मदनसँगका १४ वर्ष १० महिना

बाह्रखरी

काठमाडौँ

यकिन सम्झना छैन । २०३५ को असार अन्तिमतिर वा साउन नै लागि सकेको हुनुपर्छ । मध्य वर्षात्मा हराभरा बनेका खेतबारी र वन बुट्यानले गर्मी यामको खपिनसक्नु उष्णतालाई रोक्न सकिरहेका थिएनन् । म भने कहिल्यै नगएका–नपुगेका वस्तीहरू छिचोल्दै पार्टीका एकजना स्थानीय कार्यकर्तासँग मोरङको इटहरा गाउँ खोज्दै हिँडिरहेको थिएँ । मेरो यात्रा ‘झापाली क्रान्तिकारी लाइन’बाट प्रभावित भइ ‘को–अर्डिनेशन केन्द्र’ (कोके) मा भर्खरै सामेल भएका एक जना क्रान्तिकारी ‘जीवन शर्मा’लाई कोकेको ‘तेस्रो सम्मेलन’मा सहभागी गराउने उद्देश्यबाट प्रेरित थियो ।

कुरा के थियो भने– पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्टीको ‘मोर्चा संगठन’ का अधिकांश नेता–कार्यकर्ताले भर्खरै ‘विद्रोह’ गरेका थिए । नेतृत्वको ‘अवसरवादी आचरण’का कारण देखाउँदै विद्रोह गरी उनीहरूले ‘झापाली क्रान्तिकारीहरू’ ले गठन गरेको ‘को–अर्डिनेशन केन्द्र’मा सामेल हुने घोषणा गरेका थिए । उनीहरूको संगठन ‘मुक्ति–मोर्चा’ नामले चिनिन्थ्यो । ‘जीवन शर्मा’ त्यही समूहका एकजना अगुवा हुनुहुन्थ्यो र म उहाँलाई सम्पर्क गरी २०३५ साउन ४–९ गते हुन लागेको ‘कोके’ को ‘तेस्रो सम्मेलन’मा सहभागी गराउन गएको थिएँ । सोध्दै–खोज्दै, रात–साँझ गर्दै म ‘जीवन शर्मा’को गाउँ इटहरा पुगेको थिएँ । एकदिनको पखाईपछि कालो टोपी, फिक्का आकासे रंगको टेरिकटनको सर्ट र हाफ प्यान्ट लगाएको, जुँगा पालेको र कम्मरमा खुकुरी भिरेको एउटा नौजवानलाई मैले भेटेँ । आखिर ‘जीवन शर्मा’को नामले मसँग चिनाइएका ती व्यक्तित्व नै मदन भण्डारी हुनुहुँदो रहेछ !
                               

प्रकाशित मिति: : 2020-05-16 10:28:15

प्रतिकृया दिनुहोस्