गोर्खालीका कारण यसरी स्थापना भएको थियो भारतीय सेना 

गोर्खालीका कारण यसरी स्थापना भएको थियो भारतीय सेना 

नेपाल र भारतबीच कालापानी सीमाको विवाद चुलिएको बेला भारतीय आमसञ्चार माध्यममा नेपाल–भारतको युद्धको परिकल्पना गरेर सैन्य शक्तिको तुलनासमेत हुन थालेको छ। तर, भारतीय सञ्चार माध्यमले आफ्नो देशले हालसम्म लडेको युद्ध गोर्खाली सेना बिना अपुरो भएको तथ्यलाई भने बिर्सिएका छन्। वास्तवमा भारतमा सेनाको प्रार्दूभाव नै सुगौली सन्धीपछि सुरु भएको देखिन्छ। भारतको सैन्य शक्ति अहिले पनि गोर्खाली बिना अधुरो र अपुरो छ। 

नेपाल–अंग्रेज युद्ध (१८१४–१५) मा युद्ध बन्दी बनाइएका गोर्खालीबाटै ब्रिटिश–भारतले भारतीय सेनाको जग बसाएको थियो। नेपाल–अंग्रेज युद्धताका गोर्खालीहरूको वीरता र प्रभावकारी रणकौशल देखेपछि ब्रिटिशले आफ्नो सेनाअन्तर्गत गोर्खालीलाई समावेश गर्ने सोच बनाएका हुन्।  

त्यतिबेला जनरल अक्टरलोनी र पश्चिमी क्षेत्रका नेपाली सेनाअध्यक्ष अमरसिंह थापाबीच पश्चिमी क्षेत्रमा भएको १५ मे १८१५ को सम्झौतामा नेपाली जवानलाई तत्कालीन हिन्दूस्तानी सेनामा भर्ती गर्न सकिने शर्तसमेत समाविष्ट गरिएको थियो। 

अक्टरलोनीले युद्ध पूर्णरूपमा समाप्त हुनु अगावै पश्चिमी क्षेत्रमा सन् १८१५ मा करिब ४ हजार ६ सय ५० भगौडा नेपाली जवानबाट तीन बटालियन– प्रथम, द्धितीय नर्सरी बटालियन र सिरमौर बटालियन खडा गरेका थिए। यसका अतिरिक्त चौथो बटालियन कुमाउँ बटालियन पनि खडा गरे। यसरी ब्रिटिश–भारतमा गोर्खा भर्तीको शुभारम्भ भएको हो।

भारतस्थित अंग्रेजी सेनामा रहेका नेपाली जवानहरू करिब ३० वर्ष डाँकाहरूविरूद्ध प्रयोग भए। सन् १८१७ को पिँडारी युद्ध, सन् १८१७–१८ को मरहठ्टा युद्ध र सन् १८२५–२६ मा भरतपुरको घेराबन्दीमा पहिलो पल्ट नेपाली जवानलाई प्रयोग गरियो। 

गोर्खा बटालियनका जवानहरूको अधिकतम् प्रयोग सन् १८४५–४६ को प्रथम अंग्रेज–शिख युद्धमा गरियो। यो युद्धमा नेपाल सरकारको सहानुभूति शिखतर्फ थियो। तरपनि गोर्खाली सेनाले अंग्रेजको पक्षमा बफादारीपूर्वक लडेपछि उनीहरू निकै प्रभावित भएका थिए। 

शुरुमा नेपाल सरकार गोर्खा भर्तीप्रति उत्साही थिएन। जंगबहादुर राणाको उदयपछि खासगरी उनको नेतृत्त्वमा नेपाल सरकारको फौज ‘सिपाही विद्रोह’ दबाउन लखनउ पुगेको थियो। यो बिद्रोहमा गोर्खाली सेनाको विरता देखेपछि अंग्रेजहरू एसियालीविरूद्ध एसियाली उपयोग गर्न सकिने निर्णयमा पुगेका थिए। त्यसैले उनीहरूले गोर्खा बटालियन कायमै राख्ने र गोर्खा भर्ती विस्तार गर्ने निर्णयमा पुगे।  

सन् १९१४ भन्दाअघि गोर्खाली जवान बजरिस्तान, असम, चीन र अन्य केही क्षेत्रमा सानोतिनो मूठभेडमा मात्र संलग्न भए। तर, सन् १९१४ देखि शुरु भएको पहिलो विश्वयुद्धमा गोर्खालीहरू विश्वका प्रमुख युद्ध मोर्चामा लड्न पुगे। 

प्रधानमन्त्री चन्द्रशमशेरले विशेष महत्त्वका साथ त्यतिबेला गोर्खा भर्तीलाई प्रोत्साहित गरेका थिए। पहिलो विश्वयुद्धको दौरान, भारतीय सैनिक सेवामा प्रवेश गरेका ५ लाख १ हजार थप जवानमध्ये ५५ हजारभन्दा बढी नेपाली नागरिक थिए। 

