कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावलको बिठ्याइँ !

केही दिन अघि कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको राजकीय भ्रमण जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो। त्यो सावारीमाथि आधारित भई उनको हेलिकप्टर चढेर खर्च गर्ने प्रवृत्तिमाथि टिप्पणी गरेको थिए।

लेख प्रकाशित भएपछि थुप्रै प्रतिक्रिया आए। कतिले गाली गरे। कतिले गुन माने। प्रदेशका एक सांसदले फोन गरेर भने, तिमीले एकदम सह विषय उठायौं। यो आवश्यक छ। प्रतिपक्षको भूमिका निभायौ। यसलाई मुख्यमन्त्रीले सकारात्मक रुपमा लिनुपर्छ र आफूलाई सच्याउने कोशिस गर्नुपर्छ। मेरो कमजोरी केही भेट्यौ भने पनि लेख। म सकारात्मक रुपमा ग्रहण गर्नेछु।’

ती सांसदले अंगालेको राजनीतिक दर्शनसँग मेरो कुनै साइनो छैन। तर उनीप्रतिको सम्मानभाव एकाएक बढेर आयो। यहिँनेर प्रजातन्त्रको सबैभन्दा सुन्दर परिभाषा दिने भोल्टायरको याद आउँछ। उनी भन्छन्, म तिम्रो विचारसँग असहमत हुनसक्छु तर तिम्रो विचार राख्ने स्वतन्त्रताको निम्ति म मेरो ज्यान दिन तयार छु।’

मुख्यमन्त्रीको लावालस्करमा सवार अर्का माननीय थिए कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल। उनी मुख्यमन्त्रीको टोलीका सदस्य मात्र थिए। हेलिकप्टर चड्दा दसौं लाख खर्चको साझेदार भए पनि मुख्यमन्त्री सवारीका सहायक भएकाले उनलाई हिस्सेदार बनाइएन।

तर उनले त्यो दिन मुख्यमन्त्रीको भन्दा ठूलो बिठ्याँई (बदमासी) गरेका छन्। तसर्थ यो लेख मन्त्री रावलको बिठ्याँईमाथि केन्द्रीत छ।

हामी आफूले अंगालेको सिद्धान्तका न्यूनतम मूल्य मान्यतालाई पनि आत्मसाथ गर्न सक्दैनौं। जस्तो कि म कम्युनिष्ट हो भने आफूमा आलोचना र आत्मआलोचनाको संस्कार विकास गर्नुपर्छ। आलोचनात्मक चिन्तन राख्न सक्नुपर्छ। तर आलोचनात्मक चिन्तन कुन चराको नाम जस्तो छ। यस्तो चिन्तन राख्ने कोही माइकललाल सत्तामा जन्मिएकै छैन जस्तो लाग्छ। त्यसैले आलोचना गर्नु भनेको शत्रु कमाउनु हो। यो शत्रु कमाउने मामलामा म अगाडि नै छु। यसले मलाई खासै असर पर्दैन।

हुन त आलोचना गरेको एक रत्ति नसहने प्रधानमन्त्री छन्। उनका विरूद्ध कसैले चुँ बोल्नै हुन्न मुखभरीको जवाफ दिन तयार हुन्छन्। उनका कार्यकर्ता नामका अन्धभक्तको टोकाई त्यो भन्दा कयौं गुणा खतरनाक हुन्छ। कार्यकर्ताको हनुमानीकरण भएपछि सिद्धान्त भाडमा जाने रहेछ। मन्त्री रावल पनि उनकै कार्यकर्ता हुन्। ‘देश अनुसारका भेस, कपाल अनुसारका केस,’ उसै भनिएको होइन। अर्थात, ‘जस्त गुरू, उस्तै चेला।’ तर उनले जस्तोसुकै प्रतिक्रिया दिए पनि स्वीकार छ।

मन्त्री रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुनै सुझबुझ बिनै गरेको कार्यक्रममा सहभागी भए। कार्यक्रम कोरोना भाइरसको माहामारीको बेला सरकारले बनाएका कुनै पनि मापदण्ड पुरा गरिएको थिएन। सहभागी र अतिथिले कुनै खालको सामाजिक दुरी कायम गरेका थिएनन्।

त्यही कार्यक्रममा मन्त्री रावलले भनेका थिए, पैसाले मात्रा कोराना जितिने रहेनछ, संरचना र उपकरणले मात्र पनि नियन्त्रण नहुँदो रहेछ। कोराना संक्रमण फैलन नदिन त नागरिकमा अनुशासन चाहिँदो रहेछ।’

कोरोना विरूद्धको लडाइँ नै नगरेर जितिसक्यौं जसरी बोल्दा उनले पहिलो वाक्यमा कर्णालीमा कोरोना संक्रमणको एउटा पनि केस नदेखिएकोमा घमण्ड थियो। यसैमा विजय प्राप्तिको उल्लास पनि। हुन त यसमा जुँगा बटार्ने प्रदेशका अन्य मन्त्रीदेखि स्थानीय तहका प्रमुख, उपप्रमुख सबै थिए। रावलको जुँगा बटाराई अलि अर्गेलै थियो। अन्तिम वाक्यमा रैतीलाई दिने आदेश। यसको मौन सन्देश थियो, हामीले जे गरे पनि हुन्छ। तिमीहर खुरक्क भनेको मान। अनुशासित हो।’

