‘बेलैमा बिहे नगरेकोमा अहिले पश्चाताप लागेको छ’ (भिडियोसहित)

४६ वर्षिय सुवास लिम्बु हरेक दिन बिहान ७ बजे कोठाबाट निस्किएर भारी बोक्ने काम गर्दै आएको लामो समय भयो। विगत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण उनको यो पेशाले पनि विश्राम लिएको छ।

यसअघि बिरामी हुँदा बाहेक आराम नगर्ने उनी हिजोआज पुरै फुर्सदिलो भएका छन्। 

२०३१ सालमा ताप्लेजुङको नाम्खोलेङ्गमा जन्मिएका लिम्बुको बाल्यकाल दुःख र अभावमै बित्यो।

बाबु महित राज र आमा तिर्थ कुमारीका ६ मध्ये पाँचौं सन्तानका रूपमा जन्मिका उनले घरको आर्थिक समस्याकै कारण पढ्न नपाएको गुनासो गरे।

पढाई लेखाईमा औधि रूची भएका सुवासले घरको स्थितिबाट स्कुल टेक्न नपाए पनि घरमै कखरा चिनेको बिएल नेपाली सेवाको संवादमा उनले भने।

स्कुल जाने उमेरमा पढ्न लेख्न नपाएपछि १४ वर्षको कलिलो उमेरमै काम गर्न भन्दै सिक्किम गए। पुग नपुग १ वर्ष सिक्किममा बिताएका उनले आफ्नो मिल्ने साथी नरसिंहको लहलहैमा लागेर काठमाडौं आए।

काठमाडौं आउने बित्तिकै उनले जोरपाटीकै एउटा गलैचा कारखानामा काम गर्न थाले।

१५ वर्षको कलिलो उमेरमै सुबासले त्यहाँ धेरै काम सिके। तर सोचेजस्तो कमाइ भएन। खान र बस्न मात्र पुग्थ्यो। साहुले समयमै तलब नदिँदा उनलाई खान लाउनको समस्या हुन थालेपछि तीन वर्ष काम गरेर गलैचा कारखाना छोडिदिए।

त्यसपछि उनी नारायणटारको अर्को कारखानामा गएर ऊन बाट्ने काम गर्न थाले। त्यतिखेर १ किलो ऊन बाटेको २० रूपैयाँ पाउने गर्थे। साढे २ वर्षसम्म यही कमाइले बढेको महङ्गी धान्न सकेन।

त्यसपछि गलैचा काट्ने काम गर्न थाले। तर यो कमाईबाट पनि खान र बस्न मात्र पुगेपछि १ वर्षमै काम छोडिदिए।

जति काम गरे पनि कमाई नभएपछि उनी पुनः सिक्कीम गए।

२३ वर्षको उमेरमा सिक्किम पुगेका उनले त्यहाँ अदुवा रोप्ने र अलैची टिप्ने काम पाए। दैनिक १५-२० रूपैयाँ कमाउँदै आएका उनलाई कृषिको काम गर्न दिक्क लाग्यो।

बिहानदेखि रातिसम्म खट्दा पनि कमाई बढ्न सकेन। त्यसपछि तीन वर्षपछि पुनः काठमाडौं फर्कने निर्णय गरे।

२०५६ सालमा राजधानी फर्किएका उनले एक जना साथीको लहलहैमा लागेर धर्मशास्त्र पढ्ने निधो गरे। यसका लागि उनलाई काफ्ले थर गरेका गुरूले सहयोग गरेका थिए।

'गुरूको नाम बिर्सिएँ, थर मात्र याद छ,' उनले बिएल नेपाली सेवासँग भने। ८ वर्षसम्म धर्मशास्त्र पढेका उनले ३ वर्ष ३ महिना ३ हप्ता र ३ दिन माछा मासु र नुनसमेत नखाई ध्यानपूर्वक पढे। उक्त शास्त्रमा रामायण, कृष्ण चरित्र, सुख सागर, विष्णु प्राण, बुद्द जीवनीलगायत १८ शास्त्र पढे।

२०६४ अर्थात् आफू २९ वर्ष पुगिसक्दा मात्रै उनले धर्मशास्त्रहरू पढेर सकाए। तर, धर्म शास्त्र पढेर पनि उनलाई केही पाए जस्तो लागेन। ८ वर्ष पढ्दा पनि मैले धर्मशास्त्रबाट केही पाए जस्तो लागेन अनि मैले पढेका ती धर्मशास्त्रका किताबहरू च्यातेर फालिदिए’, उनले भने, ‘धर्म पढेर पनि केही सिप नलागेपछि रिस उठ्यो। त्यसै कारण किताब च्यातेर हुर्‍याइदिए।’

