
बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीलाई सम्बोधन गर्ने खबर सुनेपछि भारत प्रवासमा अलपत्र परेका नेपालीहरू खुसी भए।
प्रवासी नेपालीमा प्रधानमन्त्रीको सम्बोधनले आफ्ना दुःख र पीडा समाधान हुने अपेक्षा थियो। भारतका विभिन्न शहरमा अव्यवस्थित तरिकाले बाँचिरहेका नेपालीहरू प्रधानमन्त्रीको सम्बोधन पछि थप निराश बने।
उनीहरूले आफूहरू भारतका विभिन्न स्थानमा अलपत्र परेको भारतका लागि नेपाली दूतावास र नेपाल सरकारले नदेखेको गुनासो निरन्तर गरिरहेका छन्।
भारतका शहरमा मात्रै होइन, नेपालको सीमानामा पुगेर अलपत्र पर्नेको संख्या समेत सयौंको छ। यता बसिरहेका नेपालीले सीमानामा पुगेकालाई नेपालमै लिएर सुरक्षित राख्न अनुरोध गरेका छन्। लाखौं नेपाली बसोबास गर्ने भारतमा लकडाउन अघि १ हजार १ सय ५७ जना नेपाल पुगेको सरकारी तथ्यांकमा देखाएको छ।
प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा यसो भन्छन् – प्रवासी नेपालीहरुः गंगाप्रसाद भट्टराई
भारतमा अलपत्र परेका नेपालीहरूको उद्धार कसले गर्ने? सरकार चुपचाप? दूतावास चुपचाप? प्रधानमन्त्रीको सम्बोधनमा प्रवासी नेपालीहरुको सुरक्षा र चिन्ताको कुनै चासो देखिएन।
लाखौं नेपाली यतिबेला बिचल्लीमा परेको प्रधानमन्त्री केपी ओलीज्यू सुन्नुहुन्न। भारतमा पसिना बगाएर कमाईको ठूलो हिस्साले चलेको नेपाली राजनीति र अर्थतन्त्र – पसिना बगाउनेहरु रोइरहेको बेला किन मौन र चुपचाप?
प्रवासीले प्रधानमन्त्रीको सम्बोधनबाट सीमानामा अलपत्र नेपालीको उद्धार र भारतमै अस्त–व्यत नेपालीको भारतीय सरकारको पहलमा केही हुन्छ कि, भन्ने अपेक्षा थियो, तर उहाँको सम्बोधनले हामी निराश भएका छौं।
प्रधानमन्त्रीको भाषण हात्ती आयो, हात्ती आयो फुस्सा भने झै-प्रवीणसिंह विश्वकर्मा
सरकारले दूतावास मार्फत थप पहल गरेर चाडै आफ्ना नागरिकहरू देशमा लिएर सुरक्षित राख्न नसक्नु दुभाग्य हो। भारतमै बसोबास गर्न चाहने नेपालीलाई भारत सरकारसँग छलफल गर्नुपर्छ। र बाँकीलाई उनीहरुको इच्छा अनुसार भारतीय नागरिक सरहकै सेवा–सुविधामा जीवनको रक्षा गर्ने पहल थाल्न ढिला भयो – सरकार?
प्रधानमन्त्रीको सम्बोधनमा भारतमा अलपत्र परेका प्रवासी नेपालीहरुको बास्तविकता कतै बोलेको सुनिएन। हाम्रो सोच थियो – उहाँको सम्बोधनले खुसी हुने वातावरण बन्ने छ, तर प्रधानमन्त्रीको भाषण हात्ती आयो, हात्ती आयो फुस्सा भने झै लाग्यो।
सीमामा अलपत्र नेपाली, नेपाली हैनन र?- उदयराज खड्का
विश्व नै उच्च जोखिममा छ। नेपाली नागरिकको रक्षा गर्नु सरकारको दायित्व हो। प्रवासी नेपाली दाजुभाई दिदीबहिनी भारतका हर राज्यका गल्ली–गल्लीमा समस्यामा छन् । आफ्नो ज्यान जोखिममा परेका छन्। यस बारेमा केही सोचिदिएको भए हामी दुःखका साथ बाँचिरहेका नेपालीहरुको मन कति को खुसी हुन्थ्यो, होला प्रधानमन्त्रीज्यू?
