र अब जीवनको कुरा गरौं !

जीवन अमूल्य छ। कहिले हाँसो त, कहिले आँसु। यो त प्रक्रिया न हो। जीवन अर्थात् जिन्दगीलाई यात्रासँग सहजै तुलना गर्न सकिन्छ। यात्रामा कतिपय कठिन त कति सरल बाटोहरु भेटिन्छन्। नपत्याए सबैभन्दा धेरै यात्रा गर्ने मानिसलाई सोध्नुहोस्, हर मानिसको जीवन चलिरहेको छ र यो त सधै चल्छ नै। जस्तै यात्रा जोडियो। यात्रा संयोग हो। यो सधै र सबैका लागि सुखद् नै हुन्छ। 

खुसी हुनेहरु अवस्य दुःखी पनि हुन्छन्। यो अनौठो हुँदै होइन। सुख र दुःख मिसियो भने तनाव बढ्छ। मानिस सधै सुख या दुःखमा हुनै सक्दैन। दैनिकी त पक्का फेरिन्छ। समय सबैका लागि तम्तयार हुन्छन् र छन् पनि। मात्र पालो कुर्ने हो, दिनपछि रात आउँछ भने झैँ। जीवनका धेरै पक्षहरू आफूमै निर्भर हुन्छन्। एकपटक सोच्नुहोस् त, वास्तवमै जीवन के रहेछ? 

आजकाल प्रायः मानिसहरु ह्वाट्सएप र फेसबुक च्याटमा निकै नै अपडेट हुन्छन्। यस्तो जीवन त्यहाँ भेटिदैन। बरु चलचित्र र पुस्तकहरुमा मज्जाको जीवन भेटिन्छ। अहिले सजिलो छ। गुगल दिमाग प्रयोग गर्नुहोस्। यसको अर्थ अनलाइनमा सबै भेटिन्छन्। पढ्नुहोस्, हेर्नुहोस् र फेरिपनि सोच्नुहोस्।

साथीहरुलाई सोध्नुहोस्, जीवन कस्तो छ?, कस्तो चलिरहेको छ?. वास्तवमा उनीहरु एक शब्दमा जवाफ दिन्छन् र भन्छन्, ‘गाह्रो छ’, ‘तनाब छ’, अप्ठेरो छ’। किन प्रतिप्रश्न गर्नुहोस्, ‘यस्तै त हो नि, आफ्नो त सोचे जस्तो छैन। फलानोले घर बनायो, फलानोले जग्गा जोड्यो – तनाव छ।’ यो कुरा राम्रोसँग थाहा छ उनीहरु आफ्नो बारेमा सोच्ने फुर्सदमा नै छैनन्। बस् अरुकै बारेमा सोचिरहेका छन् र उनीहरुकै कुरा गर्छन्। जति खोजेपनि यहाँ जीवन कहिल्यै भेटिनेवाला छैन। किनकी यहाँ यस्तै चलिरहन्छ.....।

सीमानामा लडिरहेको सिपाहीलाई सोध्नुहोस्, जीवन कस्तो छ? आफ्नो परिवारको सपना त्यागेर करोडौंको परिवारलाई सुरक्षित राख्न खटिरहेको हुन्छ। जहाँ ब्यक्तिगत सपना थोरै र देशका सपनाहरु भारी हुन्छन्। ल.. सोध्नुहोस् त, सीमाको सिपाहीलाई। पक्का, जवाफ तपाईको मन खेलिरहेको छ.......।

नारीलाई जीवन कस्तो छ सोध्नुहोस्, जसले आफ्नो जीवनको बालापन र युवा अवस्था बाबु–आमाको समिपमा बिताउँछ। र फेरि नयाँ जीवन सुरु गर्न सम्पूर्ण जीवन अर्कै घरमा, अर्कैसँग लैजान्छ । हो उसलाई सोध्नुहोस् आखिर जीवन के रहेछ? यहाँ पनि तस्वीर आफै बोल्यो होला.....।

जीवन कस्तो छ? आश्रममा राखिएका बाबु–आमालाई सोध्नुहोस्, जसका छोराछारीहरु मुलुक बाहिर वा शहरतिर छन्। यी बुबा–आमा तिनै जो पुरानो घरबाट नयाँ बाटो देखाए तर, आफैँ आश्रममा पुगे। कस्तो रहेछ – जीवन?, आभास गर्नुहोस् त अँह.........।

जीवनका आ–आफ्नै व्याख्याहरु दिमागमा आउनेछन्, यदि, शान्त भएर सोचियो भने। तर यो पनि जरुर छ कि, प्रत्येक मानिसको परिभाषा उसको स्थिति अनुरुप हुन्छ। जीवन पनि समय–समयमा परिवर्तन हुन्छ। समाज फरक र फराकिलो पनि रहेछ, सबैमा। तर, चीजप्रति सकारात्मक दृष्टिकोण आउन जरुरी देखिन्छ। ताकि जीवनमा सुन्दर र सरल भाब सुधार होस्। जीवन छोटो तर धेरै विशाल छ। यहाँ उतार–चढावहरू छन् र आइरहने छन्। ठूलो संसारमा जीवन अनिश्चित छ। र अब जीवनको कुरा गरौं.........!

प्रकाशित मिति: : 2021-01-13 14:27:00

प्रतिकृया दिनुहोस्