ताङतिङमा फक्रिएको एउटा फूल 

विद्यालय 

ताङतिङमा फक्रिएको एउटा फूल 

हाम्रो गाउँ ताङतिङबाट लाहोर जाने चलन थियो। मेरा बाजे बेलायती सेनामा भर्ती भएर पहिलो विश्वयुद्व लडेका थिए! बुबा पनि बेलायती सेनामै हुनुहुन्थ्यो। लाहुरे जाने वातावरण थियो गाउँमा। 

छिमेकमा काका र दाइहरू पल्टने पोशाकमा ठाँटिएर लाहोरबाट फर्कन्थे। उनीहरू काँधमा रेडियो भिरेर बुट बजार्दै गाउँको फन्को मार्थे। हामी केटाकेटी तिनका  वरिपरि झुम्मिन्थ्यौं। उनीहरू दुश्मनसँग भिडेका कुरा सुनाउँथे। उनीहरूको बहादुरीका कथा सुन्दा हाम्रो आङ सिरिङ्ङ हुन्थ्यो

हाम्रो गामबेंसीतिर लाहुरे हुनु राम्रो मानिन्थ्यो। त्यसैले सानो छँदा म पनि भन्थेँ, ‘भविष्यमा म पनि लाहुरे बन्छु।’ 

लाहुरे हुने बाटो रोकिन्छ कि भनेर सानो चोटपटक लाग्दा पनि खूब पीर पर्थ्यो। जीवनमा सबै कुरा चाहेजस्तो नहुने रहेछ। मलाई समयले एउटा शिक्षक बनाइदियो। तर, यतिखेर मलाई कुनै गुनासो छैन। 

हरेक मान्छेको जीवनको पाठ्यक्रम आफ्नै हातमा हुन्छ। यसको योजना, उद्देश्य समयसापेक्ष परिवर्तन गर्न सकिन्छ। हाम्रो गाउँ ताङतिङमुन्तिर सोधाको दूधपोखरी माध्यामिक विद्यालयमा उकालीओराली गर्दै दुःखले पढेको हुँदा मेरो जीवनको रोडम्याप परिवर्तन भयो। लाहोर जाने सपना त्यागेर गाउँकै शिक्षामा समर्पित हुने अठोट गरेँ। 

अब कुरा गरौं, हाम्रो गाउँको विद्यालयको। विसं २०१३ भदौमा शिक्षाप्रेमी वीरसिंह गुरुङको पहलमा सुवेदार काशीराम गुरुङ लगायत अग्रजहरूको सक्रियतामा डिष्ट्रिक्ट सोल्जर बोर्ड (हालको भारतीय पेन्सन क्याम्प) को आर्थिक सहयोगमा गाउँदेखि पश्चिममा रहेको थोसुकोमा दानबहादुर गुरुङको घरमा विद्यालय शुरू गरियो। 

त्यतिबेला २० जना विद्यार्थी थिए। नार्माजुङ गाविसका निवर्तमान अध्यक्ष टेकशाही गुरुङ शिक्षक हुनुहुन्थ्यो। श्री हिमालय मिलन माध्यमिक विद्यालय स्थापना गर्नमा भूपू माननीय नन्दजङ गुरुङ, भूपू प्रधानपञ्च हर्कजङ गुरुङ, भूतपूर्व सेनाका दाजुभाइ, भद्रभलादमी लगायतको महत्वपूर्ण देन छ।

सोल्जर बोर्ड पोखरा र गाउँलेहरूको श्रमदानबाट थोसुकोमा १६ हात लम्बाइको दुई तले भवन बनाइएको थियो। भारतीय सेनाका रिटायर्ड भीमबहादुर गुरुङ शिक्षकमा नियुक्त हुनुभयो। जहाँ ४५ जना विद्यार्थी थिए। सिङवीर गुरुङ र हिमप्रसाद गुरुङले पनि शिक्षा दान गर्नुभयो।   

