ङिमाजी, म कसलाई सोधेर तपाईंको मृत्यु पुष्टि गरौं ?

ङिमाजी, म कसलाई सोधेर तपाईंको मृत्यु पुष्टि गरौं ?

अप्रिल ८, २०२० । आज अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले लेखेका छन्- 
बिहानै दुखद खबर: आज बिहान ५:१८बजे न्यूयोर्कमा निमा टेम्बा शेर्पाजीको कोरानाभाईरसको उपचारको क्रममा निधन भएको ख़बर मित्र फुरी शेर्पाले गर्नु भयो।निमाजीलाई हार्दिक श्रद्धांजलि! परिवारजनमा समवेदना।घरमै बसौ, साबुन पानीले हात धौ, कोरनाबाट बचौ, बचाऊँ!

अप्रिल ५, २०२०। चारदिन अघि न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भटराईले लेखेका थिए- 
'नेपाली समुदायले अचानक ४ जना सक्रिय सदस्यहरू अजय छोंचन, थोक्मे बिष्ट ,सोनाम लामा, निमा टेम्बा शेर्पा गुमाएको खबरले स्तब्ध छु । मृतकहरू प्रति हार्दिक श्रद्धान्जलि साथै शोक संतब्द परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछु।'

यो पंक्तिकारले महावाणिज्यदूतको यो स्टाटस मात्र हैन, मृतक भनिएका ङिमाकै दाजुलाई समेत सोधेर समाचार बनाएको थिएँ, 'अमेरिकामा कोरोनाबाट चार नेपालीको मृत्यु, स्तव्ध छ मिनी नेपाल।'

चारजनाको यो संख्यामा  ङिमा टेम्बा शेर्पा को पनि नाम थियो। हो, यो अप्रिय समाचार त थियो नै, पत्रकारितामा गर्नै नपाइने गल्ती ब्लण्डर पनि थियो। तर, यो गल्ती नियोजित वा असावधानीवश वा जानी जानी गरिएको थिएन। यसमा अस्पतालले सहोदर दाजुलाई ङिमा नरहेको भनिएको थियो। त्यसैको आधारमा उनले अरूलाई भनेका थिए, त्यही खबर महावाणिज्यदूतावासमा पनि पुगेको थियो । त्यसैका आधारमा महावाणिज्यदूतले पनि समवेदना दिन भ्याए। 

तर, यो समाचारलाई लिएर अमेरिकाको नेपाली डायस्पोराका अगुवाहरूले पत्रकारको उछित्ताो काँढे, हुनसम्मको हुर्मत लिए। खासगरी मिडियाको गुडबुकमा नभएकाहरू यसमा अगाडि थिए।अझ त्यसमा पनि मिडियाको बारेमा खासै ज्ञान नभएका तर सबै जानेको भ्रममा बाँचेका अजासु (अति जान्ने सुन्ने) हरू त हात धोएरै लागेका थिए। 

मलाई अमेरिकामा पत्रकारिताको कखरा नजानेका एक दर्जन जति विभिन्न छतरी र कलेबरमा रहेका तथाकथित अजासु अगुवाहरू, नेपालमा संजोग/नियतिले पत्रकार जस्तो भएका दुई दर्जन जति भूतपूर्व पत्रकार अनि पत्रकारिताका नाममा फेसबुक आतंक मच्चाइरहेका स्वघोषिष सञ्चारकर्मीहरूमा रहेको पत्रकारिताको भूत हट्यो भने अमेरिकी नेपाली डायस्पोराको आधा समस्या यसै समाधान हुन्छ जस्तो लाग्छ। 

अहिले फेरि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले लेखेका छन्- 
बिहानै दुखद खबर: आज बिहान ५:१८बजे न्यूयोर्कमा निमा टेम्बा शेर्पाजीको कोरानाभाईरसको उपचारको क्रममा निधन भएको ख़बर मित्र फुरी शेर्पाले गर्नु भयो।निमाजीलाई हार्दिक श्रद्धांजलि! परिवारजनमा समवेदना।घरमै बसौ, साबुन पानीले हात धौ, कोरनाबाट बचौ, बचाऊँ!

मलाई माफ गर्नुहोला, मैले यसको आधारमा पनि समाचार बनाउन सकिन। किनकि, यो पनि अझै कतै पुष्टि भैसकेको छैन। यसअघि पनि यस्तै अवस्था थियो। ङिमाजीका लागि नेपाली समुदायका अगुवा र संघसंस्थाले श्रद्धाञ्जलि दिएकै थिए, परिवारजनमा समवेदना पनि प्रकट भएकै थियो। तर, उनीहरू फेसबुकमा सिमीत थिए त्यसैले एक जिम्मेवार पत्रकारका रूपमा उनीहरूको कुनै दायित्व पनि थिएन। उनीहरू पत्रकारिताको अभ्यास र उनीहरूको कामको प्रंशसा गर्न जन्मिएका पनि हैनन्। 

अमेरिकाको नेपाली डायस्पोराका हरेक मानिसमा मिडिया जंकी प्रवृतिको चरम विकास भएको छ। हरेकले आफूलाई विष्णु सम्झेर नारदको खोजी गरिरहेका छन्। र, केही नारद पनि तयार भैरहेको जस्तो देखिन्छ। मेरो विचारमा अजासु प्रवृति, विष्णु र नारद हुने लोभ हाम्रो समुदायका लागि कोरोनाभन्दा पनि घातक भाइरस हुन्। 