नेपाल-भारत सिमानामा अलपत्र परेका नेपालीलाई स्वस्थ्य जाँच गरी नेपाल प्रवेश गराउने काम किन गरिएन। यस बारेमा तपाईँ किन बोल्नुभएन। नेपाली भएर पनि आफ्नो देश नेपाल जान नपाउनु भनेको बिडम्बना हो। तपाईँको हावादारी भाषण देश तथा विदेशमा रहेका नागरिकका लागि कुनै नयाँ कुरा बनेन।
नेपालीको देश जाने मौलिक तथा नैसर्गिक अधिकार होः करन साउद
प्रधानमन्त्रीको जनता सम्बोधनले देशदेखि बिदेशसम्मका नेपालीलाई निकै हर्षित बनायो। सम्पूर्ण नेपाली जनताले चाहेको तथा कोरोनाबाट बच्ने उपाय पनि त्यही हो। जुन नेपाल सरकारले विभिन्न कार्यक्रम संचालनमा ल्याएको छ।
नेपालमा कोरोना सर्ने बढी सम्भावना भने कै बिदेशबाट स्वदेश फर्किने नेपालीबाट हो, तसर्थ बिदेशमा अलपत्र परेर अथवा काम नपाएर स्वदेश फर्किने नेपालीहरुलाई पूर्ण रूपमा चेकजाँच गरेर १४ देखि २१ दिनसम्म क्वारेन्टाईमा राखेर अनि मात्र घर पठाईयोस्। नेपाल फर्किने ब्यक्तिका परिवार लगायत छिमेकी गाउँ, नगर, जिल्ला कोरोनाबाट जोगाउने काम तिब्र बनोस्। भारतबाट फर्किने नेपालीहरुको ब्यबस्थापन र सुरक्षा कडाईका साथ गरियोस्। नेपालीहरुको देश जाने मौलिक तथा नैसर्गिक अधिकारको पालना गर्नुपर्दछ।
तपाईँले गरेको सम्बोधनमा किन प्रवासी नेपालीहरुको भावना झल्किएन- दिपक चन्द
बिरामीले सेवा नपाउने, नागरिकले देश छिर्न नपाउने तथा जनताले कुनै राहत नपाउने अझ्–झन् कमिसनको खेलमा व्यस्त मन्त्रीका मुखिया बन्ने काम बन्द होस् – प्रधानमन्त्रीज्यू। तपाईँले गरेको सम्बोधनमा किन प्रवासी नेपालीहरुको भावना झल्किएन।
तपाईँको भाषण प्रवासमा अलपत्र परेका जनताको लागि थिएन, यो त केबल भ्रष्टाचारी जोगाउने चेस्टा मात्रै देखियो। बरु, आफै राजीनामा दिएर आराम गर्नुहोस्।
ओली सर तर हाम्रो लागि तपाईँको भाषण कतै पनि छुँदैन- प्रेम खड्का
देश र जनताको लागि प्रधानमन्त्रीज्यूले गर्नुभएको सम्बोधनमा भारतमा हुने नेपालीलाई सुरक्षित रहन आग्रह गरेको सुनियो। घर भएका र पूजिपति वर्गका लागि राम्रो नै होला, ओली सर तर हाम्रो लागि तपाईँको भाषण कतै पनि छुँदैन।
दिनभरी ज्याला गरेर साझ र बिहान छाक टार्नेले कसरी सुरक्षित रहने – हजारौंको संख्यामा नेपालीहरु अलपत्रमा परेका छन्। भोकै मर्नुपरे पनि आफ्नै देशमा मरौला भन्ने नेपालीको भनाइ छ। नेपालीलाई आफ्नो देशमा जसरी पनि लैजाने व्यवस्था गरियोस्!
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया