 
                                            
                                        
                                     
                                कोरोना आगमनसँगै संसारै भरी लोकप्रिय भएको अंग्रेजी भाषाको शब्द हो-लकडाउन। हिजो आज मसिना केटाकेटीदेखि सबैखाले साक्षर/निरक्षर वृद्ध-वृद्धाका मुखबाट सहजै उच्चारण हुने शब्द लकडाउन भएको छ।
शायद विश्वका हरेक भाषा भाषीको मौलिक शब्द पनि बनेको होला लकडाउन। भर्खरै बोली फुट्न थालेका भुराभुरीको कलिला मस्तिष्कमा पनि जिज्ञासाको विषय भएको छ-लकडाउन। विश्वका मानिसले अति छोटो अवधिमा अत्याधिक प्रयोगमा ल्याएको शब्द भएको छ-लकडाउन।
लकडाउन भन्ने बित्तिकै घरमा बस्नु, दोस्रो व्यक्तिसँग दुई गजको दूरी बनाउनु, हातमुख धोएर चोखोनितो हुनु, बिना काममा लखर लखर नहिँड्नुको, शुद्ध र सन्तुलित आहार गर्नु, घरमै सुरक्षित बस्नु र प्रशासनको दिशानिर्देशलाई निष्ठासँग पालन गर्नुको पर्याय बनेको छलकडाउन।
लकडाउनले आज मानव जीवनको परिभाषा नै परिवर्तन गराई दिएको छ। संसारको व्यस्त भीडबाट तटस्थ बसेर आत्मचिन्तन गर्ने अवसर जुरेको छ। मृत्युसँग सँधै डराइरहने हामीमा आफैंतिर लम्किरहेको मृत्युको अदृश्य स्वरूप देखेर पनि हाँस्न सक्ने आँट आएको छ।
परिवारसँग रमाइलो गर्ने मौका मिलेको छ। अध्ययन-अध्यापन, भजन-कीर्तन, कुटो-कोदालो, गोड-मेल, सर- सफाई आदि कार्यक्रममा जाँगर चलेको छ। अनावश्यक भोज-भतेर, सैर-सफर, बिहे-पार्टी, नारा-जुलुस, पूजा-आजा आदिको पनि चेनडाउन भएको छ। वास्तवमा लकडाउनले मानिसका जीवनशैलीलाई नै परिवर्तन गरीदिएको छ । यो लकडाउन र चेनडाउनको महामुकाबला पछिको त्यो दिव्य संसार हेर्न हामी लालायित भएर बसेका छौं। यस महामारीलाई पराजित गरेर बाँचेका हामी मानवले अत्यन्तै हर्षोल्लासका साथ पुन:जन्मोत्सव अवश्य मनाउने छौं आशा कुरेर बसेका छौं।
यो लकडाउनका कतिपय आचार संहिताहरूले कहीँ न कहीँ हाम्रा प्राचीन भारतीय परम्परा, मूल्य र मान्यताहरू को स्मरण पनि गराएको छ। प्राचीन समयदेखि चलिआएका हाम्रा कतिपय रीतिरिवाजहरू लाई रूढीवाद, अन्धविश्वास भन्दै पश्चिमको अन्ध आधुनितालाई हामीले अँगाली अंधानुशरण गरि रहेका थियौं। तर आज आएर यो लकडाउनले हाम्रा पुराना मूल्य र मान्यताहरूको सार्थकता बोध गराइरहेको छ।
आफ्नै अतीत तिर फर्केर हेर्ने चेत खोलिदिएको छ। हामी भित्र रहेको त्यो दिव्यदृष्टि उघारी दिएको छ । एकपल्ट हामीले परम्परागत रुपमा मानी आएका यी पुराना रीति थितिहरू, चाडपर्वहरू, प्राचीन आख्यानहरू, पौराणिक ग्रन्थादिहरू कति सान्दर्भिक र सार्थक थिएछन् अतीतलाई वर्तमानमा जोडेर हेर्ने समय आएको छ। यहाँ हामी अतीतका दुई चारवटा प्रसंगलाई एकपटक छिन्केर यो लकडाउनसँग जोडेर हेरौं-
राजा दशरथका छोरा राजकुमार राम चौध वर्षको लकडाउनमा बसेर मर्यादा पुरुषोत्तम भगवान श्रीराम बनेर अयोध्या फर्केका थिए। जनक दुहिता राजकुमारी सीता रामसँगै लकडाउन सकेर अग्निपरीक्षालाई पराजित गरेपछि पुनः वनदेवीका रुपमा आजीवन वाल्मीकि आश्रममा कठोर लकडाउन गरेर लवकुश जस्ता परम प्रतापी बालक जन्माएकी थिइन । पाण्डवहरूले बाह्रवर्ष वनवास र एकवर्ष गुप्तवासको लकडाउन पुरा गरेर महाभारत युद्व जितेका थिए।
