कोरोना भाइरस: एक्वडोर जहाँ एकै रातमा ५,००० जनाभन्दा बढीको मृत्यु दर्ता भयो

कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट नराम्ररी प्रभावित बनेको एक्वडोरको ग्वाएआस क्षेत्रमा मृत्यु हुने व्यक्तिको अभिलेख जाँचिदा एउटा भयावह तथ्य थाहा भयो।

एप्रिल महिनाका मध्यमा आई पुग्दा मृत्यु हुनेको सङ्ख्या ६,७०० भएको देखियो। यो सङ्ख्या पुरानो अभिलेखमा भएको उल्लेख भएको भन्दा ५,००० ले बढी हो।

मृतकको सङ्ख्याले ग्वाएआस राज्यलाई देशको मात्रै नभई पूरै ल्याटिन अमेरिकाकै सबैभन्दा बढी कोरोनाभाइरस प्रभावित क्षेत्र बनाएको छ।

अनि यो केवल कोभिड-१९ बाट भएको मृत्यु मात्रै होइन।

महामारीका कारण अन्य स्वास्थ्य समस्या भएका र तत्काल उपचारको आवश्यकतामा रहेका बिरामीहरूले उपचार नपाएका कारण पनि मृत्यु हुनेको सङ्ख्या बढेको स्थानीय स्वास्थ्य अधिकारीहरू बताउँछन्।

ग्वायाकिल - मृतहरूको सहर

"हामीले मरेका मानिसहरू कार, एम्बुलेन्स, घर र सडकमा भेटेका छौँ," ग्वायाकिलस्थित शवगृहमा कार्यरत एक कर्मचारीले भनिन्।

सहरका घरबारविहीन केही मानिसहरू भोकका कारण सडकमै मरिरहेका छन्

"उनीहरू अस्पतालमा भर्ना नहुनुको एउटा कारण बिरामी राख्ने शय्याको अभाव पनि हो। निजी क्लिनिकमा उनीहरू गए भने पैसा तिर्नुपर्छ र सबैले उपचारका लागि खर्च गर्न सक्दैनन्," उनले भनिन्।

पच्चीस लाख जनसङ्ख्या रहेको यो सहर कोरोनाभाइरसबाट प्रभावित हुँदा शवगृहहरू थेग्नै नसक्नेगरी भरिएका छन् भने धेरैजसो बन्द भएका छन्।

कर्मचारी नै सङ्क्रमित हुन सक्ने डरका कारण ती शवगृह बन्द भएका हुन्।

प्रकाशित मिति: : 2020-04-19 16:12:00

प्रतिकृया दिनुहोस्