रुकुम घटना ‘नृशंस हत्याकाण्ड’: कांग्रेस

बिएल संवाददाता

काठमाडाै‌ं

 प्रमुख प्रतिपक्षी कांग्रेसले तीनजना युवाको ज्यान जानेगरी शनिबार रुकुम पश्चिमकको चौरहजारी नगरपालिका सोतीमा भएको घटनालाई ‘नृशंस हत्याकाण्ड’को संज्ञा दिएको छ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले एक मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै देशलाई नै स्तब्ध बनाउने घटनाको निष्पक्ष र गहिरो छानबिन गर्न सरकारसँग माग गरेको छ ।  

शनिबार जाजरकोटका नवराज विक आफ्नी प्रमेकी रुकुमकी सुष्मा मल्ललाई विवाहका लागि लिन जाँदा केटी पक्षका गाउँलेले उनीसँगै गएका १८ जनालाई लखटेका थिए।

गाउँलेको आक्रमणपछि भेरी नदिमा तीनजनाको शव फेला परेको छ भने तीनजना अझै हराइरहेका छन्। बाँकी व्यक्तिहर भेरी नदिमा हाम फालेर ज्यान जोगाउन सफल भएको गृहमन्त्री रामबहादुर थापा बादलले संसदलाई जानकारी गराएका छन्।

कांग्रेसले यो घटनाले तीनवटा प्रश्न उब्जाएको पनि बताएको छ । सामाजिक विभेद र बिसंगति, राज्य प्रशासनको भूमिका र निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न भनेर कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । ‘नयाँ संविधानपछिको नेपालमा पनि अझै यस्ता घटना हुनु दुखद छ । कांग्रेसले यसलाई दलित समुदायमाथिको हिंसाको रुपमा लिएको छ । प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीहरुलाई दण्डित गर्न नेपाली कांग्रेस माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै कांग्रेसले लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाहरूको समूह जाँदै गर्दा रोक्ने कार्य प्रशासनले नगरेकोमा पनि प्रश्न उठाएको छ । ‘प्रशासनले रोकेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्दथ्यो । राज्यको उपस्थिति न त्यसबेला देखियो न आक्रमणको घटना हुँदै गर्दा,’ विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासन अनुपस्थिति उपर केन्द्रीय सरकारको धारणा माग गर्दछ ।’
शर्माले घटनाको निष्पक्ष अनुसन्धान र दण्डको प्रश्न उठाएको उल्लेख गरेका छन्। उसले केही निश्चित मानिसले गरेको आक्रमणमा पुरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने तर्फ सचेत हुनुपर्ने उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2020-05-26 17:18:53

प्रतिकृया दिनुहोस्