उनलाई धर्म शास्त्रको पढाईले आफ्नो समय बर्बाद भएको महसुस भयो। ‘मैले समय मात्रै बर्बाद पारेँ,' उनले विगत सुनाए।

धर्मशास्त्रले खान लाउन नदिएपछि ज्यान पाल्नका लागि फेरि काम गर्ने निर्णय गरे। नभन्दै उनले वागमति नदीको बालुवा निकाल्ने काम पाए। आफू मात्रै नभई २/३ जनाको समूह बनाएर उनले काम गर्न थाले। यो काम गर्दा उनलाई दैनिक भागमै २ देखि ५ हजारसम्म पर्न थाल्यो। तर, बालुवा निकाल्ने काम दिनहुँ हुदैन् थियो।

‘पुलिसले बालुवा चोर्‍यो भनेर जेलसमेत लैजाने गर्थ्यो। मेरो साथीहरू धेरै जेल गए। तर म भने जानु परेन,’ उनले भने, ‘पुलिससँग डर लागे पनि बालुवा निकाल्न छोडिनँ।’

यो कामबाट केही सन्तुष्ट भएका उनले पैसा पनि कमाउन थाले। तीन वर्षमा ८ लाख कमाएका उनले एक टुक्रा जग्गासमेत किने।

मिहेनत गर्नमा पछि नपर्ने उनले ज्यामी काममा समेत हात हाले। बिहानदेखि बेलुकासम्म काममा खट्ने गर्थे। काममा रम्दै आएका उनी ४ वर्षपछि फेरि काम छोडे। यसपाली आफ्नै शरीरले धोका दियो। ‘चिसो मौसममा पनि चिसो नभनी-नभनी काममा खटिएँ। त्यसकै फल स्वरूपमा खुट्टा सुन्निने समस्या भयो,’ उनले भने, 'निको हुनका लागि वर्ष दिनै बित्यो। अनि काम त्यतिकै गइहाल्यो नि!’

आफू जस्तोसुकै अवस्थामा बिरामी भए पनि उनलाई गाउँ फर्कन मन लागेन। 'गाउँमा बुबा आमा बितिसक्नु भएको छ। दाजु भाइहरू सबै आ-आफ्नो व्यवहार गरेर बसेका छन्। किन जानु र गाउँ?,' उनले भने।

२०६८ सालदेखि उनले भारी बोक्ने काम गर्न थाले। उनलाई आफू कहिल्यै पनि बिहे गर्नुपर्छ भन्ने विचारै नआएको बताए। 'दुःखजिलो गर्दा गर्दै मेरो विवाह गर्ने उमेर कटिसकेको थियो। विवाह गर्नुपर्छ भन्ने सोचै आएन। केही प्रेमिकाहरू पनि थिए तर विवाहका लागि सोचै आएन’, उनले भने।

बजारमा गएर भारी बोके वापत उनी दैनिक ४-५ सय रूपैयाँ कमाउँदै आएका छन्। ‘धेरै ठूलो तौल भएको समान त बोक्न सक्दिनँ। खुट्टा दुखिहाल्छ। ४० किलोसम्मको भारी बोक्न सक्छु,’ उनले भने’, यसवापत दैनिक ४-५ सय कमाई हुन्छ।’

बिहानको ७ बजेबाट घरबाट निस्किएका उनी बेलुकाको ८ बजे मात्रै फर्किने गरेका छन्। 'विहानको खाना पकाएरै खाने गरेको छु। बेलुकाको खाना खाने गरेको छैन। थाकेर आएको हुन्छु। पकाउन पनि त जागर चल्दैन् नि,’ उनले भने, ‘उमेरमै विवाह गरेको भए राम्रोसँग त चल्थ्यो होला मेरो जीवन? मान्छेले विवाह गर्नुपर्ने रहेछ’, ४६ वर्ष पुगिसकेका सुवासलाई अहिले भने विवाह नगरेकोमा पश्चाताप लागिरहेको छ।

प्रकाशित मिति: May 23, 2020 09:39:51

प्रतिक्रिया दिनुहोस

सबै