अब ३ घण्टा अगावै चट्याङ पर्ने स्थान र समय सार्वजनिक गरिने

बिएल संवाददाता

काठमाडाै‌ं

ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ।

विभागले यअसघि वर्षात, हावाहुरी, बाढी र पहिरो आउने स्थान र समयको पूर्वानुमान गर्दै आएको छ।

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी वर्षायामदेखि नै चट्याङको पूर्वामानुमान गर्ने गरी भइरहेको जानकारी दिए।  उनका अनुसार विभागले ३ घण्टा अगावै चट्याङ पर्ने स्थान र समय सार्वजनिक गर्नेछ। समयमै सही सूचना प्रवाह गर्न सके चट्याङबाट हुने मानवीय क्षति कम गराउन सकिने उनले विश्वास ब्यक्त गरेका छन्।

‘चट्याङबाट हरेक वर्ष १ सय भन्दा बढीको मृत्यु हुने गरेको तथ्याङ्क छ। ‘समयमै सूचना प्रवाह गर्न सकियो भने चट्याङबाट हुने मानवीय क्षति रोक्न सकिन्छ,’सम्बद्ध पक्षसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले भने।

उनले पछिल्लो समय मौसम विभागले गर्ने पूर्वानुमानप्रति जनस्तरमा विश्वासको वातावरण बढ्दै गएकाले सन्तोष व्यक्त गर्दै आगामी दिनमा थप सुधार गर्ने प्रतिबद्धता जनाए।

जल तथा मौसम पूर्वानुमान महाशाखाका उपमहानिर्देशक जगदीश्वर कर्माचार्यले चट्याङ पर्ने स्थान र समयबारे पूर्वानुमान असम्भव नरहेको बताए।

‘अरु देशहरुमा यो प्रविधि अहिले पनि छ’, उनले भने, ‘अब हामी पनि छिट्टै चट्याङबारे पूर्वानुमान गरेर सूचना प्रवाह गर्दैछौं।’ 

प्रकाशित मिति: : 2020-05-05 17:48:20

प्रतिकृया दिनुहोस्