विसं २०३१ मा खड्ग लामाले निःशुल्क जग्गा दान गरेपछि विद्यालय माफुमा सारियो र निम्न माध्यमिक तह अर्थात् कक्षा सातसम्मको पढाइ सञ्चालन गरियो। यसरी २०३१ बाट २०५७ सालसम्म करीब २६ वर्षसम्म कास्की जिल्लाको ताङतिङ गाउँमा माध्यमिक विद्यालय स्थापना हुन सकेन।

२०५२/०५३ तिर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कजङ गुरुङ हुनुहुन्थ्यो। विद्यालयको भौतिक अवस्था नाजुक थियो। हावाले टिन उडाउने, गाराहरूको कमजोर अवस्था र कक्षाकोठा अपुग थियो। उहाँको पहलमा पाहार ट्रस्ट नेपालसँग नयाँ भवन बनाउन सम्झौता भयो। जसमा ट्रस्टका नेपाल अध्यक्ष शिक्षाप्रेमी आदरणीय चन्द्रबहादुर गुरुङ संस्थापक, आदरणीय पूर्णबहादुर लामा र भेना नन्दरास गुरुङको ठूलो सहयोग थियो। 

जग्गादाताहरू पूज्यनीय मेजर दिपकबहादुर गुरुङ (पूर्व सभासद्) र मेजर बालासिङ गुरुङको सहयोगविना विद्यालय भवन बन्ने सम्भावना थिएन। तर, सम्झौता भएको २–३ वर्षसम्म विद्यालय भवन निर्माण हुन सकेन। हाल विद्यालय भवन रहेको माखुस्थित कालेखेतमा विविध कारण काम शुरू भएन। तत्कालीन प्रधानाध्यापक श्रीप्रसाद गुरुङ वैदेशिक रोजगारका सिलसिलामा विदेश जानुभएपछि २०५४ सालदेखि मैले प्रधानाध्यापकको जिम्मेवारी सम्हालेँ। 

त्यतिबेला म २८ बर्से लक्का जवान थिएँ। केही गरौँ भन्ने जोश थियो। हामीले जिल्ला शिक्षा कार्यालय कास्कीबाट २०५५ सालमा कक्षा ८ को अनुमति ल्यायौं। पाहार ट्रस्ट मार्फत एघार कोठे आरसीसी भवन बनाउने प्रतिबद्धता गर्‍यौं। शुरूमा दुई तीन वर्षसम्म निर्माण हुन नसक्दा दाताहरूले विश्वास गरेनन्।

नामार्जुङ गाविस, विशेष गरेर तत्कालीन गाविस अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रद्धेय हर्कबहादुर गुरुङ र समाजसेवी बालासिङ गुरुङ, भद्रभलादमी, शिक्षक साथीहरू, आमा समूह सबै गाउँलेको राम्रो सहयोग मिल्यो। 

सिमेन्ट, छड जस्ता निर्माण सामग्री पोखराको विजयपुर खोला र बालुवा मादी खोलाबाट, एक दिने बाटो पोरुवास लेकबाट ढलान र झ्यालढोकाको काठ बोक्नुपर्ने अनि तीस प्रतिशत जनश्रमदान गर्नुपर्ने। हामीलाई नयाँ भवन पाउने अवसरसँगै चुनौती पनि थियो। 

हामी एकजुट भएर काम गर्‍यौं। ताङतिङ आमा समूहले छोर्येतेबाट विद्यालय जाने गोरेटोे निर्माण गरिदियो। गाउँको टोलटोलका आमा समूहले सहयोग गरे। नामार्जुङ गाविसले पनि केही सहयोग गर्‍यो। ताङतिङ गाउँका जनताले अमूल्य योगदान पुर्‍याए। शुरूवाती दिनमा केही आमाबुबाहरूले शिक्षाको महत्व नबुझेर जनश्रमदान दिन असहमति पनि जनाए। तर, हामीले सम्झाइबुझाइ गरेपछि राम्रोसँग सहयोग मिल्यो। हामीले तोकिएकै समय २०५६ सालमा विद्यालय भवन बनायौं। 