म यतिबेला जो साँच्चैको पत्रकारिता पढेका पनि हुन् वा अपवादले औपचारिक शिक्षा नलिई पनि पत्रकारिताको राम्रै अभ्यास गरिरहेका छन्, उनीहरू सबैलाई जिम्मेवारीका साथ पत्रकारिता गर्न अनुरोध गर्छु। यो युद्धमा मात्र हैन, हरेक प्रकारका युद्धमा पत्रकार अग्रिम युद्धमोर्चामा हुन्छन्। उनीहरूले नै समाचार सार्वजनिक गरेर आममानिसको सुसूचित हुने अधिकारको सम्मान गर्छन्। आजको समयमा सूचना नै शक्ति हो। यसैको आधारमा हरेक मानिसलाई शक्तिशाली बनाउँछन्। त्यो काम हामीले नै गर्ने हो। कसैले केही भन्दैमा हामी हाम्रो कर्तव्यबाट च्यूत हुन सक्दैनौ। 

काम गर्नेले नै गल्ती गर्ने हो, जो केही नै गर्दैन उसको त गल्ती हुने कुरै भएन। पत्रकारिताका क्रममा पनि गल्ती हुन्छन्। तर, ती गल्तीलाई दोहोर्याएर स्टेटमेन्ट बनाउनु हुदैन।यो वा त्यो वहानामा गल्तीको ढाकछोप गर्ने हैन, गल्ती स्वीकार गरेर माफी माग्ने हो। ङिमाजीको समाचारको क्रममा पनि गल्ती भएकै हो र त्यो गल्ति पत्रकारिताको अन्तिम गेटकिपर सम्पादकबाटै भएको हो। ई-कारितामा जसले समाचार अपलोड गरे पनि त्यसको जिम्मेवारी अन्तत: सम्पादकले नै लिनुपर्छ।

समाजका हरेक तप्कामा सही पात्र पनि हुन्छन्, गलत पात्र पनि। पत्रकारिता क्षेत्र पनि त्यसमा अपवाद छैन। तर, सबैलाई सामान्यीकरण गरेर एउटै डालोमा हालियो भने त्यो समग्र पत्रकारितामाथि नै अन्याय हुन्छ। यसै पनि सही पत्रकार आफ्नै खराब सहधर्मीबाट पीडित हुन्छन्, समाजले पनि उनीहरूमाथि नै चोर औला ठड्याउने हो भने कोही पनि पत्रकारिता गर्न तयार हुदैन। यसै पनि यो रेडकार्पेटवाला पेशा हैन।

एकछिन पत्रकार बिनाको समाजको कल्पना गरौं त-  के यो सम्भव छ? 

छैन तर आज पत्रकारिता सूचना मात्र हैन, त्योभन्दा बढी कोण हो । सूचना उही हुन्छ, तर त्यसलाई हेर्ने कोण भने फरक हुन सक्छ। उदाहरणका लागि नेपाली भेट्रन कलाकार सरोज खनाल अमेरिका फर्के। उनी अमेरिकी नागरिकलाई अमेरिका सरकारले आफ्नो देश फर्काएको चार्टर्ड बिमानबाट फर्के। यो  सूचना हो, यसका लागि फेसबुक भए पुग्छ, कुनै पत्रकारिता गर्नुपर्दैन। तर, यसपछाडिको यथार्थ ल्याउन कोण चाहिन्छ, त्यसैका लागि चाहिने हो पत्रकारिता। केही मानिस भन्छन्,  यसमा अरूको किन टाउको दुख्ने? म यस्ता मानिसहरूको गल्ती हो भन्दिन किनकि उनीहरुमा मिडिया लिटरेसी नै छैन। तर, जो मिडियाका बारेमा केही नै जान्दैनन् तर सबै जानेको अभिनय गर्छन् र अन्टसन्ट प्रतिक्रिया दिन्छन्, म त्यस्ता मानिसभित्रको त्यो राक्षसी प्रवृतिको अन्त होस् भन्ने कामना गर्छु ।

यति मात्र हैन, अमेरिकाको नेपाली डायस्पोराका हरेक मानिसमा मिडिया जंकी प्रवृतिको चरम विकास भएको छ। हरेकले आफूलाई विष्णु सम्झेर नारदको खोजी गरिरहेका छन्। र, केही नारद पनि तयार भैरहेको जस्तो देखिन्छ। मेरो विचारमा अजासु प्रवृति, विष्णु र नारद हुने प्रवृति हाम्रो समुदायका लागि कोरोनाभन्दा पनि घातक भाइरस हुन्। 

यी सबै पृष्ठभूमिमा ङिमाजी यो संसारमा नरहेको अहिलेसम्म पनि पुष्टि गर्न सकिँन। शायद यो मेरो कमजोरी होला, त्यसैले मैले चाहेर पनि त्यो समाचार बनाउन सकिन। एक जिम्मेवार पत्रकारका रूपमा म यतिबेला ङिमाजीलाई सोधिरहेको छु, ङिमाजी, म कसलाई सोधेर तपाईको मृत्युको पुष्टि गरौं ?

प्रकाशित मिति: Apr 09, 2020 04:59:51

प्रतिक्रिया दिनुहोस

सबै