यसका अतिरिक्त नेपाली जवानहरू प्रचुर मात्रामा बर्मा तथा असम मिलेट्री पुलिस बटालियन, आर्मी वेटर कर्पस्, लेबोर कर्पस् तथा यस्तै विभिन्न संघ–संगठनमा भर्ती भए। 

चन्द्रशमशेरको सहयोगबाट अंग्रेजले थप २० युद्धकालीन बटालियन निर्माण गर्न सम्भव भएको थियो। करिब दुई लाख नेपाली नागरिक भारतस्थित गोर्खा बटालियन र अन्य यस्तै प्रकारको सैनिक संगठनमा सन् १९१४ सम्म समावेश भएका थिए। 

द्धितीय विश्वयुद्धताका प्रधानमन्त्री जुद्धशमशेरले झन् बढी सहयोग अंग्रेजलाई गरे। सन् १९३९–४५ मा २० स्थायी गोर्खा बटालियन बढेर युद्धकालीन अवस्थामा ३० बटालियनमा पुग्यो। 

दोस्रो विश्वयुद्धमा १ लाख १० हजार रिक्रुटको भर्ती गरिएको थियो। गोर्खा बटालियनका अतिरिक्त अन्य भारतीय सैनिक इकाईमा समेत गरी २ लाख बढी नेपाली जवान उत्तर अफ्रिकादेखि एसिया हुँदै युरोपका रणक्षेत्रमा लडेका थिए। 

गोर्खा बटालियनलाई चाहिने नेपाली रिक्रुटका अतिरिक्त जुद्धशमशेरले भारतको सुरक्षाको निमित्त नेपाल सरकारको सेनाको सहायता र युद्धकोषमा प्रशस्त जिन्सी र नगद सहयोगसमेत प्रदान गरेका थिए। १० वटा भिक्टोरिया क्रस तथा अन्य तक्मा समेत गोर्खाली वीरहरूले प्राप्त गरेका थिए। 

दुई विश्वयुद्धमा गोर्खालीले प्रदर्शन गरेको युद्ध कुशलता र बलिदानबाट गोर्खाली बहादुरमध्ये पनि सर्वश्रेष्ठ बहादुर (ब्रेभेष्ट एमोङ ब्रेभ) कहलिए। तर युद्ध समाप्तिपछि धेरै गोर्खालीलाई खाली खुट्टा फर्काइयो। युद्धमा घाइतेमध्ये हजारौं अपाङ भई देश फर्केका थिए। 

युद्धकालमा गोर्खा भर्ती संख्या असमान्यरूपमा वृद्धि गरिए पनि ब्रिटिश–भारतमा सामान्यता निम्न १० रेजिमेन्ट र २ बटालियन गोर्खा सैन्य कायम राखिएको थियो। ‘फस्ट किङ जर्ज फिफ्थ अन गुर्खा राइफल्स्’ (द मलाउ रेजिमेन्ट) र ‘सेकेन्ड किङ एडवार्ड सेवेन्थ अन गुर्खा राइफल्स (द सिरमोर राइफल्स) सन् १८१५ मा स्थापना भएको थियो। 

यसैगरी १८१५ मा ‘थर्ड क्वीन एलेक्जेन्डर्स अन गुर्खा राइफल्स’, १८१७ मा ‘सिक्स्थ गुर्खा राइफल्स’ र ‘नाइन्थ गोर्खा राइफल्स’ तथा १८२४ मा ‘एट्थ गुर्खा राइफल्स’ को स्थापना भएको थियो।

‘फोर्थ प्रिन्स अफ वेल्स अन गुर्खा राइफल्स’ १८५७ र ‘टेन्थ गुर्खा राइफल्स’ को स्थापना १८९० मा स्थापना भयो। 

सन् १९४७ मा भारत स्वतन्त्र हुने भएपछि तत्त्कालीन गोर्खा रेजिमेन्ट्सलाई अधिनस्थ भारत र बेलायतका बीच भागबण्डा गर्ने निश्चित भयो। जसअनुसार १० मध्ये ४ रेजिमेन्ट बेलायतले लग्यो भने प्रथम, तेस्रो, चौथो, पाँचौ, आठौं र नवौं भारतमा रह्यो। दुर्भाग्य ब्रिटिश–भारतमा रहेका गोर्खालीहरू भागबण्डाको वस्तुसरह विभाजित भए। 

१.राजा महेन्द्रले कालापानीबारे चीनसँग २०१८ सालमै पाँच बुँदे सम्झौता गरेका थिए : राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदी (भिडियाे) 
२. कांग्रेस नेता रिजालसँग पूर्वप्रधानमन्त्रीहरूसहित सबै नेताले सिक्नुपर्ने पाठ
३. राजा महेन्द्रका दुई गल्ती– कालापानी मिचाइ बेवास्ता र हतियार भारतसँग सल्लाह गरेर मात्र झिकाउने प्रतिबद्धता : हिमालय समशेर राणा (भिडियो)
प्रकाशित मिति: May 22, 2020 17:38:43

प्रतिक्रिया दिनुहोस

सबै