गर्भवति आमाले घरमै विशेष ख्याल गरे अस्पताल धाइरहनु पर्दैन- डा. लक्ष्मी थापा (भिडियो)

अहिले विश्वभर कोरोनाको त्रास छ। कोरोनाको संक्रमण थप फैलन नदिन सरकारले लकडाउन घोषणा गरेको छ। मानिसहरू घरभित्रै सुरक्षित बसेका छन्।

गर्भवति महिलालाईसमेत नियमित चेकजाँचका लागि अस्पताल आउजाउ गर्न समस्या भइरहेको छ ।

एकातिर कोरोना भाइरसको संक्रमणको भय, अर्कोतर्फ चिकित्सकको निगरानीमा गर्भमा रहेको बच्चाको अवस्था बुझ्न कठिनाई हुँदा गर्भवति महिला बढी चिन्तित छन्। 

यस्तो अवस्थामा गर्भवति महिलाले कसरी आफ्नो र बच्चाको हेरचाह गर्ने भन्ने सेरोफेरोमा बिएल नेपाली सेवाका लागि बिमला गुप्ताले वीरगन्ज नारायणी अस्पतालकी स्त्री तथा प्रशूति रोग विशेषज्ञ डा. लक्ष्मी थापासँग कुराकानी गरेको छ। प्रश्तुत छ। थापासँगको कुराकानीको सम्पादीत अंश।

डाक्टर लक्ष्मी थापा

स्त्र तथा प्रशूति रोग विशेषज्ञ, नारायणी अस्पताल, विरगन्ज

गर्भवति महिलालाई दिनहुँ सन्तुलित आहारको आवश्यकता हुन्छ, साथै यस्तो बेला निरन्तरको चेकजाँच र आईरन क्याल्सियम जस्ता औषधिको पनि आवश्यकता हुन्छ। यस्तो कठिन परीस्थितिमा गर्भवति महिलाले अन्य दिनको भन्दा विशेष रूपले घरमै बसेर आफू र बच्चाको ध्यान दिने। तर जोखिमपूर्ण अवस्था भएमा चिकित्सकसँग समयमै सम्पर्क गर्न आवश्यक रहेको डाक्टर थापाले बताइन्।

‘यदि गर्भवति महिलालाई समय अगावै अचानक रगत पानी बग्न थालेमा, ढाड तथा पेट बेस्सरी दुख्न थाले, ब्लड प्रेशर बढेर हात खुट्टा सुन्निन थालेमा साथै लगातारको  टाउको दुखाई र ज्वरो आए नजिकको स्थास्थ्य चौकी अथवा नियमित जाँच गराउने डाक्टरसँग सल्लाह गरिहाल्नुपर्छ’, थापाले भनिन्, ‘बच्चा पेटमा नचले अथवा अन्य दिनभन्दा कम बढी चले यस्तो जोखिमपूर्ण अवस्थामा चिकित्सकसँग सम्पर्क गर्नुपर्छ।’

गर्भमा रहेको बच्चा २४ घण्टाको अवधिमा १० देखि १२ पटकसम्म चलेको हुनुपर्ने उनले बताइन्। ‘यदि आमा पहिलो पटक गर्भवति हुनुहुन्छ भने १ घण्टामा १ पटक बच्चा चलेको थाहा पाउनुपर्छ। यस्तो भए गर्भमा रहेको बच्चाको अवस्था सही छ भनेर बुझ्नुपर्छ। यदि बच्चा यो भन्दा बढि अथवा कम चलेको महशुस भए आफ्नो डाक्टरसँग सम्पर्क गरी हाल्नुपर्छ’, उनले भनिन्।

आमाको आहारले भ्रूणको विकास हुने भएकाले गर्भवति महिलालाई अन्य दिनकोभन्दा विशेष पोषणतत्वको आवश्यकता पर्ने उनले बताइन्। तर लकडाउनको समयमा गर्भवतिले घरमा भएका खानेकुरा जे उपलब्ध छ त्यसलाई नै सही तरीकाले उपयोग गरे आमा र बच्चाले सही पोषण पाउनसक्ने डा. थापा बताउँछिन्।

‘माछा, मासु अण्डाबाट नै सही पोषण पाउँछ भन्ने सोँच गलत हो। अहिले संक्रमणको समयमा बाहिर असुरक्षित तरिकाले पाईने खानेकुरा खानुभन्दा गर्भवति आमाले शाकाहारी भोजन तथा घरमै भएको खानेकुराबाट सन्तुलित आहार प्राप्त गर्न सक्छिन्’, डा. थापाले भनिन्, ‘अहिले लकडाउनको समयमा औषधिको लागि बारम्बार अस्पताल जानु पनि उचित छैन। गर्भवति महिलाले खाने औषधि भनेको आईरन र क्याल्सियम चक्की हो। गर्भवति भएको ४ महिनादेखि सुत्केरी भएको ३ महिनासम्म यस चक्कीलाई खान सकिन्छ। जसलाई नजिकको स्वास्थ्य चौकी अथवा आफूले चेकअप गराएको डाक्टरको पूर्जा अनुसार एकै पटक ल्याएर राख्दा हुन्छ।’

गर्भावस्थामा महिलाहरू आफू र बच्चाको सही स्वास्थ्य अवस्था बुझ्न प्रत्येक महिना अस्पताल जानु पर्ने हुन्छ। तर डा. थापा भन्छिन्,‘गर्भवति आमा र बच्चाको अवस्था समान्य भए यो अवस्थामा घर बाहिर ननिस्कनु उपयुक्त हुन्छ। सकेजति घरमै बसेर आफ्नो र गर्भको ध्यान दिए सुरक्षित हुनसक्ने उनको भनाई छ।

‘गर्भवति आमाले भारी नउठाउने, भर्‍याङ्ग ओहोरदोहोर नगर्ने, झुकेर काम नगर्ने, बढी तेल मसला तथा बासी खानेकुरा नखाने, उचित खानपान तथा आरामको ख्याल गर्दै सरसफाईमा ध्यान दिनुपर्छ। गर्भवति महिलाले साधारण कुरामा ख्याल गरे ठूला जोखिमबाट आफू र बच्चालाई जोगाउन सक्छिन्’, उनले भनिन्।

डा. थापाका अनुसार यदि केही समस्या भए अस्पताल आउनुभन्दा पहिले आफ्नो नियमित चेकजाच गराईरहने डाक्टरसँग सम्पर्क गर्नुपर्छ। समस्या जटिल भए अथवा बच्चा जन्मिने समय पुरा भए मात्र अस्पताल आउँदा राम्रो हुने उनले बताइन्।

प्रकाशित मिति: : 2020-04-22 16:59:00

प्रतिकृया दिनुहोस्