हरेक शासकले जनतालाई आफ्नो काबुमा राख्न अनुशासन नामको पाठ पढाउँछन्। खासगरी समाजबाटै जन्मिएको राज्य समाजबाट अलग्गिदै गएपछि नेताहरू जनताबाट अलग्गीदै जान्छन् र जनतालाई रैति मात्र देख्न थाल्छन्। परिवार, निजी स्वामित्व र राज्यको उत्पत्तिमा फ्रेडरिक एंगेल्स लेख्छन्, राज्य समाजमै उत्पत्ति भयो र समाजबाट अलग्गिदै गयो।’ समस्या यहि थियो।

सुरूमा जनता अनुशासित देख्न चाहने मन्त्री रावल आफैंले देखाएको अनुशासनहिनताको शृंखला नै हेरौं। जब उनी हेलिकप्टरमा जुम्ला विमानस्थल उत्रिए तब उनले सुरुमै सरकारको निर्देशनकको ठाडो उल्लंघन गर्दै फोटोसेसन गरे। एयरपोर्टमा उनको स्वागतार्थ पुगेकाहरुले चाकडीको निम्ति फेसबुकको वाल सजाए। तस्बिरहरू यसरी नै बोलिरहेका थिए। मानौं मन्त्री आफैंले फोटोसेसन गरेनन् रे, तर उनी अबुझ् त थिएनन् नी, कुम जोडेर फोटो खिच्नलाई?

प्रतिष्ठानको कोठे भेलाको मञ्चमा उनीहरुको बसाइबारे हामीले शब्दमा उतार्नु भन्दा पनि तस्बिर आफैं बोल्छ भनेर छोडिदिँदा हुन्छ। जब उनी प्रतिष्ठानको कार्यक्रम सकेर केही स्वास्थ्यकर्मीको टोली लिएर हेलिकप्टरमा हुम्ला पुगे त्यहाँ उनले ठूलो बिठ्याँई गरे।

हुम्ला उनको गृह जिल्ला हो। नेताको गृह प्रवेश स्वभावैले तामझामपूर्ण नै हुन्छ। त्यहाँ आफ्ना समर्थक हुन्छन्। भोटर हुन्छन्। उनीहरूसँग कुनै न कुनै ढंगबाट साइनो गाँसिएको हुन्छ। चुनावताका उनीहरुले अनेक तवरबाट भूमिका खेलेका हुन्छन्। जिताउनलाई अनेक तिकडम गरेका हुन्छन्।

कति पैसाको बिटो लिएर बाँड्ने वातावरण मिलाउन लागेका हुन्छन्। कतिले अरुलाई पौसा बाँड्न नदिन मुट्ठी कसेका हुन्छन्। चुनावपछि उनीहरु सबैलाई कुनै न कुनै माध्यमबाट फाइदा चाहिन्छ। त्यसका लागि नेताको चाकडी गर्नुपर्छ। नेता आगमनको मौका छोपेर उनको छायाँकोसम्म भए पनि दर्शन गरेको हुनुपर्छ। यो एक प्रकारले कार्यकर्ता हुनुको कर्तव्य निभाउनु हो भने नेताप्रतिको बफादारीता पनि।

मानौं, मन्त्री रावलले माथिका कुनै कुकर्म गरेनन् रे। तर वर्तमान सत्ताका पार्टीले बफादारीता र योगदानको आधारमा भन्दा पनि पैसा हुने र जित्ने सम्भावित उम्मेदवारलाई चुनावमा उठाउने गरेको आधारमा भन्न सकिन्छ कि उसले राज्यका हरेक संयन्त्रलाई आफू अनुकुल बनाउने गरी आफ्ना मान्छे सेटलमेन्ट गर्छ। विश्वविद्यालय, विद्यालय, आयोग आदिमा पदाधिकारी आफ्ना मान्छे नियुक्त गर्ने र सत्ता आफू अनुकुल बनाउन भरमुग्दर प्रयास गरेको हुन्छ।

यसै पनि शासकहरुले आफ्नो उत्तराधिकारीसम्म आफ्नै परिवारको तयारी गरिरहेका हुन्छन्। हामीले नेहरले आफ्नी छोरी न्दिरा गान्धीलाई लेखेका चिठीहरुमा पनि यस्तो कुरा भेटाउन सक्छौं। उनी आफ्नी छोरीलाई सानैदेखि मानव समाजको विकास, इतिसास, दर्शन, राजनीति भूगोल, विज्ञान आदिको मसिनो ज्ञान दिलाउँछन्। यसलाई अश्वाभाविक मान्न पनि भएन। विश्व राजनीतिमा कम्युनिष्ट हुन वा प्रजातान्त्रिक यस्तै अभ्यासले प्राथमिकता पाएका छन्।

