जस्तो जनता, उस्तै सरकार

फ्रान्सबाट फर्किएकी १९ वर्षीया युवती प्रसिद्धी श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भेटिएपछि सरकारले देशभर ‘लकडाउन’ घोषणा गर्यो । सुरुमा एक साताको लागि भनेर सुरु गरिएको ‘लकडाउन’ अहिले बैशाख ३ सम्मको लागि थप गरिएको छ र त्यस पछिको अर्को सातापनि लकडाउन गर्ने सरकारी तयारी रहेको छ। नेपालमा हालसम्म संक्रमितको संख्या ९ पुगेको छ। 

जसमा प्रसिद्धी श्रेष्ठ र लालबहादुर तामाङको टेकु अस्पतालमा उपचार भइरहेको छ भने अंशु सापकोटा र मनकुमारी सापकोटाको बाग्लुङ अञ्चल अस्पतालमा उपचार भइरहेको छ। धनगढीको सेती प्रादेशिक अस्पतालमा अमृत शाही र उनको भाउजु दीपा शाही, ईन्द्र विक र राज विकको उपचार भइरहेको छ। एकजना भने उपचारपछि निको भएर घर फर्किसकेका छन्।

सरकारले देश ‘लकडाउन’ गरेपछि ७ जनामा संक्रमण देखिएको छ। संक्रमित मध्ये एक जना सुरुमै निको भएर घर फर्किए पनि १४ दिन ‘आईसोलेसन’ मा बसिसकेका केहिमा संक्रमण देखिएपछि उनीहरु अस्पतालकै ‘आईसोलेसन’ मा बसेर उपचार गराइरहेका छन्। 

नेपालमा कोरोना संक्रमणको जोखिम देखिने वित्तिकै सरकारले तत्काल ‘लकडाउन’ र अन्तर्राष्ट्रिय उडान बन्द गर्यो। त्यसले गर्दा संक्रमणको जोखिम कम देखिए पनि भारतबाट भित्रिएका नेपालीहरुलाई ‘क्वारेन्टाइन’मा राख्न नसक्दा अहिले त्रासकाे माहाेल छ। भारतबाट भित्रिएका मध्ये कति जनामा संक्रमण थियाे? यसकाे पुष्टी हुन सकिरहेकाे छैन। अझ संक्रमित व्यक्तिसँगै अन्तर्राष्ट्रिय र राष्ट्रिय उडानमा सँगै यात्रा गरेका नेपालीहरु सम्पर्कमा आएका छैनन्। उनीहरुसँग सार्वजनिक यातायात र भेटघाटमा सहभागी भएकाकाे पनि खोजी भएकाे छैन। 

‘लकडाउन’ कै अवधिमा सरकारले चीनबाट स्वास्थ्य सामग्री ल्याएको थियाे। तर, निकै कम मात्रमा। ल्याएका सामानमध्ये पर्सनल प्रोटेक्भिट इक्युपमेन्ट (पीपीई) मा गाउन मात्र भएकाले काम नलाग्ने भएको स्वास्थ्यकर्मीले गुनासो गरेका छन्।

साथै, ओम्नी समूहसँग गरेको विवादास्पद सम्झौताका कारण सरकारले सम्झौता रद्द गर्नु परेकाे अवस्थामा थप स्वास्थ्य सामग्री ल्याउने प्रक्रिया केही समय लम्बिएकाे छ। 

१४ दिनको यो अवधिमा सरकारले गरेको अर्को काम भनेको सात प्रदेशमा ल्याब स्थापना हो। चीनबाट आएको पीसीआर मेसिन प्रदेशमा राखेर ल्याब स्थापना गरिएको छ। यो सकारात्मक छ। तर, एउटा ल्याबबाट दिनमा १० र १२ वटा मात्र नमुना परीक्षण गर्नसक्ने भएकाले जुन गतिमा परीक्षण गर्नुपर्ने हो, त्यो पूरा नहुने स्वयम् सरकारी अधिकारी बताइरहेका छन्। 

अहिलेको परीक्षण प्रणालीले कोरोना संक्रमणको नतिजा सत्प्रतिशत सहि नदिने स्वास्थ अधिकारी नै बताउँछन्। यस्तो अवस्थामा र्‍यापिड टेस्ट गरेर मात्र विश्वस्त हुने अवस्था देखिदैन।

बझाङमा मंगलबार मात्र ‘क्वारेन्टाइन’ बसेकाहरु भागेर मेला हेर्न गएको खबरले नेपालीहरूमा कोरोना संक्रमणको जोखिम र यसको संवेदनशीलतालाई बुभ्न नसकेको देखिन्छ। यति बेला विश्वका विकसित देशले समेत कोरोनाको महामारीलाई नियन्त्रण गर्न सकिरहेका छैनन्। स्वाब परीक्षण गर्ने किटको अभाव, भेन्टिलेटरको अभाव अनि अस्पतालको अभाव यति बेला हरेक देशले सामना गर्नुपरेको समस्या हो। 

त्यसैले यति बेला सरकारको निर्देशनलाई अवज्ञा गर्ने, सरकारको आलोचनामा समय खर्चनेभन्दा पनि भोलि आइपर्ने जोखिम नियन्त्रणको लागि के गर्न सकिन्छ भन्ने विषयमा हरेक तह र तप्काका मानिसले सोच्नु जरुरी देखिन्छ। 

स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकारले पनि राजनीति गरि कमिसनको चक्करमा लाग्नु जस्तो अपराध अर्को हुन् सक्दैन। आम नागरिकले पनि कोरोनाको संक्रमण नियन्त्रण गर्नको लागि सरकारको निर्देशनलाई पूर्णरूपमा पालना गर्नु जरुरी छ। अन्यथा यति बेला अमेरिका जस्तो देशले कोरोनाको संक्रमणबाट मर्नेको लाश थुपार्ने ठाउँ नभएर पार्कमा जम्मा गर्ने तयारी गर्दैछ भने हाम्रो देशको हविगत के होला कल्पना गरौ त? 

सिमित स्रोत र साधनका बाबजुद नेपाल सरकारले कोरोना संक्रमणको नियन्त्रणका लागि चालेको प्रयास, क्वारेन्टाइनमा बस्नेले त ‘लकडाउन’ को अवज्ञा गर्दै मेला हेर्न जान्छन् भने क्वारेन्टाइनमा नबसेकालाई ट्रेस गरेर चिकित्सकको सम्पर्कमा ल्याई कोरोना परीक्षण गर्न कत्तिको सम्भव होला?
 

     

प्रकाशित मिति: : 2020-04-08 15:10:00

प्रतिकृया दिनुहोस्