नवनिर्मित भवनको उद्घाटन बिसं २०५७ मा भयो। आइल अफ मेन बेलायतबाट पाहार ट्रस्ट नेपालका अध्यक्ष हावर्ड ग्रिन एमबिई मितेरी स्कुल प्रधानाध्यापक जोनरेली आउनुभयो। हामीले फेरि ताङतिङे नानीहरूका लागि एसएलसीको होस्टल बनाउन अनुरोध गर्‍यौं। उहाँले खुसी व्यक्त गर्नुभयो। उहाँहरूले छात्राबास बनाउन सहयोग गर्नुभयो।

हाम्रो गुरुङ बस्ती पहाडी भेगमा तत्कालीन समयमा एसएलसी उत्तीर्ण हुन गाह्रो थियो। छिमेकी गाउँहरू सिक्लेस र सोधाको एसएलसी नतीजा २–३ साल यता शून्य जस्तै थियो। 

विसं २०५७ मा हामीले ताङतिङमा माध्यमिक विद्यालय स्थापना गर्‍यौ। यसका  लागि ताङतिङका बासिन्दा र विश्वभर छरिएका ताङतिङे र अन्य महानुभावले सहयोग गरे। दूधपोखरी तमु समाज पोखरा, ताङतिङ समाज युके, जापानमा रहेका कुवेर गुरुङ, केशबहादुर गुरुङ, टंकप्रसाद गुरुङ, ओम लामा, रनध्वज लगायत, कोरियामा रहेका भीमबहादुर गुरुङ, गगनसिङ गुरुङ लगायत धेरै महानुभाव, आमा समूह, युवा बुद्धिजीवी, ताङतिङ लघु जलविद्युत समिति लगायत धेरैको सहयोग प्राप्त भयो। 

माध्यमिक विद्यालयमा अध्यापन गराउने सबै शिक्षकको तलबभत्ता विद्यालयले नै ब्यहोर्नुपर्ने थियो। मावि सञ्चालन गर्नु हात्ती पाले जस्तो थियो। जसको व्ययभार बर्सेनि एकदम बढी थियो। यसका लागि पछि मितेरी स्कुल सेन्टथोमस प्राथमिक विद्यालयका प्रधानाध्यापक जोनरेलीले पनि सहयोग गर्नुभयो।

न्यू स्कुल विश्वविद्यालय अमेरिकाको क्याम्पस चिफ प्रोफेसर अशोक गुरुङले पनि महत्वपूर्ण सहयोग पुर्‍याउनुभयो। टोलटोलमा आमा समूहहरूले सक्दो सहयोग गरे। एसएलसीको नतीजा पनि राम्रो हुँदै आयो। पोखरा आसपासमा एसएलसी उत्तीर्ण हुन नसकेका  विद्यार्थी पनि हाम्रो छात्रवासमा बसेर पढ्न आउँथे, त्यो माओवादी द्वन्द्वको अप्ठेरो बेलामा पनि। 

यसरी हाम्रो पालामा प्रत्येक बिहान २ घण्टा ओरालो हिँडेर माध्यमिक कक्षा पढ्न सोधामा जानुपथ्र्यो। अब गाउँमै पढ्ने मौका मिल्यो। 

विद्यालयको विकासमा धेरैले भौतिक तथा नैतिक सहयोग गरेका छन्। नेपाल सरकारले २०६६ सालपछि तीन जना राहत शिक्षक व्यवस्था गरिदिएको छ। 

पाहार ट्रस्ट मार्फत नै मेडस्टोन ग्रामर स्कुल फर गर्ल बकल्यान्ड रोड, बेलायतसँग हाम्रो विद्यालयको २०६८ सालमा मितेरी सम्बन्ध गाँसिएको छ। मितेरी स्कुलले हामीलाई बर्सेनी विज्ञान प्रयोगशाला, शैक्षिक सामग्री, सूचना, सञ्चार र प्रविधिलगायत शिक्षण सुधारमा सहयोग गरिरहेको छ।

