पक्ष हो। सरकारले उनीलाई सुरक्षित बनाउन पनि देशमै लिएर पूर्ण हेरचाहका साथ राख्नुपर्छ। उनीहरुको बसाँई असुरक्षित देखिएको छ।

कोरोनाबाट डराएर उनीहरु नेपाल जान हिँडेका हुन्। तर उनीहरु सबैभन्दा असुरक्षित भीडमा छन्। ती भीडमा रहेका एक–दुई जना कोरोना संक्रमित देखिएपछि उपचारका लागि अस्पतालमा समेत राखिएको छ। सरकारले सुदूरपश्चिम प्रदेशका नाकाहरु कडाई र सुरक्षित बनाउन ढिला गरिसकेको छ। नेपालीलाई सुरक्षित नेपाल जैलाउ र नेपाल बाहिर गएकाहरु पनि नेपाली नागरिक नै हुन् भन्ने भावनाको विकास गर।

ओली ग्लोबल आइएमई बैंक नेपालका भारत प्रतिनिधि हुन्।

प्रकाशित मिति: : 2020-04-06 18:50:00

प्रतिकृया दिनुहोस्