यस्तो देखेका कार्यकर्तामा पनि केही आशा पलाउँछ। त्यसैले उनीहरू आफ्ना नेताको गृह प्रवेश हुँदा लहसिन आइपुग्छन्। यसरी मन्त्री रावल हुम्ला पुग्दा मान्छेहरुको भिडले उनलाई घेरेको थियो। उनले एक घण्टा अघि जुम्लामा कोरोना नियन्त्रणको लागि जनतामा अनुशासन हुन जरूरी छ भनेर प्रवचन दिँदा हुम्लाका जनताले सुनेका थिएनन् सायद, तर उनी आफैंले के बोलेँ भन्ने बिर्से। किन यस्तो अव्यवस्थित पारा? कि त्यस्तो कुनै समस्या छ मन्त्री रावलमा?

उनी हुम्ला पुगेपछि सार्वजनिक भएका तस्बिरहरू आपत्तिजनक छन्। कार्यकर्ताहरूसँग कुम जुधाएका उनका फोटोले त्रास बढाएको छ। तर उनी किन्चत त्रासित मुद्रामा छैनन्। यो सब एक जिम्मेवार व्यक्तित्वबाट असामान्य परिस्थितिमा कल्पनै गर्न सकिन्न। यी सामान्य मान्छेले देखाउने संकेत पक्कै पनि होइनन्। होइन भने एक घण्टा अगाडि बोलेको कुरा व्यवहारमा लागू गरेको खोइ? के यो मन्त्री रावलको बिठ्याँई होइन?

हालसम्म कर्णालीमा एउटा मात्र कना केस पुष्टि भएको छ। यसले मात्र पनि उनीहरुको सेखी झारिदिएको छ। अब कोरोना केस थपिएमा मन्त्री, तथाकथित नेता कहलिएकाहरू र स्थानीय तहका प्रमुख, उपप्रमुहरुकै दोष हुनेछ। उनीहरुले उद्दार गरेर ल्याएका मान्छेहरु क्वारेन्टाइनमा नबसी गाउँ चहार्दै हिँडेका छन्। होम क्वारेन्टाइनको तथाकथित नाटकले मडारिएको कालो वादलको गर्जनपछि पर्ने मेघ अतिवृष्टि पनि हुन सक्छ भन्ने बुझेको खोइ? मन्त्री रावले मंगलबार निकोलेको विज्ञप्तिमा झुट बोल्नु उनको नियत हो कि अस्वस्थता? प्रश्न चिन्ह खडा भएको छ।

कर्णालीको पहिलो कोरोना संक्रमित दैलेख आठबीस नगरपालिका ३५ वर्षीय युवाको आरडिटी जाँच नै नगरी पठाइएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारीले बताउँदा, मन्त्री रावल उक्त तथ्यलाई लुकाउन आरडिटी परीक्षण गरी पठाइएको झुटो दाबी सहितको विज्ञप्ति निकाल्न तिर लागे।

उनको विज्ञप्तिको बुँदा नं. ३ मा भनिएको छ, स्वदेश तथा विदेशका विभिन्न ठाउँबाट यस प्रदेशमा भित्रिने नागरिकहरुको प्रदेश सीमा नाकामै अनिवार्य रुपमा दर्ता, यात्रा इतिहासको अभिलेखीकरण र आरडिटी जाँच गरी सम्बन्धित स्थानीय तहमा पठाउने, स्थानीय तहले अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने, क्वारेन्टाइन अवधि पुरा भएपछि अनिवार्य पिसिआर विधिद्धारा स्वाव परीक्षण गर्ने र परीक्षण रिपोर्ट प्राप्त भएपश्चात संक्रमण नदेखिएका नागरिकलाई तोकिएको समयसम्म अनिवार्य होम क्वारेन्टाइनमा रहने गरी घर पठाउने व्यवस्था मिलाइएको छ।’

तस्बिरदेखि विज्ञप्तिसम्ममा मन्त्री रावलको बिठ्याँई देखिन्छ। समान्य जनतालाई अनुशासनको पाठ सिकाउने मन्त्री आफूले नियम पालना गर्नुपर्छ कि नाई? कि मन्त्री अर्कै ग्रहका मान्छे हुन्, उनले जे गर्दा पनि हुन्छ? वा कोरोना मन्त्रीदेखि चार फिट टाढा भाग्छ? भाग्ने नै भए कुनै बेला सूर्य नअस्ताउने देशको शक्ति आर्जन गरेको बेलायतका प्रधानमन्त्रीलाई कोरोना लाग्यो होला? चेतना होस्। सेखी झरिसकेको छ, धोति नझरोस्!

यो पनि हेर्नुहोस्

कर्णाली प्रदेश : अनुगमन भन्दै हेलिकप्टरमा सयर (भिडियोसहित)

प्रकाशित मिति: : 2020-05-20 08:36:31

प्रतिकृया दिनुहोस्