सन् २०२० मा खाडी क्षेत्रमा ५० लाखभन्दा बढीकाे रोजगारी गुम्दै: आईएलओ

बिएल संवाददाता

काठमाडाै‌ं

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोरोना भाइरसको महामारीका कारण सन् २०२० को अप्रिलदेखि जुनसम्ममा खाडी क्षेत्रका मुलुकहरुमा सबैभन्दा धेरैले रोजगारी गुम्ने अवस्था रहेको जनाएको छ। 

मंगलबार नयाँ रिपोर्ट सार्वजनिक गर्दै आईएलओले सबैभन्दा धेरै रोजगारी खाडी क्षेत्रमा गुम्ने अवस्था रहेको जनाएको हो। रिपोर्टअनुसार विशेषगरी सेवा तथा खाद्य उत्पादन क्षेत्र, उद्योग लगायतका क्षेत्रमा बढी रोजगारी गुम्नेछ।

खाडी क्षेत्रमा ८ दशमलव १ प्रतिशत अर्थात ५० लाख व्यक्तिले पूर्ण समय काम गर्ने बरावरको रोजगारी गुम्ने रिपोर्टमा उल्लेख  छ। यसपछि युरोपमा ७ दशमलव ८ प्रतिशत अर्थात १ करोड २० लाख पूर्ण समय काम गर्ने श्रमिक बरावर र एशिया तथा प्यासेफीक क्षेत्रमा ७ दशमलव २ प्रतिशत अर्थात १ अर्व २५ करोड व्यक्तिले पूर्ण समय काम गर्ने बरावरको रोजगारी गुम्ने अवस्था रहेको छ।

रोजगारी गुम्नेमा धेरै प्रतिशत खाडी क्षेत्रमा भएपनि संख्याका हिसावले भने एसिया तथा प्यासेफीक क्षेत्र अगाडी देखिएको छ। रोजगारको क्षेत्रमा विनाशकारी क्षति हुने भन्दै आईएलओले विश्वव्यापी रुपमा यसअगाडीको तुलनामा ६ दशमलव ७ प्रतिशत कार्यसमय बरावरको रोजगारी घट्ने पूर्वानुमान गरेको हो। यो भनेको १ अर्व ९५ करोड व्यक्तिले पूर्ण समय काम गर्ने बरावर हुने आईएलओको निश्कर्ष छ।

रोजगारीमा हुने कटौतीले सन् २००८/२००९ को आर्थिक मन्दिभन्दा बढी असर पार्ने आईएलओको अनुमान छ। रोजगारी कटौतीले मध्यम आय भएका मुलुकहरुलाई बढी असर गर्ने देखिएको छ।

हाल कोभिड १९ का कारण विश्वका ८१ प्रतिशत व्यक्ति पूर्ण समय वा आँशिक समय काम गर्नबाट वञ्चित छन्। यो विश्वको कुल श्रम शक्ति मध्ये ३ दशमलव ३ अर्व हो। 

यसअघि आइएलओले कोरोना भाइरसको महामारीका कारण विश्वभर २५ करोड कामदारले रोजगारी गुमाउने प्रारम्भिक अनुमान गरेको थियो। 

कोरोना ले कार्यस्थलमा पार्ने प्रभाववारे गरिएको प्रारम्भिक अध्ययन अनुसार कार्यस्थलमा कामदारहरुको सुरक्षा, रोजगारी सिर्जना गर्ने गरि अर्थव्यवस्थाको परिचालन गर्ने, कामदारको रोजगारी र आयलाई सहयोग पुर्याउने नीति अख्तियार गरेमा बेरोजगारी समस्या न्यून गर्न सकिने आइएलओको भनाइ छ।  
 

प्रकाशित मिति: : 2020-04-08 16:22:16

प्रतिकृया दिनुहोस्