आफ्नै पत्नीद्वारा घरबाट निष्कासित गरिएका विश्वका महामुर्ख पण्डित गुरू आश्रममा कठोर लकडाउन पालन गरेर विश्वका अद्वितीय संस्कृत महाकवि कालिदास बनेका थिए। महाराज शुद्धोधनका छोरा राजकुमार सिद्धार्थ राजमहलको वैभव र पत्नी खुख त्यागी आजीवन वन-उपवनमा लकडाउन गरेर विश्वशान्तिका अग्रदूत महात्मा बुद्ध बनेर निर्वाण प्राप्त गरेका थिए। अहिंसाका शिखर मोहनदास करमचन्द गाँधीले असहयोग आन्दोलनको कठोर लकडाउन (सत्याग्रह) गरेर विश्व विजेता अंग्रेजलाई भारतबाट धपाएका थिए।
भानुभक्त आचार्यले कुमारीचोकको थुनाभित्र लकडाउन गरेर नै नेपाली रामायण रचना गरेका थिए। यस्ता अनन्त उदाहरण हामी पाउँछौं। यसरी नै हाम्रा रीतिरिवाज मध्य अन्त्येष्ठि क्रियामा छोराछोरीलाई तेरहदिने लकडाउन, दाजुभाइलाई दसदिने लकडाउन, छोरीचेलीलाई पाँचदिने लकडाउन, मलामीलाई एकदिने लकडाउन। यसैगरी प्रशूति महिलालाई बाईसदिने लकडाउन, महिलाहरूको मासिक धर्ममा पाँचदिने लकडाउन आदि आदि । यसरी नै उहिले ऋषिमुनीहरुले तपस्या (लकडाउन) गरेर सिद्धि प्राप्त गर्थे भन्ने कुरा हामी शास्त्र पुराणमा पाउँछौं।
हिँजोका दिनमा हाम्रा पुर्खाहरू प्रकृतिका नजिक बसेर प्रकृतिको माया गर्थे। प्रकृतिमा रमाउँथे। प्रकृतिको पूजा गर्थे। प्रकृतिलाई माता भन्थे। दुर्गाका रूपमा, देवीका रूपमा, संसारी माईका रुपमा। प्रकृतिसँग माया र प्रेम साटासाट गर्थे। प्रकृतिको मर्मसँग आफ्ना मर्महरू दाँजेर हेर्थे। प्रकृतिको रहस्य बुझ्ने प्रयास गर्थे। गाउँ गाउँमा बर-पीपल रोप्थे। तुलसी, बाबरी, धुप्पी आदि औषधिका बोट बिरूवाहरू खोजी खोजी रोप्थे । देशान के हो? लागलगन के हो? महामारी के हो? प्रकृतिकै सहयोग लिएर रोग निवारण गर्थे।
सालधूप सल्काउने हो कि, तीतेपाती सुँघाउने हो । झुम्राको धुवाँ लगाउने हो कि, खोर्सानीको धुवाँ । बेसार, खरानी र नुन मिसाएर पानी खुवाउँथे । कुँडिएको दाँत चरीअमिलो चपाएर निको पार्थे। पखाला लाग्दा अम्बाका टुप्पा खुवाउँथे । औलो लाग्यो भने चिरैतो र लेक लाग्यो भने मकैको सातु खुवाउँथे। यसरी प्रकृतिबाट पाएको घरेलु औषधि प्रयोग गरेर बिरामीबाट राहत पाउँथे ।
नदेखिने वस्तुलाई प्रामाणिक नमान्ने मानसिकतालाई पनि कोरोना भाइरसले आज झुठो साबित गरि दिएको छ । जगत नियन्ता (ईश्वर) छैन भन्नेहरूले एकपल्ट सोच्ने अवस्था आएको छ । उदाहरणका रुपमा यो हाम्रो दृश्य शरीरलाई अदृश्य चेतना (आत्मा) ले जसरी नियन्त्रण गरेको छ, उसरी नै यो देखिने विशाल ब्रह्माण्डलाई पक्कै पनि त्यो परमसत्ता स्वरूप परमात्माले नियन्त्रण गरेको छ भन्ने कुरा बुझ्नुपर्छ।
शक्तिमान भनेको परमात्मा हो र प्रकृतिकी दुर्गमशक्ति भनेकी जगत्जननी दुर्गामाता हुन्। प्रकृतिसँग छेडखानी गरेर होइन, प्रकृतिको संरक्षण (पूजाअर्चना) गर्दा नै हामी मानव मात्रको कल्याण हुनेरहेछ कुरा पनि जान्नुपर्छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया