पहाडका सुरक्षाकर्मी नेपाल–भारत सीमा क्षेत्रमा पठाइए, सेना पनि खटियो गस्तीमा

डिल्ली पाण्डे

काठमाडाैं

भारतमा कोरोना भाइरस संक्रमित बिरामीको संख्या बढेपछि सरकारले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा कडा बनाएको छ । त्यसका लागि पहाडी भेगका सशस्त्र प्रहरीलाई सीमामा झारेको छ भने नेपाली सेना पनि पठाएको छ ।

खुल्ला सीमा रहेको नेपाल–भारत आवतजावत दुवै देशले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको घोषणा गरेपछि पनि पूर्ण रुपमा बन्द हुनसकेको थिएन । भारतका संक्रमित सहजै प्रवेश नेपाल गर्न थालेपछि सरकारले पहाडी भेगका सुरक्षाकर्मीलाई नेपाल–भारत सिमानामा केन्द्रित गरेको हो ।  

नेपाली सेनाले पनि तराईका जिल्लामा गस्ती थालेको छ । केही जिल्लाका स्थानीयले प्रहरीलाई नटेरी लखेट्ने कामसमेत गरेपछि ‘ब्याप अप’ फोर्सका रुपमा सेनाले गस्ती सुरु गरेको हो ।

सामान्य अवस्थामा नेपाल–भारत सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीको हो । अब नेपाल प्रहरी र सेनाले शसस्त्र प्रहरीलाई सघाउन थालेको छ ।  

सरकारले ‘भीआईपी सुरक्षा’ का नाममा अनावश्यक खटाइएका सुरक्षाकर्मी तथा पहाडी भेगका शसस्त्र प्रहरी बल तथा नेपाल प्रहरीलाई सीमा सुरक्षामा खटाएको हो । 

पहाड र भीआईपी सुरक्षाका सशस्त्र सीमामा 

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले ‘पहाडी क्षेत्रमा रहेका र अनावश्यक भीआईपी सुरक्षामा रहेका दुई हजार तीन सय ८० जना सशस्त्र प्रहरी भारतसंग जोडिएको सिमानामा खटिएको’ जानकारी दिए । उनले भने, ‘कोरोना संक्रमितलाई नेपाल प्रवेशबाट रोक्न एक हजार २८ स्थानमा चेक प्वाइण्ट राखिएको छ।’ 

नेपाल–भारत सीमा सुरक्षामा सात हजार बढी सशस्त्र प्रहरी खटाएको छ। त्यतिले पर्याप्त नहुने देखेपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पहाड तथा हिमाली क्षेत्रमा रहेका तथा ‘भीआईपीको सुरक्षामा अनावश्यक खटाइएका’ सुरक्षाकर्मीलाई झिकेर सिमानामा पठाउन निर्देशन दिएको पनि प्रवक्ता शर्माले जानकारी दिए । 

बीएल नेपाली सेवासँग गृह–प्रवक्ता शर्माले भने, ‘नेपाल–भारत सीमा सिल गरिएको छ, खुला सिमाना भएका कारण उताबाट आउनेहरु भागेर पनि नेपाल पसेको देखियो । हामी त्यसरी आउन नदिन थप सुरक्षा व्यवस्था मिलाएका छौँ।’

प्रहरी पनि थपिए

अहिले नेपाल–भारत सिमानामा प्रत्येक दुई किलोमिटरको दूरीमा ‘ड्यूटी पोष्ट’ राखिएको छ। 

त्यसैगरी, प्रहरी प्रधान कार्यालयले पनि भीआईपी सुरक्षामा आवश्यकताभन्दा बढी रहेका नेपाल प्रहरीलाई पनि तराईमा खटाउने तयारी गरिरहेको छ । प्रधान कार्यालय स्रोतले भन्यो, ‘अविवाहित र कम उमेरका प्रहरीलाई तराईका जिल्लामा पठाउने तयारी भइरहेको छ ।’

सेना पनि गस्तीमा

तराईका जिल्लामा लकडाउन अवज्ञा गर्नेहरु बढेपछि त्यहाँ नेपाली सेनाले समेत गस्ती गर्न थालेको छ ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बीएल नेपाली सेवासँग भने, ‘सरकारले गरेको लकडाउनलाई तराईका जिल्लामा केहीले अवज्ञा गरेको देखियो । अनि भारतीय सीमा क्षेत्रबाट कोरोना संक्रमितहरु सहजै आउने समस्या हुन नदिन सेनाले गस्ती थालेको हो ।’
सैनिक प्रवक्ता पाण्डे तराईका जिल्लामा लकडाउन उल्लङ्घन गर्नेहरु बढ्न थालेपछि सेनाले गस्ती थालेको बताए । उनले भने, ‘शसस्त्र प्रहरी बलसँग समन्वय गरी सेनाले विभिन्न स्थानमा गस्ती थालेको छ । आवश्यकता अनुसार सेनाले सुरक्षा जाँच पनि गर्छ ।’


 

प्रकाशित मिति: : 2020-04-15 16:52:33

प्रतिकृया दिनुहोस्