विद्यालयमा सुविधा सम्पन्न कम्प्युटर ल्याब, पुस्तकालय, विज्ञान प्रयोगशाला लगायत परियोजनामा आधारित, गरेर सिक्ने जीवनोपयोगी सीप, सिर्जनशीलता, अन्तक्रियात्मक विद्यार्थी केन्द्रित शिक्षण विधि नविनतम् शिक्षण विधिबाट सिकाइतिर उन्मुख छ। 

पछिल्लो दुई दशक (२०५७ देखि २०७६ सालसम्म) मा हरेक घरबाट एसएलसी, आइए वा विश्वविद्यालयको अध्ययन पूरा गरेका दक्ष जनशक्ति उत्पादन भइसकेका छन्। हाम्रो विद्यालका भाइबहिनीहरू स्वास्थ्यकर्मी, शिक्षक, समाजसेवी, प्राविधिक, व्यवसायी, बैंकर, सेना र अन्य क्षेत्रमा व्यावसायिक दक्षता हासिल गर्न सफल भएका छन्। 

यसरी एकाइसौँ शताब्दीमा सूचना, सञ्चार र प्रविधिलाई सिकाइसँग जोडेर जीवनोपयोगी, सीपमूलक, वैज्ञानिक शिक्षा, स्थानीय रूपबाट, विश्वसम्मको एजेण्डाहरू, समस्याको समाधान गर्न सक्ने क्षमता विकास गर्ने, विश्वका नागरिकलाई आपसी सहयोग गर्न सक्ने सिकाइ समयको आवश्यकता हो।

यीनै कुरालाई मनन गरी आगामी दिनमा हाम्रो विद्यालयले आफ्नो लक्ष्य पूरा अगाडि बढ्दै जानुपर्छ। बसाईंसराइले गर्दा हाल ताङतिङको जनसङख्या घट्दैछ। त्यसैले विद्यार्थी पनि घट्दै छन्। जो भएका विद्यार्थीलाई राम्रो शिक्षा दिनु हाम्रो दायित्व हो। 

जीवनमा केही पाइएला भनेर काम गरिएको होइन, आत्मसन्तुष्टिका लागि आफ्नो गाउँको शैक्षिक विकासमा लागेको हुँ। यद्यपि हाम्रो कामको मूल्यांकन गरेर  शैक्षिक अभियानमा हौसला बढाउन मलाई विभिन्न संघसंस्थाले सम्मान तथा पुरस्कार दिएका छन्। 

जिल्ला शिक्षा समिति कास्कीले राष्ट्रिय शिक्षा दिवस– २०६० मा सम्मान, विसं २०६५ मा शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा पुरस्कार, २०६० मा पदकसहित सम्मानपत्र, माध्यमिक शैक्षिक कल्याणकारी कोषबाट २०७० मा सम्मान प्राप्त भएको छ।

त्यस्तै २०७३ मा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र ब्रिटिस काउन्सिलद्वारा सहकार्यमा गरिने आइएसए अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार हाम्रो विद्यालयले प्राप्त गरिसकेको छ। यसबाट निरन्तर काममा लाग्न ऊर्जा मिलेको छ। 

ताङतिङको शैक्षिक विकासमा सिँगो जवानी बिताएँ मैले। अझै केही वर्ष शिक्षा क्षेत्रमै लाग्छु। हिमालय मिलन मावि यहाँसम्म आइपुग्नुमा धेरैको योगदान छ। पछिल्लो समय, मैले नेतृत्व सम्हालेको मात्रै हो। म हाम्रो शैक्षिक अभियानमा हातेमालो गर्ने सबैलाई हृदयदेखि नै धन्यवाद दिन्छु। 

(गुरुङ हिमालय मिलन मावि, ताङतिङ, कास्कीका प्रधानाध्यापक हुन्।) 

यो पनि हेर्नुहोस्

वाह ताङतिङ!

प्रकाशित मिति: Jul 30, 2020 13:55:38

प्रतिक्रिया दिनुहोस

सबै